बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न जिल्लाबाट लागु औषधसहित  २० जना पक्राउ

बिहीबार, २६ असार २०८२, १२ : ४०
बिहीबार, २६ असार २०८२

सारांश

  • काठमाडौँ, सुर्खेत, झापा, सुनसरी लगायतका जिल्लाबाट लागु औषधसहित २० जना पक्राउ परेका छन्।
  • काठमाडौँमा लागु औषधसहित ५ जना पक्राउ परे, जसमा नगद १ लाख २५ हजार रुपैयाँ पनि बरामद भयो।
  • सुर्खेत, झापा, मोरङ, नवलपरासी, सुनसरी, कञ्चनपुर र सर्लाहीबाट पनि लागु औषधसहित व्यक्तिहरू पक्राउ परेका छन्।

काठमाडौँ ।  लागु औषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन् । काठमाडौँ, सुर्खेत, झापा, सुनसरी लगायतका जिल्लाबाट लागु औषधसहित २० जना पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका–३२ पाल्पाकोट चोकबाट लागु औषध पोलेन ४० किलोग्राम र नगद १ लाख २५ हजार रुपैयाँसहित ५ जनालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका–४ घर भएका ३८ वर्षीय सुमन चेपाङ, काठमाडौँ महानगरपालिका–३ महाराजगन्ज बस्ने गजुरी गाउँपालिका–४ घर भएका ३६ वर्षीय जिवन प्रजा, धादिङ गजुरी गाउँपालिका–४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ र २० वर्षीय शंकर चेपाङ रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले सुमनको कोठा तलासी गर्दा उक्त लागु औषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित सडकबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही नगरपालिका–९ बस्ने २४ वर्षीय सञ्जयकुमार खड्कालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरोको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता झापाको झापा गाउँपालिका–१ बाट लागु औषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १ सय ग्रामसहित भारत बिहार किसनगंज सिंगीमारी पञ्चायत–५ बस्ने ६० वर्षीय गबरी साहलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीबाट लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १ सय ५० ग्राम सहित कनकाई नगरपालिका–१ दुर्गापुर बस्ने ३० वर्षीय पवन ऋषिदेवलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागु औषध सहित पक्राउ गरेको हो । त्यस्तै मोरङको विराटनगर महानगरपालिका–१६ तीन नम्बर ढाँटबाट  खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई बुधवार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढिगंगा गाउँपालिका–३ बस्ने ३७ वर्षीय बिन्दुराज महत्र र सङ्खुवासभा धर्मदेवी नगरपालिका–३ बस्ने ३३ वर्षीय श्यामबहादुर पौडेल रहेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता नवलपरासी पश्चिमको सुनवल नगरपालिका–३ खैरेनी छटियाघाट पुल नजिकबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ मिलिग्राम सहित सोही नगरपालिका–९ काशीपुर बस्ने २१ वर्षीय सुदिप चौधरीलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरीको देवानगंज गाउँपालिका–२ यादव टोलबाट करिब ५ किलोग्राम गाँजासहित २ जनालाई बुधवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश यादव र सोही गाउँपालिका–७ बस्ने १९ वर्षीय धिरज यादव रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित युकी मोडबाट ट्रामाडोल ९० ट्याब्लेट र डिकोलिक ९० ट्याब्लेटसहित धरान उपमहानगरपालिका–१५ घर भएका १९ वर्षीय मोहित राईलाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागु औषध सहित पक्राउ गरेको हो । 

यसैगरी इटहरी उपमहानगरपालिका–२ बस्ने २२ वर्षीय अनिल मगरलाई ट्रामाडोल २५ ट्याब्लेट, डिकोलिक ३० ट्याब्लेट र मोबाइल १ थानसहित बुधवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उता कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्रामसहित ३ जनालाई बुधवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २६ वर्षीय कृष्ण राना, २७ वर्षीय महेश राना र कैलाली धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने १८

वर्षीया किशोरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.२ प ८२३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै सर्लाहीको मलंगवा नगरपालिका–८ बाट नाइट्राजेपाम १७ ट्याब्लेटसहित २ जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका–८ बस्ने २७ वर्षीय विवेक चौलागाई र २६ वर्षीय लक्ष्मण बम्जन रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा. ६६ प १५७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप