शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बङ्गलादेशको ढाकामा लडाकु विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

सोमबार, ०५ साउन २०८२, २१ : २६
सोमबार, ०५ साउन २०८२

सारांश

  • ढाकास्थित विद्यालयमा लडाकु विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ, जसमा धेरै विद्यार्थी छन्।
  • चिनियाँ निर्मित एफ-७ बीजेआई विमान प्रशिक्षणका क्रममा दुर्घटनाग्रस्त हुँदा १०० भन्दा बढी घाइते भए।
  • बंगलादेश सरकारले मंगलबार राष्ट्रिय शोक दिवसको घोषणा गरेको छ, र प्रधानमन्त्रीले दुःख व्यक्त गरे।

ढाका । बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो ।

चिनियाँ निर्मित एफ–७ बीजेआई (एफ–७ बीजेआई) लडाकु विमान दिउँसो १ः०६ बजे प्रशिक्षणका लागि उडेपछि केही समयमै ढाकास्थित मिलस्टोन स्कूल एन्ड कलेजको क्याम्पसमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये ८३ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । घटनास्थलमा तत्कालै उद्धार कार्य सुरू गरिएको थियो र आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीहरूले अथक प्रयास गरेका थिए ।

एक जना विद्यार्थी शफिउर रहमान शफीले भने, ‘हामी खेलमैदानमा थियौं । अचानक ठूलो आवाज आयो, जमिन काम्पियो, अनि विमान खसेको थाहा पाइयो । त्यसपछि आगो लाग्यो र केहीबेरमै सेना आइपुगे ।’
सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ । घाइतेहरूको उपचार भइरहेको छ भने मृतक विद्यार्थीहरूको परिवारजना अहिले गहिरो शोकमा छन् । अभिभावकहरूले अस्पताल पुगेर आफ्ना बालबालिकाको पहिचान गर्न प्रयास गरिरहेका छन् ।

अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले एक सन्देशमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै लेखेका छन्, ‘वायुसेना, विद्यार्थी, शिक्षक, अभिभावक र मिलस्टोन स्कुलका कर्मचारीहरूमाथि परेको यो क्षति अपूरणीय छ । यो सम्पूर्ण राष्ट्रका लागि अत्यन्त पीडादायक क्षण हो ।’

बंगलादेशमा यसअघिको सबैभन्दा ठूलो विमान दुर्घटना सन् १९८४ मा भएको थियो, जसमा ४९ जनाको ज्यान गएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप