बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पुष्पलाल स्मृति दिवस

पुष्पलालको त्यो उद्‍गार : यस कारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ

बुधबार, ०७ साउन २०८२, १३ : १७
बुधबार, ०७ साउन २०८२

सारांश

  • पुष्पलालले नागरिक स्वतन्त्रताका लागि सबै वर्गलाई एकजुट हुन आह्वान गरे, र कम्युनिस्ट पार्टी स्थापना गरे।
  • पुष्पलालको नेतृत्वमा कम्युनिस्ट आन्दोलनको सुरुवात भयो र उनले मार्क्सवादलाई नेपालीमा अनुवाद गरे।
  • पुष्पलालको निधनपछि देशमा गणतन्त्र आए पनि, उनको सपना अनुसार सबै दलहरू एकजुट हुनुपर्ने आवश्यकता छ।

‘मजदुरलाई आफ्नो रोटी र तलब बढाउन, महँगी भत्ता बढाउनका निम्ति लड्नुपर्छ । यस कारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ । 

किसानलाई आफ्नो भोक हटाउन, आफ्नो बालीनाली (फसल) को भाउ बढाउन, ज्याला बढाउन (अधियाँमा उचित भाग पाउन) र जमिनको हकको निम्ति लड्नुपर्छ । यस कारण किसानहरू नागरिक स्वतन्त्रता चाहन्छन् । 

विद्यार्थीलाई बिनाफिस अथवा कम फिसमा उच्च दर्जाको शिक्षा पाउन संघर्ष गर्नुपर्छ । यस कारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ । 

महिलालाई आफ्नो दोहोरो दासत्वको विरोधमा लड्नुपर्छ । यस कारण नारीहरू नागरिक स्वतन्त्रता चाहन्छन् ।

यस कारण सबै जनता एक भई नागरिक स्वतन्त्रताका लागि सानदार युद्ध लड्नुपर्छ ।’

०००

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल (वि.सं. १९८१–२०३५)ले जब ‘नेपाली राष्ट्रिय कांग्रेस’ छाडेर कम्युनिस्ट पार्टी खोल्ने निर्णय गरे, त्यसपछि उनले मार्क्स र एङ्गेल्सको कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरे, सँगसँगै उनले एउटा दस्ताबेज पनि लेखे, ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यक, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाउँ !’ उपरोक्त विचारहरू त्यही दस्ताबेजबाट लिइएको हो, जसलाई नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो दस्ताबेज मानिन्छ ।  

पुष्पलाल ‘नेपाल कम्युनिस्ट पार्टी’ (नेकपा)का संस्थापक मात्र होइनन् नेपाली कम्युनिस्ट आन्दोलनकै प्रवर्तक हुन् । हुन् त नेकपा जन्मिसकेपछि नेपालको पहिलो कम्युनिस्ट नेता को हो भन्ने बहस नचलेको होइन । यस सम्बन्धमा पुष्पलालले नै चर्चा गरेका छन्, उनका आलेखहरुको संग्रह (नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास, २०५३)’ मा यो प्रसंग आएको छ । 

पुष्पलालले भने, ‘यही रेग्मी गुट भोलि गई नेपाल कम्युनिस्ट पार्टीमा परिणत भएर जानेछ, त्यसैले म लागेको हुँ ।’

एकचोटि टंंकप्रसाद आचार्यसँग नेपालको कम्युनिस्ट आन्दोलनका विषयमा पुष्पलालको वादविवाद हुन्छ । टंकप्रसादले पुष्पलाललाई भनेका थिए, ‘माहिलाभाइ ! (टंकप्रसादले पुष्पलाललाई माहिलाभाइ भनी सम्बोधन गर्थे) नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास लेख्दा पहिलो कम्युनिस्ट दशरथ चन्द हो भनी लेख्नुपर्छ ।’  

पुष्पलालले यसको कारण सोध्दा टंकप्रसादले भनेका थिए, ‘दशरथ चन्दले राल्फ फक्सका कम्युनिस्ट नामक पुस्तक पढ्थे र त्यसबाट उनले प्रेरणा लिएका थिए ।’ 

निष्कर्षमा पुष्पलालले लेखेका छन्, ‘नेपालको पहिलो कम्युनिस्ट को हो ? ऊ कसरी कम्युनिस्ट विचारधाराप्रति आकर्षित भयो भन्ने उत्तिको महत्त्वपूर्ण छैन, यो गौण विषय हो । सबभन्दा महत्त्वपूर्ण कुरा यो हो कि नेपालको राजनीतिक रंगमञ्चमा कम्युनिस्ट विचारधारा उत्पन्न भयो र त्यसले पिँढी दरपिँढीलाई असर गर्न थाल्यो । १९९७ सालको पर्वभन्दा पहिले यो विवादमा मात्र सीमित थियो भने त्यसपछि संगठित रूप लिन थाल्यो ।’ 

रामेछापको भँगेरी गाउँमा १९८१ असार १५ गते जन्मेका पुष्पलाल सहिद गंगालालका भाइ हुन् । १९९७ माघ १४ गतेको मध्यराति दाजु गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएपछि पुष्पलालले दाजुको चितासामु उभिएर निरंकुश राणातन्त्रको अन्त्य गरिछाड्ने प्रण गरेका थिए ।

निरंकुश राणाशासनको अन्त्य गरी राजासहितको प्रजातान्त्रिक शासन पद्धति स्थापना गर्ने उद्देश्यले टंकप्रसाद आचार्यको नेतृत्वमा वि.सं. १९९३ जेठ २० गते ‘नेपाल प्रजा परिषद्’को विधिवत् उद््घाटन भएको थियो । जसमा पुष्पलालका दाजु गंगालाल पनि जोडिएका थिए । राणाशासकले प्रजा परिषद्माथि मुद्दा चलाए र १९९७ माघमा पाँच जनालाई ज्यान सजाय तोके । शुक्रराज जोशी, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र पूर्णबहादुर प्रधानलाई ज्यान सजाय तोकिए पनि पूर्णबहादुर प्रधानको सजाय पछि १८ वर्ष कैदमा बदलिएको थियो । 

यसको लगत्तै (१९९७ मै) १६ वर्षीय पुष्पलाल पनि संगठित हुन थाले । सुरुमा प्रेमबहादुर, सूर्यबहादुर, शम्भुराम तथा पुष्पलाल गरी चारजनाको एक राजनीतिक दल बनेको थियो । यस सम्बन्धमा पुष्पलालले लेखेका छन्, ‘हामीले आपसमा सम्बोधन गर्दा कमरेड र अभिवादन गर्दा लालसलाम भन्न थाल्यौँ । यस दलको नेता नछानिए पनि प्रेमबहादुर नै नेताको रूपमा थिए ।’

काठमाडौँमा माध्यमिक (मेट्रिकुलेसन, एसएलसी) सम्मको शिक्षा लिएपछि पुष्पलाल उच्च शिक्षाका लागि भारतको कलकत्ता गए । 

पुष्पलालले सानो चिन्तन र चिन्ताले नेकपाको गठन गरेका थिएनन्, तर समय क्रमसँग पार्टीको कार्यदिशागत चिन्तनमा खिचलो देखिन थाल्यो । पार्टीको दोस्रो महाधिवेशनसम्म आइपुग्दा वैचारिक विचलन र विवादले स्पष्ट धार लिएको थियो । 

त्यतिखेरै भारतमा नेपाली कांग्रेस पार्टी जन्मने तर्खरमा थियो । नेपालभित्रै र भारतमा बसी काम गर्ने नेपाली क्रान्तिकारीहरूले जनवरी २५ र २६, १९४७ मा  भारतको कलकत्तामा सम्मेलन गरे, जसले पार्टीको नाम ‘नेपाली राष्ट्रिय कांग्रेस’ दियो । नेपाली राष्ट्रिय कांग्रेसको दोस्रो अधिवेशन (१९४७ अप्रिल ९–१० मा सम्पन्न) बाट पुष्पलाल केन्द्रीय कार्य समितिको मन्त्री (सचिव) मा निर्वासित भएका थिए ।

पछि राष्ट्रिय कांग्रेसमा फुट आयो, डिल्लीरमण रेग्मी र बीपी कोइराला गुटका रूपमा । आफूले राष्ट्रिय कांग्रेस किन छाडेँ भन्ने सन्दर्भमा पुष्पलालले आफ्नो उपरोक्त पुस्तकमा उल्लेख गरेका छन् । 

कुराकानीका दौरानमा केदारमान व्यथितले पुष्पलाललाई कोइराला गुटमा तान्न खोज्थे । असफल भएपछि उनले पुष्पलालसँग सोधे, ‘आखिर कोइरालाका तुलनामा रेग्मीसँग के विशेषता छ र त्यतातिर लागेको ?’

पुष्पलालले भने, ‘यही रेग्मी गुट भोलि गई नेपाल कम्युनिस्ट पार्टीमा परिणत भएर जानेछ, त्यसैले म लागेको हुँ ।’

पुष्पलालले लेखेका छन्, ‘रेग्मीको पक्ष लिनमा वैधानिक तथा अरु कतिपय कारण हुनाको बाबजुद मुख्य साँचो र सत्य यही थियो । यसका विपरीत रेग्मीले एकपछि अर्को नीति अपनाउँदै गएर गुप्त रूपले राणा शासकसँग समेत आफ्नो सम्बन्ध स्थापित गर्दै गएको र उनका वरपर सामन्ती तत्त्व नै भेला हुन आएको हुँदा अन्त्यमा रेग्मी गुटबाट त्यागपत्र दिई हटेँ ।’ 

पुष्पलालले सानो चिन्तन र चिन्ताले नेकपाको गठन गरेका थिएनन्, तर समय क्रमसँग पार्टीको कार्यदिशागत चिन्तनमा खिचलो देखिन थाल्यो । पार्टीको दोस्रो महाधिवेशनसम्म आइपुग्दा वैचारिक विचलन र विवादले स्पष्ट धार लिएको थियो । 

२०१४ जेठ १५–२५ गतेसम्म काठमाडौँको दरबारमार्गस्थित फोहरादरबारमा भएको दोस्रो महाधिवेशनमा डा. केशरजंग रायमाझीले ‘पार्टीको कार्यक्रममा परिवर्तन किन ?’ शीर्षकको पुस्तिका लेखेका थिए । त्यसै पुस्तिकाका आधारमा केन्द्रीय समितिको बहुमतले द्वितीय महाधिवेशनमा प्रस्तुत गर्नका निम्ति एउटा रिपोर्ट तयार गर्‍यो । पोलिटिकल ब्युरोका सदस्य पुष्पलालसहित केन्द्रीय समितिका शम्भुराम, हिक्मत सिंह, कृष्णलाल, पीएन राणा र मोहनविक्रम सिंह गरी जम्मा ६ जनाले त्यस रिपोर्टको विरोध गरे । 

यस रिपोर्टमा मुख्य गरी राजाको बढ्दो निरंकुशतालाई बढ्न नदिनका लागि आफ्नो सिद्धान्त त्यागेरै भए पनि नेपाली कांग्रेससँग संयुक्त मोर्चा गर्नु जरुरी छ भन्ने निष्कर्ष थियो । पुष्पलालले लेखेका छन्, ‘उक्त रिपोर्टमा उनीहरूले स्पष्ट व्याख्या गरे— २००७ सालको क्रान्तिको मुख्य उद्देश्य देशको सामन्ती व्यवस्थाको समाप्ति नभई राणाको मध्ययुगीन पारिवारिक शासनको अन्त्य गर्नु मात्र भएको हुनाले दिल्ली सम्झौताको फलस्वरूप राणाको पारिवारिक शासनको अन्त्य भई प्रजातन्त्रको परिपाटी सुरु भएको हुँदा दिल्ली सम्झौता राष्ट्रका निम्ति धोका नभई महान् सफलता हो ।’

पुष्पलालले दिल्ली सम्झौतालाई धोका भन्दै आन्दोलनलाई निरन्तरता दिन आह्वान गरेका थिए । 

दोस्रो महाधिवेशनले पुष्पलालले पेस गरेको दस्ताबेज पारित गर्‍यो, जसमा संविधान सभाको निर्वाचन र सो सभाद्वारा गणतन्त्र घोषणा गर्नेसम्मका नारा थिए । यद्यपि दोस्रो महाधिवेशनले पार्टी महामन्त्रीमा राजावादी केशरजंग रायमाझीलाई निर्वाचित गर्‍यो र पुष्पलालको दस्ताबेज कार्यान्वयनमा गएन । 

२०१७ फागुनमा भएको नेपाल कम्युनिस्ट पार्टीको दरभंगा प्लेनम (विस्तारित बैठक)मा उनले ‘विघटित संसदको पुनस्थापना’को कार्यनीति लिनुपर्नेमा जोड दिएका थिए । 

२०१९ सालमा भएको नेकपाको तेस्रो महाधिवेशनमा तुलसीलालले ‘राष्ट्रिय प्रजातान्त्रिक’ कार्यक्रम प्रस्तुत गरेका थिए भने पुष्पलालले ‘नयाँ जनवादी गणतन्त्र’को रणनीतिक कार्यक्रम र संयुक्त जनआन्दोलनको कार्यनीति पेस गरेका थिए । महाधिवेशनले तुलसीलाललाई पार्टी महामन्त्रीमा चयन गर्‍यो । महाधिवेशनको निर्णय शिरोधार्य गरी पार्टी बचाउने कार्यमा पुष्पलाल लागिरहे । 

पुष्पलाल बाँचेको भए आज भन्दा हुन्— गणतन्त्रलाई गति दिनका लागि सबै जनता र दल एकजुट हुनुपर्छ । 

७ साउन २०३५ मा पुष्पलालको निधन भयो । देशमा बहुदल र गणतन्त्र आएको, संविधानसभाबाट संविधान लेखिएको उनले देख्न पाएनन्, यद्यपि देशका परिवर्तनहरू उनको सोच र चिन्तनभन्दा पर छैनन् । 

पुष्पलालले जग बसाएको आज कम्युनिस्ट आन्दोलनको मूल प्रवाह बनेको नेकपा (एमाले) अनौठो खिचलोमा छ । पुष्पलालकै सपना अनुरूपको गणतान्त्रिक व्यवस्थाको राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारी पार्टीमा फर्कन खुट्टा उचालेकी छन् । 

पौराणिक कथाको पात्र वामनावतार विष्णुले तीन पाउ जमिन मागेर खुट्टा उचाले जसरी विद्याले पार्टीमा ‘स्थान’ खोजेकी छन् । थाहा छैन, कुन ‘अवतार’ वा ‘शक्ति’का रूप वा आडमा विद्याले खुट्टा उचालेकी हुन् ! उनलाई आफ््नै स्थानमा उभिन अर्थात् राष्ट्रपति पदको गरिमा राख्न आग्रह गरेर एमालेले तत्कालका लागि उनको खुट्टा थमाएको सम्झेको छ । उनको उचालिएको खुट्टाले कसको शिर धर्तीमा धस्छ, पार्टी चोइटिन्छ वा उनले अरु कुनै कम्युनिस्ट दलसँग सहकार्य गर्छिन् भन्ने यसै भन्न सकिँदैन । 

संंविधान संशोधनको नाममा यतिबेला एमालेले कांग्रेससँग सत्ता सहकार्य गरिरहेको छ । एकातिर अग्रगामी कदम लिन संविधान संंशोधन गर्ने कि पश्चगामी कदमका लागि भन्ने बहस सतहमा आएका छन् भने, अर्कोतिर भर्खर गति लिन थालेको गणतन्त्रलाई कमजोर बनाउन राजावादी लगायत पश्चगामी तत्त्वहरू सलबलाउन थालेका छन् । गणतन्त्रपछि परिवर्तनका संवाहक दलहरूले साझा कार्यक्रम ल्याउन सकेनन्, उनीहरूले गणतन्त्र किन ल्याएको भन्ने नै बिर्संदै गए; फलतः पछिल्लो चुनावबाट ‘स्वतन्त्र’हरू र राजावादीहरू सतहमा देखिए, ‘खिचडी संसद्’ बन्यो, जसले संसद्मा ‘रंग–रमाइलो’ गरिरहेकै छ । 

अघिल्लो चुनावमा राजावादीसँगै साँठगाँठ गरेको एमाले आउँदो चुनावसम्म कुन कित्तामा पुग्छ र देशले कस्तो ‘निकास’ वा ‘भास’ पाउँछ भन्ने यसै अनुमान गर्न सकिँदैन । 

पुष्पलाल बाँचेको भए आज भन्दा हुन्— गणतन्त्रलाई गति दिनका लागि सबै जनता र दल एकजुट हुनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप