१२ बजे १२ समाचार: १ अर्ब खर्चिएर हतियार खरिद गर्दै प्रहरी, देउवामाथि चुनौती बढ्दै
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–
१. हतियार खरिद
करिब ३ वर्षदेखि अड्किएको हतियार खरिद गर्ने प्रक्रिया प्रहरीले फेरि अघि बढाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा प्रस्तुत गरेको बजेटमा ‘प्रहरीका लागि हतियार तथा सुरक्षा उपकरण खरिद गर्न’ भनेर ९२ करोड विनियोजन गरिएको छ ।
२. भिजिट भिसा प्रकरण
‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२’ ले सरोकारवाला निकायका प्रमुख र प्रतिनिधिसँग आवश्यक कागजात माग र छलफल गरिरहेको छ । सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा बनाएको समितिले सम्बन्धित निकायबाट कागजात झिकाउने र छलफल गर्ने काम गरिरहेको हो ।
३. डिम्बको अवैध व्यापार
भारत लगायतका देशमा २१ वर्ष नाघेका महिलाबाट डिम्ब झिक्ने कानुनी व्यवस्था छ । नेपालमा भने कानुनी बाटो नफुकाइ हचुवाको भरमा आईभीएफ सेन्टर सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयकै एक उच्च अधिकारी सुनाउँछन् ।
४. देउवामाथि चुनौती
नेपाली कांग्रेसको विधानअनुसार सभापति शेरबहादुर देउवा १५ औँ महाधिवेशनसँगै पार्टी नेतृत्वबाट बिदा हुनेछन् । कांग्रेस विधानको दफा ५७ मा ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन पाउने छैन’ भनिएको छ । दोस्रो कार्यकाल पार्टीको नेतृत्व गरिरहेका देउवा विधानको सोही व्यवस्था अनुसार देउवा १५ औँ महाधिवेशनबाट सभापति बन्न पाउने छैनन् ।
५. छानबिन समितिको निष्कर्ष
सौर्य एयरको विमान दुर्घटनासम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिनका लागि गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
६. विद्या र नन्दकिशोरको क्रियाशीलताबारे विवाद सिर्जना हुनु गम्भीर ः बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको एमाले र माओवादी केन्द्रमा औपचारिक आबद्धता र क्रियाशीलताले देश र सम्बन्धित पार्टीहरूभित्र बहस र विवाद सिर्जना हुनु गम्भीर विषय भएको बताएका छन् ।
७. उपनिर्वाचन
प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा २०८२ कार्तिक १७ गते उपनिर्वाचन हुने भएपछि दलहरू आवश्यक तयारीमा जुट्न थालेका छन् । यो उपनिर्वाचनलाई पुराना र नयाँ दुवैथरि दलले आफ्नो शक्ति परीक्षणको अवसरका रूपमा लिएका छन् ।
८. एकता घोषणा समारोह
पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम चार वर्षपछि नेकपा एकीकृत समाजवादीमा विलय भएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा भएको एकता सभामा गौतम एकीकृत समाजवादीमा विलय भएका हुन् ।
९. एमाले बैठक
प्रस्तावित विधानका केही प्रावधानलाई लिएर नेकपा एमालेका नेताहरूबिच सामाजिक सञ्जालमा मात्रै होइन, पार्टीका आधिकारिक बैठकमै नोकझोंक र घोचपेच भइरहेको छ । बिहीबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच चलेको सवालजवाफको शृङ्खलाले शुक्रबारको पोलिटब्युरो बैठकमा पनि निरन्तरता पायो ।
१०. अपराध
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालबाट स्पेन जानेहरूको विवरण पठाउन दिल्लीस्थित स्पेनी दूतावासलाई पत्राचार गरेको छ । असार ३१ मा गठित सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले पत्राचार गरेको हो ।
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा ज्योति बहादुर भण्डारी थुनामा छन् । बर्दिया घर भएका ज्योतिलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरेर नेपाल ल्याएको हो ।
११ .सरकारले लिएका लक्ष्य
आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत लिएका लक्ष्यहरू अधिकांश पूरा नभएको देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा सुधार भए पनि सरकारले एक वर्षभित्रै हासिल हुने भनेर लिएका लक्ष्य भने पूरा हुन सकेनन् ।
१२. किन राजेन्द्र लिङ्देनको बर्खास्तीमा परे राप्रपाका उपाध्यक्ष ?
पार्टी हितविपरित गतिविधि गरिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उपाध्यक्ष मुकुन्दश्याम गिरी बर्खास्तीमा परेका छन् । शुक्रबार गिरीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट बर्खास्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण