बसाइँसराइ सँगसँगै तराईमा सरेको कुप्रथा, छाउगोठमा अकालमै ज्यान गुमाउँदै महिला
सारांश
- कञ्चनपुरमा छाउगोठमा बसेकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएको छ।
- अछामबाट बसाइँ सरेर आएका समुदायसँगै तराईमा पनि छाउपडी प्रथा फैलिएको छ।
- स्थानीय सरकारले छाउगोठ भत्काउन निर्देशन दिएको छ, र यसको कार्यान्वयनमा कडाई गरिनेछ।
धनगढी । छाउपडी सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी जिल्लाहरू, त्यसमा पनि विशेषगरी अछामको कहालीलाग्दो कुप्रथा हो। त्यही कुप्रथाका कारण धेरै महिला तथा किशोरीहरूको छाउगोठमा ज्यान गइसकेको छ।
त्यही कुप्रथा अझै निर्मूल हुन नसक्दा आज तराईका समथर भूमिमा समेत मानिसको ज्यानै जानेसम्मका घटना भइरहेका छन् । कैलाली र कञ्चनपुरजस्ता जिल्लामा अछामबाट बसाइ सरेर आएका समुदायसँगै यो अन्धविश्वास पनि सरेको छ।
मान्छे बसाइ त सरे नै, उनीहरूको मनमा जकडिएको कुप्रथा पनिसँगै सर्यो। तराईका यी नयाँ छाउगोठहरू महिला तथा किशोरीहरूका लागि यातना गृह र मृत्यु पासो बनिरहेका छन्।
असुरक्षित छाउगोठका बस्दा शनिबार राति मात्रै मृत्युको बाटो अङ्गाल्न बाध्य बनिन्, कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीया कमला दमाई।
महिनावारी भएका बेला उनलाई घरभित्र बस्ने अनुमति थिएन। घरबाट करिब डेढ सय मिटर टाढा, छिमेकीले बनाएको असुरक्षित छाउगोठमा रात बिताउनु उनको बाध्यता थियो।
निहुरिएर छिर्न बाध्य पार्ने एउटा सानो ‘खोर’ थियो, जसको छाना परालले जेनतेन छोपिएको थियो । यही छाउ गोठमा शनिबार राति १० बजेतिर कमलाको शरीरमा विषालु करेत सर्पले डस्यो। सर्पको विष उनको शरीरमा फैलिन थाल्यो। चिच्याएसँगै उद्धारका लागि परिवारका मान्छे र छिमेकी छाउगोठमा पुगे। लगत्तै उनलाई उपचार गर्न भनेर धनगढीस्थित सेती अस्पताल पुर्याइयो। उनलाई त्यहाँ पुर्याउँदा डेढ घण्टा बितिसकेको थियो भने उपचारकै क्रममा उनको निधन भयो।
उनका तीन सन्तान छन् । कमलाको अल्पायुमै निधन भएसँगै तीन सन्तान टुहुरो बनेका छन्। छाउगोठले तीन सन्तानको ममताको छाया सधैँका लागि लगेर गएकोमा उनकी छिमेकी सुनिता दमाई दुःखी छिन्।
छाउगोठमा भएको यो घटनाले एक पटक फेरि सुदूरपश्चिमलाई नै स्तब्ध बनाएको छ। धेरैले घटनाका बारेमा सामाजिक सञ्जालमा चर्चा गरेका छन्। कृष्णपुर नगरपालिका–२ का वडा अध्यक्ष अर्जुन साउँदका अनुसार केही वर्ष अघिसम्म पहाडमा मात्र सुनिने छाउगोठको कथा अब आफ्नै आँगनको तितो यथार्थ बनेको छ।
‘यो अत्यन्तै दुःखद र लज्जास्पद घटना हो,’ उनले भने, ‘अछामबाट बसाइ सरेर आएका दाजुभाइ दिदीबहिनीहरूले आफ्नो संस्कृतिसँगै यो कुप्रथा पनि तराईमा ल्याउनुभयो। मेरो वडामा मात्रै करिब १२० घरधुरीमा यस्ता छाउगोठहरू छन्।
बर्खायाममा सर्प र अन्य विषालु जीवहरूको बिगबिगी हुने तराईको मौसममा यस्ता असुरक्षित गोठमा बस्नु भनेको मृत्युलाई निम्तो दिनुसरह भएको उनी बताउँछन्।
‘कमलाको मृत्युले हामी सबैमाथि एउटा गम्भीर प्रश्न खडा गरेको छ। सुगम भनिने जिल्लामा यस्तो घटना हुनुले हाम्रो चेतनाको स्तर कहाँ छ भनेर देखाउँछ’, साउँदले भने, ‘अब हामी चुप लागेर बस्न सक्दैनौँ। यो घटनालाई गम्भीरतापूर्वक लिएर भोलिदेखि नै जिल्ला प्रशासनसँग समन्वय गरी यी सबै छाउगोठ भत्काउने अभियान सुरु गर्नुपर्छ।’
कमलाको मृत्युले स्थानीय सरकारलाई समेत झकझक्याएको छ। कृष्णपुर नगरपालिकाले छाउगोठ भत्काउन एक महत्त्वपूर्ण निर्णय गरेको छ। नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै नगरभित्रका सम्पूर्ण छाउगोठहरू अनिवार्य रूपमा भत्काउन कडा निर्देशन दिएको हो।
नगर प्रमुख हेमराज ओझाले यो निर्णय कार्यान्वयनमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। ‘हामीले छाउगोठ प्रथाको अन्त्यका लागि निर्णायक कदम चालेका छौँ,’ मेयर ओझाले भने, ‘सूचनाको अवज्ञा गरी छाउगोठ नभत्काउने कुनै पनि व्यक्ति वा परिवारलाई १० हजार रुपैयाँ जरिवाना गरिनेछ र प्रचलित कानुनबमोजिम थप कारबाही अगाडि बढाइनेछ।’
यो घोषणाले पीडित परिवारलाई सान्त्वना दिन नसके पनि भविष्यमा यस्ता घटना दोहोरिन नदिन एउटा ठोस सरकारी प्रयासको सुरुवात भने पक्कै गरेको छ।
घटनास्थलमा पुगेका कृष्णपुर–१ का स्थानीय सुचित्र शाह पनि यो घटनाले आफ्नो वडाको मात्र नभई सम्पूर्ण समाजको शिर निहुरिएको बताउँछन्। उनी छाउगोठको अवस्था देखेर आफैँ त्रसित बने। ‘पक्की र सुरक्षित घर हुँदाहुँदै महिलालाई यस्तो असुरक्षित खोरमा बस्न बाध्य पार्ने कस्तो अज्ञानतामा बाँचिरहेका छौँ हामी ?,’ उनले प्रश्न गरे।
उनले अगाडि भने, ‘घरकै एउटा छुट्टै कोठामा बस्न दिएको भए के बिग्रिन्थ्यो र ? जबसम्म हामीले मान्छेको दिमागमा बसेको यो देउता रिसाउने अन्धविश्वासको गोठ भत्काउँदैनौँ, तबसम्म बाहिरको छाउगोठ भत्काएर मात्र केही हुँदैन।’
शाहका अनुसार यो कुप्रथालाई जरैदेखि उखेल्न सबै राजनीतिक दल, स्थानीय तह, प्रदेश सरकार र सामाजिक संघसंस्थाहरूले एकीकृत अभियान चलाउनु अनिवार्य भइसकेको छ।
आफैँ पनि अछामी समुदायको भएको बताउँदै उनले भने, ‘आफ्नै समुदायलाई औंल्याउँदा मन दुख्छ, तर यथार्थ यही हो। यो प्रथा अछामी समुदायमा बढी देखिन्छ। जबसम्म हामी आफैँ यो विकृतिविरुद्ध एकजुट हुँदैनौं, यस्ता दुःखद घटनाहरू दोहोरिइरहन्छन्।’

केही समयअघि मात्रै कैलालीको मोहन्याल गाउँपालिकामा पनि छाउगोठमा बसेकी एक महिलालाई बाघले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो। कैलालीकै गोदावरी नगरपालिकाको हलौडे क्षेत्रमा अछामी समुदायको बाक्लो बसोबास छ र त्यहाँ पनि छाउगोठहरू यत्रतत्र देखिन्छन्।
यही क्षेत्रमा विवाह गरेर आएकी अनिता कार्की आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘सुरुमा त समाचारमा मात्र देखेको छाउगोठमा आफैँ बस्नुपर्दा सपना जस्तो लागेको थियो। तर, विवाहपछि अर्काको घरको नियम मान्नै पर्ने रहेछ। डरले काँप्दै त्यो अँध्यारो र डरलाग्दो गोठमा रात बिताएका दिनहरू सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ।’
कैलालीमा स्थानीय सरकार र प्रशासनले छाउगोठ भत्काउने अभियान नगरेका होइनन्, तर ती अभियानहरू मौसमी र प्रभावहीन देखिएका छन्। धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ जस्तो सहरी क्षेत्रमा समेत छाउगोठ कायमै छन् र त्यहाँ पनि महिलाले ज्यान गुमाइसकेका छन्। यसले देखाउँछ कि राज्यका निकायहरूले चलाएका अभियानहरू बजेट सक्ने माध्यम बनेका छन्, तर तिनले सामाजिक चेतनाको स्तर उकास्न सकेका छैनन्।
विद्यार्थी प्रगति धामीको विचारमा यो राज्य र समाज दुवैको असफलता हो। ‘विकास भनेको चिल्लो सडक र ठूला भवनहरू मात्र होइन। जबसम्म समाजमा यस्ता कुप्रथाहरू जीवित रहन्छन्, तबसम्म साँचो विकास हुन सक्दैन,’ उनले भनिन्, ‘छाउपडी उन्मूलनका नाममा आएका करोडौँको बजेट कहाँ गयो ? ती कार्यक्रमहरू किन प्रभावकारी भएनन् ? यसको समीक्षा हुनुपर्छ।’
उनले अगाडि भनिन्, बसाइँसराइसँगै छाउगोठ पनि तराईमा सार्ने काम भयो र यही कारणले आज तराईमा यस्ता दुःखद घटनाहरू भइरहेका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण