स्थानीयको विरोधको बाबजुद खानीखोला हाइड्रोपावरद्वारा अवैध वन फँडानी
सारांश
- ललितपुरको खानिखोला हाइड्रोपावरले लामिडाँडा सामुदायिक वनमा अवैध वन फँडानी गरेको स्थानीयको आरोप छ।
- हाईटेन्सन लाइन विस्तारको बहानामा रुख काटिएको र सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय नगरिएको बताइएको छ।
- कम्पनीले स्थानीयको विरोधका बाबजुद वन संरक्षण ऐनको उल्लङ्घन गरेको आरोप लागेको छ।
काठमाडौँ । ललितपुरको खानिखोला हाइड्रोपावरले लामिडाँडा सामुदायिक वन क्षेत्रमा अवैध वन फँडानी गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
कुनै जानकारी वा समन्वय नगरी अवैध रूपमा वन फडानी गरेको तथ्य सार्वजनिक भएको हो । हाईटेन्सन लाइन विस्तार गर्ने बहानामा कम्पनीले सामुदायिक वनका रूखहरू काटेको हो भन्दै स्थानीयहरू आक्रोशित भएका हुन् ।
लामिडाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालबहादुर घुङ्वाले वन उपभोक्तासँग कुनै प्रकारको समन्वय नगरी वन काटिएको बताए ।
डिभिजन वन कार्यालय प्युटार शाखाको सूचनाअनुसार हालसम्म २२ ओटा रुख काटिएको पुष्टि भएको छ । सामुदायिक बन क्षेत्रभित्रको जैविक विविधता र पर्यावरणीय सन्तुलनमा गम्भीर असर पर्ने गरी गरिएको यस कार्यप्रति स्थानीयहरू चिन्तित बनेका छन् ।
सामुदायिक बनले यस विषयमा बैठक गरी जरिवाना सहित संरक्षणको निर्णय गरे पनि हाइड्रोपावर कम्पनीले उक्त निर्णयको कार्यान्वयन नगरी उल्टै पन्छिने रणनीति अपनाएको आरोप स्थानीयहरूले लगाएका छन् ।
वन संरक्षण ऐन, २०५८ अनुसार सामुदायिक बनभित्र कुनै पनि संरचना निर्माण, रुख कटानी वा लाइन विस्तार जस्ता कार्यहरूका लागि उपभोक्ता समूहसँग सहमति लिई कानुनी प्रक्रिया पुरा गर्नुपर्ने व्यवस्था छ ।
तर, खानिखोला हाइड्रोपावरले यस्ता कानुनी प्रक्रिया बेवास्ता गर्दै मनपरी ढङ्गले काम अगाडि बढाएको देखिएको सामुदायिक वन उपभोक्ताहरूले बताएका छन् ।
स्थानीय वन उपभोक्ता समिति, सरोकारवाला निकायहरूसँगको छलफल र समन्वय विना वन फँडानी हुँदा त्यस क्षेत्रको वातावरणमै असर पुग्दा पनि हाइड्रोपावर गम्भीर नभएको भन्दै स्थानीयले आरोप लगाएका छन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण