रुपन्देही–३ का मतदाताले कस्तो उम्मेदवार खोजेका छन् ?
सारांश
- रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन कार्तिक १७ गते हुने भएको छ।
- राप्रपाका दीपक बोहराको निधनपछि रिक्त सिटमा उपनिर्वाचन हुँदैछ, जसमा प्रमुख दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ।
- मतदाताले स्थानीय, इमान्दार र विकासमा जोड दिने उम्मेदवार खोजिरहेका छन्, जसले दलहरूलाई उम्मेदवार छनोट र एजेन्डामा ध्यान दिनुपर्ने बनाउँछ।
रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै यहाँ प्रमुख दलहरूले कस्ता उम्मेदवार खडा गर्लान्, नयाँ तथा साना दल के–कस्तो रणनीतिका साथ आउने हुन् भन्नेमा चासो छ । यस अतिरिक्त स्वतन्त्र उम्मेदवारमा कस्ता अनुहार आउँछन् भन्ने कुराले पनि चुनाव परिणाममा महत्त्व राख्न सक्छ ।
प्रमुख दलहरू आफ्नो उम्मेदवार छान्ने तयारीमा छन् । केही दलले तालमेल गर्ने तयारी पनि देखिएको छ । यद्यपि अझै निकै समय बाँकी रहेकाले अन्तिम अवस्थासम्म पुग्दा के हुन्छ भनेर अहिले नै ठोकुवा गर्न सकिँदैन ।
०७९ को निर्वाचनमा यहाँ राप्रपाले जितेको थियो । राप्रपाका दीपक बोहराको निधनपछि रिक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । राप्रपालाई आफ्नो वर्चश्व कायम राख्नुपर्ने चुनौती छ भने अन्य दल आफ्नो पक्षमा जनतालाई कसरी पार्ने भन्नेमा उपनिर्वाचनको प्रचारप्रसार केन्द्रित हुने देखिन्छ ।
यो उपनिर्वाचनले केही हदसम्म दलहरूको लोकप्रियता पनि मापन गर्नेछ । दलहरूले अघिल्लो चुनावको तुलनामा मत बढाउँछन् कि घटाउँछन् भन्ने विषय पनि चासोपूर्ण हुन्छ । २०८४ मा हुने आमनिर्वाचनका लागि यही उपनिर्वाचनमार्फत पनि दलहरूले आफ्नो अवस्था जाँच्न र बुझ्न सक्छन् ।
रुपन्देही जिल्लाका अन्य निर्वाचन क्षेत्रको तुलनामा क्षेत्र नम्बर ३ मा अलि फरक खालको परिवेश छ । यहाँ सहरियादेखि ग्रामीण भेग छन् । सोही अनुसार मतदाताको फरक आकाङ्क्षा र समस्या हुन्छन् । भैरहवा सहरदेखि अलि पिछडिएको सियारी गाउँसम्म यो निर्वाचन क्षेत्रमा पर्छ ।
जातीय रूपमा पनि यहाँ मधेसी, थारुदेखि क्षेत्री–बाहुन सबै खालका मतदाता छन् । वर्गीय रूपमा यो निर्वाचन क्षेत्रमा उच्च वर्ग र तल्लो वर्ग दुवैको उस्तै समिश्रण छ । विगतमा यहाँ नेपाली कांग्रेस र एमालेका मतदाता नै धेरै रहेको विभिन्न निर्वाचन परिणामले देखाउँछन् । राप्रपाका दीपक बोहरा आफ्नो पार्टीका मतदाताको मतले मात्र विजयी भएका थिएनन्, उनलाई एमालेको समर्थन थियो ।
यो निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेकै मतदाता धेरै छन् भनेर ढुक्क हुने अवस्थाचाहिँ छैन । किनकि, केही प्रतिशत छाडेर बाँकी मतदाता सधैँ चञ्चले हुन्छन् । तिनै चञ्चले मतदाताले जित र हारको नतिजामा प्रभाव पार्ने क्षमता राख्छन् ।
मतदाताले सकेसम्म स्थानीय, चाहेको अवस्थामा भेट्न सहज हुने र इमानदार खालको उम्मेदवार खोज्छन् । यहाँका मतदाताको चाहना पनि लगभग त्यस्तै छ । अन्यत्र भएका विकास र सुशासनका विषयमा मतदाता विभिन्न माध्यमबाट जानकार भइसकेका छन् । उनीहरूले आफ्नो देश र गाउँ–ठाउँमा पनि त्यस्तै खोज्नु स्वाभाविक हो । अहिले सामाजिक सञ्जालमार्फत पनि धेरै कुरा उजागर हुन थालेको छ । त्यसकारण दलहरू उम्मेदवार छनोटमा निकै गम्भीर बन्न जरुरी हुन्छ ।
विगतमा समाजवाद र पुँजीवादजस्ता नारा हेरेर मत दिने मतदाताको रुचि अहिले फेरिएको देखिन्छ । विगतमा एकले अर्काे दललाई गाली गरेर, चर्काे भाषण गरेर केही मत पाउने गरे पनि त्यो अवस्था अहिले छैन । अब अर्काको कमजोरी देखाएरमात्र कुनै दल वा उम्मेदवारले जनताले पत्याइहाल्ने अवस्था छैन ।
विकासको योजना के–कस्ता छन्, तिनलाई कार्यान्वयन गर्ने आधार के छ भन्नेजस्ता कुरामा मतदाताले ध्यान दिन थालिसकेका छन् । तसर्थ दलहरूले नयाँ ढङ्गबाट नारा र एजेण्डा चयन गर्नुपर्ने आवश्यकता छ । घोषणापत्र निर्माण गर्दा पनि विगतको भन्दा शैली परिवर्तन गर्नुपर्ने खाँचो देखिन्छ । प्रचारको शैली पनि फरक चाहिन्छ । पोस्टर, भित्ते लेखनजस्ता प्रचारात्मक गतिविधि विगतमा हुन्थे तर अहिले डिजिटल प्रचार आवश्यक छ ।
रुपन्देही–३ मा कुनै पनि उम्मेदवारले लगातार जितेको अवस्था विगतमा देखिँदैन । कुनै निर्वाचनमा एउटाले जितेको हुन्छ त कुनैमा अर्को उम्मेदवारले जितेको हुन्छ । यसले पनि यहाँका मतदाता परिवर्तनशील छन् भन्ने बुझिन्छ । यहाँ निश्चित वर्ग, जात वा अन्य आधारमा मत आउँछ भन्ने छैन ।
अहिले वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपाको चर्चा हुने गरेको छ । उक्त पार्टीका लागि रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन आफूलाई परीक्षण गर्ने उपयुक्त माध्यम हुन सक्छ । रास्वपाले विगतमा जितेका अधिकांश ठाउँ सहरिया छन् । तर रुपन्देही–३ मा गाउँ र सहरको मिश्रण छ । त्यसैले यहाँ दुवै परिवेशमा उत्तिकै प्रभाव जमाउन सक्ने दल र उम्मेदवारले नै जनताको विश्वास जित्न सक्छ ।
यहाँ विकास निर्माणका आधारभूत काम भइसकेका छन् । सडक, विद्युत्, खानेपानी जस्ता क्षेत्रमा यहाँ खासै केही गरिरहनु पर्ने देखिँदैन । यहाँ उत्पादन, बजारीकरण, मानव संसाधनको सदुपयोग, प्रविधिमैत्री कार्य, सुशासनजस्ता फरक खाले एजेन्डा दलहरूले ल्याउनुपर्छ । उपनिर्वाचनमा उम्मेदवारले राष्ट्रिय एजेन्डासँगै स्थानीय तहका लागि आवश्यक एजेन्डा पनि तथ्य र तथ्याङ्कमा टेकेर ल्याउनुपर्छ । किनकि अहिले हात–हातमा मोबाइलबाट धेरै सूचना प्राप्त गर्न सकिन्छ । एआई प्रयोग गर्न सक्ने मतदाता भएको ठाउँमा तथ्याङ्कमा आधारित घोषणापत्र चाहिन्छ ।
यहाँ कृषि उत्पादनको बजारीकरण, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका उपाय, यस क्षेत्रका बासिन्दाको स्वास्थ्य अवस्था र अब दिने उपचार सुविधाको तथ्याङ्कसहित घोषणापत्र बनाउँदा जनताले विश्वास गर्न सक्लान् । यो क्षेत्रका केही भागमा किसान छन् । उनीहरूका लागि मलखाद सहज पाउने व्यवस्था, युवाका लागि रोजगारी तथा उद्योगी–व्यापारीका नीतिगत समस्यालाई ध्यान दिँदै स्थानीयको जीवनमा प्रभाव छाड्न सक्ने एजेण्डासहितको उम्मेदवार यहाँ चाहिन्छ । संघीय सांसदले राष्ट्रिय रूपमा आफ्नो मुलुकको आर्थिक एवं अन्य अवस्थामा दृष्टिकोण दिन सक्ने हुनुपर्छ । नीति निर्माणमा पनि हस्क्षेपकारी भूमिका निर्वाह गर्न सक्ने क्षमता हुनुपर्छ ।
दलहरूले उम्मेदवार छनोट गर्दा स्थानीयले पत्याउने खालको एजेन्डा, घोषणापत्र जस्ता विषयमा ध्यान दिनुपर्ने हुन्छ । मतदाताले परिचित उम्मेदवार हुँदा त्यसको राम्रो र नराम्रो दुवै पक्ष केलाएर छनोट गर्न सक्ने अवसर रहन्छ भने पुराना पार्टीका गतिविधि स्पष्टसँग हेरेका मतदाताले नयाँ दलको उम्मेदवारलाई किन पत्याउने भन्ने आधार पनि स्पष्ट दिनुपर्ने हुन्छ ।
मतदाता हतार र हचुवाको भरमा मत दिएर बाँकी समय पछुताएर बस्ने मनस्थितिमा अब छैनन् । अर्काेतिर नयाँ दलका उम्मेदवार परिवर्तनशील हुन सक्ने भएकाले मतदाताले उम्मेदवारको प्रतिबद्धता पनि हेरिरहेका हुन्छन् । आज एउटा पार्टीबाट उम्मेदवार बन्ने, अर्काे निर्वाचनमा अर्काे पार्टीबाट टिकट लिएर आउन सक्ने उम्मेदवारप्रति मतदाता सचेत देखिन्छन् । उम्मेदवार छनोट, नारा, घोषणापत्रको शैलीमा दलहरूले विशेष ध्यान दिनुपर्छ ।
मतदाताहरू विभिन्न विषयमा हचुवाको भरमा प्रतिबद्धताभन्दा पनि दिगो रूपमा आफ्नो निर्वाचन क्षेत्रमा खट्ने, इमानदार, अहिले राजनीतिक क्षेत्र तथा समाजमा देखिएका अनेक खालका विकृति हटाउन सक्ने क्षमता भएको उम्मेदवार खोजिरहेका छन् । जुन दलले यस्तो विशेषता भएको उम्मेदवार चयन गर्न सक्छ, उसका लागि रुपन्देही–३ को उपनिर्वाचन तुलनात्मक रूपमा सहज हुने देखिन्छ ।
(खनाल बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । उनीसँग रातोपाटीका लागि तेजेन्द्र केसीले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण