प्रधानमन्त्रीको भारत भ्रमणमा पोखरा विमानस्थल सञ्चालनलाई एजेन्डा बनाउन माग
सारांश
- होटल संघ पोखराले पोखरा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न प्रधानमन्त्री, अर्थमन्त्री र युएईका राजदूतको ध्यानाकर्षण गरायो।
- संघले भारतका सहरबाट पोखरामा सिधा उडानका लागि पहल गर्न र दुबईसँग हवाई सम्पर्क स्थापना गर्न आग्रह गर्यो।
- अर्थमन्त्रीले अन्तर्राष्ट्रिय उडान सुरु गर्न र युएईका राजदूतले 'फ्लाई दुबई' सँग कुरा गर्ने आश्वासन दिए।
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गर्दै होटल संघ पोखरा नेपालको प्रतिनिधि टोलीले प्रधानमन्त्री, अर्थमन्त्री र संयुक्त अरब इमिरेट्स (युएई) का राजदूतको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई लक्षित गर्दै संघको टोलीले अर्थमन्त्री विष्णु पौडेलमार्फत प्रधानमन्त्रीलाई भारतका प्रमुख सहरबाट पोखरासम्म सीधा उडानका लागि पहल गर्न आग्रह गरेको हो ।
भेटका क्रममा अर्थमन्त्री पौडेलले पोखरा र भैरहवाका नवनिर्मित विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गराउन आफूले सक्दो प्रयास गर्ने आश्वासन दिएको होटल संघ नेपालका केन्द्रीय सदस्य तथा सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जानकारी दिए । सङ्घले पोखरालाई अन्तर्राष्ट्रिय सहरहरूसँग हवाई मार्गबाट जोड्न र पर्यटन क्षेत्रका अन्य पूर्वाधार विकासका लागि पनि पहल गरेको हो ।
सङ्घले चालू बजेटमा घोषित ‘पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधा’ को व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न पनि माग गरेको छ । यसैगरी, संघको टोलीले काठमाडौँस्थित युएईका राजदूत अब्दुल्ला सइद मुवारकसँग भेटवार्ता गरी पोखरा–दुबई सीधा हवाई सम्पर्क स्थापनाका लागि पहल गरिदिन आग्रह गरेको छ ।
भेटमा राजदूत अब्दुल्लाले पोखरा–दुबई उडानका लागि आफूले ‘फ्लाई दुबई’ सँग कुरा गर्ने आश्वासन दिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । राजदूतले पोखराको पर्यटन प्रवर्द्धन गर्ने र दुबईबाट पोखरामा लगानी भित्र्याउने विषयमा पनि चासो देखाएको उनको भनाई छ । यता, अर्थमन्त्रीसँगको भेटमा पोखरा नयाँ पुल सुरुङ मार्गको शिलान्यास छिट्टै हुने जानकारी प्राप्त भएको सङ्घले जनाएको छ ।
सो सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र चालू बजेटमा केही रकम समेत विनियोजन भएको मन्त्री पौडेलले बताएका थिए । टोलीले नारायणगढ–बुटवल र पोखरा–मुग्लिन सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन पनि आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण