७ कर्मचारी सम्पर्कविहीन भएको सूचना निकाल्ने गाउँपालिकाका अध्यक्ष भन्छन्– अपहरणमा पर्नुभयो कि भनेर हो !
सारांश
- रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कमा आएका छन्।
- गाउँपालिकाले कर्मचारी सम्पर्कमा नआएपछि उनीहरुलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो।
- अध्यक्षका अनुसार, कर्मचारीहरू गुल्मी पुगेका थिए र अपहरणमा परेको आशंका गरिएको थियो।
काठमाडौँ । बुधबार रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले पालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएको भन्दै विज्ञप्ति नै निकाले ।
उक्त विज्ञप्ति अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यसबारे थप बुझ्न बिहीबार बिहान रातोपाटीले अध्यक्ष बुढा मगरलाई सम्पर्क गर्दा भने, ‘उहाँहरू गुल्मीमा भेटिनुभयो ।’
कर्मचारीहरूसँग सम्पर्क नै नभएपछि अपहरण भएको हो कि भन्ने आशंकासहित आफूले विज्ञप्ति जारी गरेको उनको भनाइ छ । उनले भने, ‘मोबाइल स्विच अफ गरेर बसेपछि मलाई त अत्तोपत्तो केही भएन। त्यही भएर अपहरणमा पर्नुभयो कि, के गर्नुभयो के भयो भनेर मैले सूचना निकालेको हो।’
गाउँपालिका अध्यक्षका अनुसार असार २३ गतेसम्म कार्यालयमै रहेका प्रशासकीय अधिकृतलगायत भुक्तानी सहजताका लागि भन्दै रुकुम पूर्व हिँडेपनि २४ गते बिहानदेखि सम्पर्कविहीन भएका थिए। ‘२४ गते बिहानदेखि एक्कासी सात जनैको मोबाइल अफ भयो’, उनले भने ।
सार्वजनिक विज्ञप्तिपछि सम्पर्कविहीन भएका कर्मचारीहरू गुल्मीमा फेला परेको पुष्टि भएको अध्यक्ष घर्ती मगरको भनाइ छ । ‘आज बिहान ७ः५ बजे प्रमुख प्रशासकीय अधिकृतसँग फोन सम्पर्क भएको हो। उहाँहरूले आज लिवाङ हुँदै थबाङ फर्किने जानकारी गराउनुभएको छ।’
गुल्मी किन गएको भन्नेबारे भने अझै स्पष्ट भइसकेको छैन। ‘उहाँको घर त रोल्पा नै हो। गुल्मी किन जानुभयो भन्ने खुलेको छैन,’ अध्यक्षले जानकारी दिए।
सम्पर्कविहीन भएका भनिएका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसँग पनि रातोपाटीले सम्पर्कको प्रयास गर्दा उनले फोन उठाएनन् । तर, उनको फोन नम्बरमा घण्टी भने जान्छ ।
यसअघि गाउँपालिका अध्यक्षले विज्ञप्तिमा उल्लेख गरेअनुसार प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरसहित सहायक प्रशासन पाँचौँ हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सव–इन्जिनियर निशा आचार्य र चन्द्र प्रकाश ओलीका साथै अन्य कर्मचारी शिव कुमार वली र प्रदीप केसी सम्पर्कविहीन भएका हुन् । रातिको समयमा नेपाल टेलिकमको नेटवर्कमा समस्या हुने भएकाले असार २३ गते राति प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरले कार्यालयको भुक्तानी गर्न ओपीटी कोडको सहजताका लागि रुकुम पूर्वमा गई कामकाज गर्ने निर्णय गरेका थिए ।
तर, त्यहाँ गएका उनीहरूको खोजतलास गर्दासमेत असार २४ गते बिहान ७ बजेदेखि सम्पर्कमा नआएको भन्दै कसैसँग जानकारी भए पालिकामा खबर गरिदिन अध्यक्षले विज्ञप्तिमार्फत अनुरोध गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण