राजसंस्था पुनर्स्थापनाको आन्दोलन नयाँ ढङ्गले अघि बढ्छ : प्रवक्ता नेपाल
सारांश
- राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिले संयोजकको बहिर्गमनपछि आन्दोलनलाई नयाँ स्वरूप दिने घोषणा गरेको छ।
- समितिले आन्दोलनलाई साझा स्वतन्त्र नागरिक आन्दोलनका रूपमा अघि बढाउने र नयाँ संयोजनकारी भूमिका खोज्ने जनाएको छ।
- समितिले सरकारले शान्तिपूर्ण कार्यक्रममा दमन गर्न सक्ने आरोप लगाउँदै आन्दोलनलाई नयाँ प्रविधि र सिर्जनशीलताका साथ अघि बढाउने बताएको छ।
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित 'संयुक्त जनआन्दोलन परिचालन समिति'ले आफ्ना संयोजक नवराज सुवेदी पूर्ववत् पार्टीको जिम्मेवारीमा फर्कन चाहेपछि आन्दोलनलाई नयाँ स्वरूपमा अघि बढाउने घोषणा गरेको छ। समितिका प्रवक्ता स्वागत नेपालद्वारा आज जारी प्रेस विज्ञप्तिमा सुवेदीको बहिर्गमनपछिको परिस्थितिलाई सम्बोधन गर्दै आन्दोलनलाई 'साझा स्वतन्त्र नागरिक आन्दोलन'का रूपमा विकास गरिने उल्लेख छ।
सुवेदीको निर्णयपछि आन्दोलनले अब स्वतन्त्र संयोजनकारी भूमिकाको खोजी गर्ने जनाएको छ। 'आन्दोलनले साझा स्वतन्त्र नागरिक आन्दोलनको स्वरूप धारण गर्नैपर्छ,' विज्ञप्तिमा भनिएको छ, 'किनकि राजसंस्था पुनर्स्थापना हुँदा राजा चाहनेहरूका लागि मात्र होइन, राजाविरोधी विचार राख्नेहरूका लागि पनि राजालाई सबैका साझा नै बनाउने हो।'
समितिले आन्दोलन नरोकिएको स्पष्ट पार्दै नयाँ चरणको तयारी भइरहेको जानकारी दिएको छ। विभिन्न दल, अभियान र संघसंस्थाहरूसँग संवाद जारी रहेको र चाँडै नै पत्रकार सम्मेलनमार्फत साझा स्वतन्त्र नागरिक आन्दोलनको घोषणा गरिने बताइएको छ। समितिले विकासक्षेत्र, अञ्चल, जिल्ला, पालिका, वडा र टोल तहसम्मका समितिहरूबारे पनि जानकारी दिने योजना बनाएको छ।
विज्ञप्तिमा सरकारमाथि गम्भीर आरोपसमेत लगाइएको छ। सरकारले शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने र विगतमा जस्तै गोली चलाएर आन्दोलनकारीको हत्या गर्ने षडयन्त्र गरिरहेको सूचना प्राप्त भएको समितिले दाबी गरेको छ। यस्तो सम्भावित दमनलाई ध्यानमा राख्दै आन्दोलनलाई 'नयाँ प्रविधि, सिर्जनशील प्रकृति र शान्तिपूर्ण तर छेक्नै नसक्ने' गरी अघि बढाइने उल्लेख छ।
समितिले देशको अस्तित्व रक्षाका लागि राजसंस्था पुनर्स्थापना अपरिहार्य रहेको जिकिर गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण