शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उमेश अकिञ्चनको ‘सायद किनाराहरू’ सार्वजनिक

शनिबार, ०३ साउन २०८२, २० : ०७
शनिबार, ०३ साउन २०८२

सारांश

  • कवि उमेश अकिञ्चनको तेस्रो कृति ‘सायद किनाराहरू’ काठमाडौंमा लोकार्पण गरियो।
  • कार्यक्रममा रक्षामन्त्री मानवीर राई, श्रवण मुकारुङ र विमला तुम्खेवाले कृतिमाथि धारणा राखे।
  • कवि अकिञ्चनको कवितामा समसामयिक विषयवस्तु र नयाँ विम्बहरूको प्रयोग गरिएको थियो।

काठमाडौँ । कवि उमेश अकिञ्चनको तेस्रो कृति ‘सायद किनाराहरू’को शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ ।

रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कविहरू श्रवण मुकारुङ र विमला तुम्खेवाले कृतिमाथि आफ्नो धारणा राखेका थिए । कृति रक्षामन्त्री मानवीर राई, श्रवण मुकारुङ, विमला तुम्खेवा रमेश क्षिजित,  समीक्षक राजकुमार बानियाँ र अभिनेता जीवन लुईंटेलले कवितासंग्रह विमोचन गरेका थिए । 

कार्यक्रममा विमला तुम्खेवाले कविको व्यक्तित्वमाथी प्रकाश पार्दै कृतिमा अन्तर हृदयबाट लेखिएका कविताहरू समाविष्ट भएको बताइन् । कविताहरू अत्यन्तै शालीन ढंगले लेखिएको र तिनले समयसँग संवाद गरेको उनको भनाइ थियो । कविले कृतिमा आफ्नो समयको विश्व परिवेश लेखेको उनले बताइन् । सुन्दर कविता लेख्नु साच्चै गाह्रो काम भएको तर अन्तस्करणबाट लेख्न सक्नुलाई उनले कविको सफलता भनिन् । 

कवि अकिञ्चनका कवितामा काव्यिक अनुभूति सघन भएर आएको कार्यक्रमका अर्का वत्ता श्रवण मुकारुङले भने । ‘कविता कुनै धारणाभित्र मात्रै सिमित रहँदैन, किनकि कविता आविष्कार हो । अकिञ्चनले कवितामा नौलो विम्बहरू, भाव र संसारको आविष्कार गरेका छन् ।’ मुकारुङले भने । कविले आफ्ना कवितामा निजी लय निर्माण गरेको अनि लय समात्न नसक्ने पाठकले यसलाई नबुझ्न पनि सक्ने उनले बताए । तुम्खेवाले अकिञ्चनका कवितालाई कोमल भने पनि मुकारुङले ती त्यत्ती कोमल कविता लागेनन् । ‘खस्रै’ पाए । तर ‘सायद किनाराहरू’का कविताहरू दोषरहित भएको अनि कृतिभित्र हृदयलाई सधैं मग्न बनाउने खालका कविता भएको उनले बताए । 

कविता र कविले समाज रूपान्तरणमा गम्भीर भूमिका खेल्ने मन्त्री मानवीर राईले बताए  । देशलाई सहि दिशामा ल्याउन कवि–साहित्यकारको इतिहासदेखि नै योगदान रहेको र  कवि र कविताले नै समाजलाई सही दिशा प्रदान गर्न र सहयोग गर्न सक्ने धारणा उनले राखे । राजनीतिमा नलागेको भए आफू कवि नभएपनि लोकदोहोरी गायक बन्थे कि भनेर उनले सुनाए । । ‘कविहरू आफू मात्रै नभइ समाजलाई नै सचेत गराउँछु भनेर क्रान्तिकारी सोच लिएर हिँडेका हुन्छन्,’ उनले भने । 

कार्यक्रममा अकिञ्चनको कवितासंग्रह ‘सायद किनाराहरू’ बाट कविहरू डा।स्मिता श्रेष्ठ र रिमा केसीले एक–एकवटा कविता पनि वाचन गरेका थिए । इन्डिगो इन्कले प्रकाशन गरेको किताबको मूल्य ५४९ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप