सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनको माग
सारांश
- संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले सिरियाको स्वेइदामा भएको हिंसात्मक झडपबारे छानबिनको माग गरेका छन्।
- विभिन्न समूहबीचको झडपमा करिब ६ सय मानिसको ज्यान गएको र सर्वसाधारणमाथि गम्भीर असर परेको बताइएको छ।
- इजरायली हवाई आक्रमण र अघिल्लो घटनाहरूमा सर्वसाधारणको मृत्यु भएको रिपोर्ट आएपछि छानबिनको माग गरिएको छ।
जिनेभा। संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले सिरियाको दक्षिणी सहर स्वेइदामा पछिल्ला दिनहरूमा भएको हिंसात्मक झडपपछि गम्भीर चिन्ता व्यक्त गर्दै त्यसबारे स्वतन्त्र, छिटो र पारदर्शी छानबिनको माग गरेका छन् । इस्लामी नेतृत्वको अन्तरिम सरकारले सेना फिर्ता बोलाएपछि स्वेइदाबाट सरकारी फौजहरू हटाइएका थिए । विभिन्न समूहबिचको झडपमा हालसम्म करिब ६ सय मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
झडपमा द्रुज समुदायका लडाकु, सुन्नी बेदुइन जातीय समूह, सरकारी फौज र उनीहरूका समर्थक संलग्न रहेको जनाइएको छ । टुर्कले मानवअधिकार कार्यालयमा प्राप्त विश्वसनीय विवरणहरूका आधारमा गैरन्यायिक हत्या, अपहरण, लुटपाट, निजी सम्पत्ति ध्वस्त पार्ने जस्ता कार्य भएको र यसबाट सर्वसाधारणमाथि गम्भीर असर परेको बताए । १५ जुलाईमा भएको घटनामा एकै परिवारमाथि गोली प्रहार गरी १३ जनाको हत्या गरिएको र सोही दिन दुई अन्य घटनामा ६ पुरुषलाई गोली हानी मारेको पुष्टि भएको उल्लेख छ ।
उनले भने, “राज्यका सुरक्षा संयन्त्रले डर फैलाउने होइन, जनताको सुरक्षा गर्नुपर्छ ।” इजरायली हवाई आक्रमणका कारण स्वेइदा, दारा र दमास्कसजस्ता स्थानहरूमा सर्वसाधारणको मृत्यु भएको रिपोर्ट पनि आएको छ । दमास्कसमा रहेको सैनिक मुख्यालयमाथि भएको आक्रमणबाट नागरिक र सार्वजनिक संरचनालाई समेत ठुलो जोखिममा पारिएको भन्दै टुर्कले यस्ता कारबाहीहरू तत्काल रोक्न आग्रह गरेका छन् । यसअघि मार्च महिनामा सिरियाको समुद्री किनार क्षेत्रमा भएको आक्रमणमा पनि एक हजार ७०० भन्दा बढी अलावी समुदायका नागरिकको मृत्यु भएको थियो, जसको जिम्मेवारी सरकार समर्थक समूहमाथि आएको थियो ।
टुर्कले उक्त घटनाबारे समेत छानबिनको नतिजा सार्वजनिक गर्न आग्रह गर्दै भने,“यसरी निष्पक्ष र गहिरो अनुसन्धानमार्फत विगतका अन्यायहरूको जवाफदेही सुनिश्चित गर्नु आवश्यक छ ।” राष्ट्रपति बशर अल–असदको शासन पतनपछि देशमा लोकतान्त्रिक सङ्क्रमणको आशा पलाएको अवस्थामा नयाँ नेतृत्वले मानवअधिकार, न्याय र समानताको रक्षा गर्दै अघि बढ्नुपर्ने जिम्मेवारी रहेको उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण