शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

यस्तो छ लोकतान्त्रिक मोर्चाले बनाउने तीन तहको सांगठनिक संरचना

बिहीबार, ०८ साउन २०८२, २२ : ०४
बिहीबार, ०८ साउन २०८२

सारांश

  • तराई मधेसकेन्द्रित सातदलीय संघीय लोकतान्त्रिक मोर्चाले तीन तहको सांगठनिक संरचना बनाउने भएको छ।
  • मोर्चाले केन्द्र, प्रदेश र स्थानीय तहमा संगठन बनाउने कार्यविधि बनाएको छ, जसमा विभिन्न समितिहरू रहनेछन्।
  • मोर्चाको आयश्रोत घटक दलहरूबाट प्राप्त सहयोग, आर्थिक सहयोग, प्रकाशन बिक्री-वितरण, विशेष कार्यक्रम वा अभियानबाट संकलित रकम रहनेछ।

काठमाडौँ । तराई मधेसकेन्द्रित सातदलीय संघीय लोकतान्त्रिक मोर्चाले तीन तहको सांगठनिक संरचना बनाउने भएको छ । 

मोर्चाले केन्द्र, प्रदेश र स्थानीय तहमा संगठन बनाउने कार्यविधि बनाएको हो । कार्यविधिअनुसार केन्द्रीय तहमा मूल समिति रहनेछ । यस तहमा मोर्चामा आबद्ध पार्टीका अध्यक्ष, सचिवालय सदस्यसहित प्रत्येक पार्टीबाट बढीमा तीन–तीन जना सदस्य रहने उल्लेख गरिएको छ ।

त्यस्तै प्रदेश तहमा प्रदेश मूल समिति रहनेछ । यस समितिमा प्रदेशका पार्टीका अध्यक्ष तथा प्रत्येक पार्टीबाट ३–३ जना रहने प्रावधान छ । स्थानीय तह हाललाई जिल्ला मूल समिति रहने कार्यविधिमा उल्लेख छ । यस समितिमा जिल्लाका अध्यक्षसहित ३–३ जना रहने भनिएको छ । 

कार्यविधिअनुसार प्रदेश र स्थानीय तहमा पनि मोर्चाको सञ्चालन आफ्नो क्षेत्राधिकारभित्र केन्द्रीय मूल समितिको जस्तै रहने बताइएको छ । मोर्चालाई भ्रातृ संगठन तहसम्म आवश्यकता अनुसार संरचना बनाउने सकिने कार्यविधिमा उल्लेख छ । मोर्चामा आबद्ध राजनीतिक पार्टी, दल, संगठनहरू समान हैसियतमा रही कार्य गर्ने भनिएको छ । मोर्चासँग विचार मिल्ने पार्टी, संगठनलाई निर्णयअनुसार सहभागी गराउन वा त्यस्तो संगठनसँग सहकार्य गर्न अथवा आमन्त्रित संगठनको रूपमा सहभागी गराउन सकिने पनि उल्लेख छ ।

मोर्चाको आयश्रोत घटक दलहरूबाट प्राप्त सहयोग, आर्थिक सहयोग, प्रकाशन बिक्री-वितरण, विशेष कार्यक्रम वा अभियानबाट संकलित रकम रहने जनाइएको छ । मोर्चाको मूल समितिको बैठकको आयोजना गर्ने दलले नै त्यो दिनको सम्पूर्ण आर्थिक व्यवस्थापन गर्ने भनिएको छ । 

घोषणा गरिएको कार्यक्रमको आर्थिक व्यवस्थापन गर्दा आबद्ध सबै घटक दलले बराबरीका आधारमा साझेदारी गर्ने उल्लेख गर्दै मोर्चाका सम्पूर्ण गतिविधि सञ्चालनका निम्ति आवश्यक सबैखाले आर्थिक व्यवस्थापन सचिवालयमार्फत गर्ने कार्यविधिमा उल्लेख छ । र त्यसको सम्पूर्ण आयव्ययको हिसाबकिताब मूल समितिको बैठकमा पेस गरिने पनि भनिएको छ । 

यस कार्यविधिमा व्यवस्था नभएको कुनै पनि विषयमा केन्द्रीय मूल समितिले निर्णय गरी कार्यान्वयनमा ल्याउने भनिएको छ । 

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा.सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी रहेका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप