सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
यौन शोषणमा नेपाली महिला

धनी बन्ने लोभले चिनियाँसँग बिहे, यौन शोषणमा फस्दै नेपाली महिला

मङ्गलबार, ०६ साउन २०८२, २० : ५५
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • पोखरामा चिनियाँ नागरिकसँग विवाह गर्ने र गराउने गिरोह सक्रिय रहेको पाइएको छ, जसमा युवतीहरूलाई झुक्याएर विवाह गर्ने र यौन शोषण गर्ने गरेको खुलासा भएको छ।
  • विवाहपछि चीन लैजाने र आर्थिक सहयोग गर्ने प्रलोभन देखाएर युवतीहरूलाई फसाउने र उनीहरूको इच्छाविपरीत यौन शोषण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
  • प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणीका मुद्दाहरू दर्ता गरी ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ, साथै सचेतनामूलक कार्यक्रम पनि सुरु गरेको छ।

पोखरा । एक दिन सविना (नाम परिवर्तन)लाई तिलकुमारी विकले चिनियाँसँग विवाह गर्न प्रस्ताव लिएर आइन् । सुरुमा सविना अचम्मित भइन् र हत्तपत्त ‘हुँदैन’ भनिन् ।

सविनाले काम गर्ने पसलमा महिना दिनसम्म तिलकुमारी धाइरहिन् । केटा राम्रो भएको र पोखरामै घर बनाएर बस्ने भनेपछि सविना विवाहका लागि राजी भइन् । तिलकुमारीले आफूलाई ‘तैंले दुःख पाइस्, चाइनाको राम्रो केटा छ । यहीँ बस्छ, हामी जिम्मा लिन्छौँ’ भनेको सविनाले सुनाइन् । उनले भनिन्, ‘राम्रो हुने भए विवाह गर्छु भनेँ । विवाह गरेँ ।’

जेठ ११ गते उनको विवाह चिनियाँ केटासँग बुद्धचोकको एक पार्टी प्यालेसबाट भयो । एक महिनासम्म सँगै बसेपछि सविनाले थाहा पाइन्, त्यो विवाह ‘फेक’ थियो । उनले भनिन्, ‘यही पार्टी प्यालेसमा एकै महिना ८–९ जना नेपाली युवतीको विवाह चिनियाँ नागरिकसँग गराइएको छ ।’

गत असोज १४ गते साँझ पोखरा राष्ट्र बैंक चोककी शान्ति नेपालीले रविना (नाम परिवर्तन)लाई चिनियाँसँग विवाह गर्ने भनेर लेकसाइडको एउटा चिनियाँ रेष्टुरेण्टमा लगिन् । रविना पुग्दा रेष्टुरेण्टमा दुलहीको पोसाक राखिएको थियो । शान्तिले रविनालाई उक्त पोसाक लगाउन भनिन् । पोसाक लगाएपछि ३३ वर्षीय चिनियाँ नागरिक लि मिङ मिङले उनको सिउँदोमा सिन्दुर हालिदिए ।

केही समय उनीहरू जरेबरको एक होटलमा सँगै बसे । मिङले रविनाको इच्छा विपरीत पटकपटक जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी पर्‍यो । ‘मलाई विनाकारण घाँटीमा अठ्याउने र कुटपिट गर्न थाले । तँसँग विवाह गर्न ६ लाख बुझाएको छु । त्यो पैसा फिर्ता गराइदे, अनि तँ निस्किएर जा भनेर यातना दिन थाले,’ रविनाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

माथिल्ला घटना प्रतिनिधिमूलक हुन् । अचेल चीन लैजाने प्रलोभनमा पारेर नेपाली युवतीहरूसँग विवाह गर्ने चिनियाँको संख्या बढ्दो छ । पीडितहरूका अनुसार पोखरामा यसरी विवाह गर्ने र गराइदिने गिरोह नै सक्रिय छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्रै चिनियाँ नागरिक संलग्न भएका चार वटा मुद्दा कास्की प्रहरीमा दर्ता भएका छन् । यी घटनामा संलग्न ५ जना चिनियाँ नागरिक पक्राउ परिसकेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

‘दर्ता भएका मुद्दामध्ये दुई वटा मानव बेचबिखन तथा ओसारपसार र दुई वटा जबर्जस्ती करणीका छन्,’ उनले भने । विवाह गरेर चीन लैजाने, घर किनिदिने र आर्थिक सहयोग गर्ने प्रलोभन देखाएर नजिकिने, पछि उनीहरूको इच्छाविपरीत यौन शोषण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चिनियाँहरू पोखरामा आएर आर्थिक अवस्था कमजोर भएका महिला खोजेर प्रलोभनमा पार्ने गरेको ओलियाले बताए ।

‘उनीहरूले बिचौलियामार्फत आर्थिक अवस्था कमजोर भएका युवतीहरू पहिचान गर्ने र चीन लैजाने प्रलोभनमा विवाह गर्ने गरेको देखिन्छ । पछि चीन लैजानुको सट्टा उनीहरूलाई यौन शोषण गर्ने र अलपत्र पार्ने प्रवृत्ति देखिएको छ,’ ओलियाले भने, ‘दुई वटा केसमा त अन्डर एजका बालिका छन् । हामीले यी घटनालाई गम्भीर रूपले अनुसन्धान गरेका छौँ ।’

पक्राउ परेका पाँचै जना पुर्पक्षका लागि कारागार चलान भएका ओलियाले जानकारी दिए । चिनियाँसँग विवाह गर्ने दर बढेपछि प्रहरीले नै सचेतनामूलक कार्यक्रम सुरु गरेको उनले बताए । अधिकांश घटना अझै प्रहरीसम्म पुगेको छैन । केही नेपाली महिला विवाह पश्चात चीन पनि गएका छन्, तर उनीहरूको अवस्थाबारे परिवार र प्रहरीसमेत अनभिज्ञ छ ।

‘कतिपय त हामीकहाँ नआएको पनि हुन सक्छ । ठ्याक्कै यताबाट चाइना लगेर राम्रो गरेको वा नगरेको विषयमा चाहिँ सोधखोज गर्न बाँकी नै छ,’ ओलियाले भने ।

अधिवक्ता भगवती पहारी पछिल्ला समय चिनियाँ नागरिक र नेपाली महिलाबिच ‘कोर्ट म्यारिज’ समेत बढ्न थालेको बताउँछिन् । ‘केही कोर्ट म्यारिज गरेका पनि छन् । आजभोलिचाहिँ यस्तो विवाहमा डकुमेण्टहरू कडा हिसाबले हेर्न थालिएको छ,’ उनले भनिन्, ‘कतिपय विवाह त विनाकागजात भएका छन् । डरलाग्दो अवस्था बनिरहेको छ ।’

तुरुन्तै सचेतनामूलक काम नगरे पोखरामा भयावह अवस्था आउने पहारीले बताइन् । ‘सिन्धुपाल्चोकको मानव बेचविखनजस्तो घटना यता पनि हुन थालेको देखिन्छ । भित्रभित्रै दलालहरू छन । विपन्न परिवारका किशोरीहरू फकाउँदा मान्छन् पनि,’ उनले भनिन्, ‘विवाहको रूपमा मानव बेचविखनका घटना बढ्दो छ । झट्टै नसोच्ने हो भने अवस्था डरलाग्दो र भयावह हुन सक्छ ।’

पोखरामा चिनियाँको उपस्थिति बाक्लिँदो छ । कतिपय पोखरामै व्यापार गरेर बसेका छन् भने कतिपय पर्यटकका रूपमा यहाँ आउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप