बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

विदेशी ऋण लिएर आएको भन्दै मेयर साम्पाङले खानेपानीमन्त्री यादवलाई भेटेनन्

मन्त्री भन्छन् ‘यो अनुदान हो, ऋण होइन’
शुक्रबार, ०२ साउन २०८२, २० : ५०
शुक्रबार, ०२ साउन २०८२

सारांश

  • धरानका मेयर हर्क साम्पाङले खानेपानी मन्त्रीसँग भेट्न अस्वीकार गरे, जसले गर्दा कोशीको पानी ल्याउने योजना अनिश्चित बनेको छ।
  • मेयर साम्पाङले विदेशी ऋण लिएर विकास गर्न नचाहेको र अनुदानको सट्टा ऋणमा आधारित आयोजनाको विरोध गरेका छन्।
  • उपप्रमुख आईन्द्र विक्रम बेघाले मेयरको हठका कारण आयोजना खारेज हुने खतरा रहेको बताएका छन्।

सुनसरी ।खानेपानी समस्या समाधानका लागि योजना लिएर शुक्रबार धरान आइपुगेका खानेपानी मन्त्री प्रदीप यादवलाई धरानका प्रमुख हर्क साम्पाङले भेट दिएनन् । 

करिब ६ अर्बको लगानीमा कोशीको पानी ल्याउने आयोजनाबारे शुक्रबार छलफल राखिएको थियो । तर, प्रमुख साम्पाङ सम्पर्कविहीन भए ।धरानका प्रमुख साम्पाङ आफू सहभागी कार्यक्रममा नआएको रिसमा खानेपानी मन्त्री यादवले आक्रोश पोखेका थिए । 

‘धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई नमस्कार गर्दै किस्तीमा पैसा बोकेर खोज्दै आइपुग्दा समेत उहाँले भेट्न इन्कार गर्नुभयो,’ मन्त्री यादवले भने । आफूले पटक पटक फोन र म्यासेज गर्दा पनि प्रमुख साम्पाङले कुनै जवाफ नदिएको बताए ।

सो आयोजनाको भविष्य आगामी भदौ ७ गतेभित्र टुङ्गो लगाइसक्नु पर्ने उनले बताए । ‘साउन २५ देखि भदौ ७ गतेभित्र ठेक्का प्रक्रिया अगाडि बढे मात्र आयोजना सुरु हुन्छ, नत्र यो फर्केर जान सक्छ । छलफल र संवाद भएन भने प्रोजेक्ट कसरी सञ्चालन हुन्छ ?,’ मन्त्री यादवले भने । 

प्रमुख साम्पाङले मन्त्री यादवलाई नभेट्नुको कारण भनेको आयोजनाको लगानीको प्रकृतिबारे हो । मन्त्री यादवले यो आयोजना ऋण नभई अनुदान भएको स्पष्ट पारेका छन् । 

उनका अनुसार ६ अर्बको यो आयोजनामा ८५ प्रतिशत नेपाल सरकारले अनुदान दिने र १५ प्रतिशत मात्र धरान उपमहानगरपालिकाले सह–लगानी गर्नुपर्ने हो, जसमा कुनै ब्याज लाग्दैन ।

तर, प्रमुख हर्क साम्पाङले भने वैदेशिक ऋण लिएर धरानको विकास गर्ने पक्षमा आफू नरहेको अडान राखेका छन् । मन्त्रीसँगको भेटघाट नगरेको विषयमा एक कार्यक्रममा बोल्दै उनले भने, ‘विदेशी ऋण लिएर म धरानको विकास गर्न चाहन्नँ, बरु विकास नै नहोस् । हुन्छ भने आफ्नै बाहुबलको दममा गर्ने हो ।’ उनले खानेपानीजस्तो विषय राष्ट्रिय योजनाअन्तर्गत हुनुपर्ने र ऋण बोकाएर धरानेलाई थप भार दिन नहुने तर्क गरेका छन् । उनले भने, ‘पहिलेकै ५०–६० करोडको ऋण तिरिसकेको छैन, फेरि २ अर्बको ऋण धरानेको टाउकोमा बोकाउन म चाहन्नँ ।’

उनले केन्द्रले धरानलाई हेपेको पनि बताए । ‘धरानका युवा ड्रग्समा फसेका छन्, पार्टीका कार्यकर्ता जे भन्यो त्यही मान्छन्’ भन्ने जस्ता नकारात्मक सोचका कारण केन्द्रले धरानलाई अनुदान दिनुको सट्टा ऋणमा अल्झाउन खोजेको उनको आरोप छ ।

यो विवादमा धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघाले भने प्रमुख साम्पाङको हठले आयोजना खतरामा परेको बताएका छन् । ‘कसैको इगोले प्रोजेक्ट खारेज भए जनता प्रतिकारमा उत्रिनुपर्छ । यो आयोजना कार्यपालिकाबाट पास भएर गएको हो, एकल हठ त्याग्नुपर्छ,’ उनले भने । 

मेयर साम्पाङले नै रित्तो गाग्री बोकेर सिंहदरबारमा गरेको प्रदर्शनपछि सरकारले यो आयोजना अघि बढाएको थियो । तर, असार १७ गते मन्त्रालयले आयोजनाका लागि जग्गाको स्वामित्व माग गर्दै पठाएको पत्रको जवाफमा मेयर साम्पाङले असार १९ गते ऋण नलिने भन्दै पत्र पठाएपछि यो प्रक्रिया अवरुद्ध बनेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप