शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: नागरिक उन्मुक्ति पार्टीमा किचलो, सडकदेखि रेलमार्गसम्म अलपत्र

शनिबार, १० साउन २०८२, ०० : ००
शनिबार, १० साउन २०८२

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्रीलाई हटाउन सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरे, जसमा ४ मन्त्रीले राजीनामा दिए।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई एमालेको पूर्व उपाध्यक्षको रूपमा उभ्याउँदै पार्टीको निर्णयको विरोध गरिन्।
  • सडकदेखि रेलमार्गसम्मका राष्ट्रिय गौरवका आयोजनाहरू निर्माण थालिएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकेका छैनन्।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार लिएर हामी हाजिर भएका छौँ–

१. बहादुरविरुद्ध मोर्चाबन्दी

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका सांसदहरुले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका छन् । शुक्रबार मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै २१ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो ।
सोहीअनुसार बहादुरविरुद्ध मोर्चाबन्दी गर्दै ४ मन्त्रीले शुक्रबार नै राजीनामा दिएका छन् ।

२. चुप बसिनन् विद्या

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा एमालेको पूर्व उपाध्यक्षको हैसियतमा उभ्याएकी छन् । नेकपा एमालेले भण्डारीको पार्टी सदस्यता खारेज गरेको घोषणा गरेपछि प्रस्ट पार्न शुक्रबार पत्रकार सम्मेलन गरेकी भण्डारी २ पेज लामो लिखित भाषण गरेकी थिइन् ।

जननेता मदन भण्डारी र नेकपा एमालेको सूर्य चिह्नअंकित ब्यानरमा पत्रकार सम्मेलन गरेकी भण्डारीले आफ्नो सदस्यता खोस्ने वा खारेज गर्ने पार्टीको निर्णय उत्तेजना र आवेगमा भन्दै त्यसलाई अपरिपक्व निर्णयको संज्ञा दिइन् ।

३. सडकदेखि रेलमार्गसम्म अलपत्र

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरू निर्माण थालिएको डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन सकेका छैनन् । भौतिक मन्त्रालयअन्तर्गतका पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी राजमार्ग, उत्तर–दक्षिण जोड्ने करिडोर र पूर्व–पश्चिम विद्युतीय रेलमार्गसम्मका आयोजनाको प्रगति निराशाजनक छ ।

४. विद्युतीय सवारी

२०७६ भदौ २३ गते सुन्दर यातायात प्रालिले काठमाडौँ उपत्यकामा पहिलोपटक विद्युतीय बस सञ्चालनमा ल्याएको थियो । 

सवारी साधनको धुवाँधुलो र  ध्वनि प्रदूषणले आक्रान्त राजधानीलाई विद्युतीय बसले राहत दिने अपेक्षा गरियो । अनि सार्वजनिक यातायातमा पाइने सास्तीबाट पनि मुक्ति पाइएला भन्ने सोचिएको थियो ।  सुन्दर यातायातले विद्युतीय बस भित्र्याएसँगै अब यसको लहर नै चल्ला भनेर धेरैले सोचेका थिए ।

५. नेपाली फिर्ता

इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिक रिहा भई स्वदेश फर्किएका छन्।  तेहरानस्थित अदालतको आदेशपछि उनीहरूलाई रिहा गरिएको हो। गैरकानुनी रूपमा इरान गएकाले उनीहरु पक्राउ परेका थिए ।

६. कुलिङ अफ पिरियड

निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्नका लागि गठित संसदीय विशेष समितिको म्याद  सात दिन थपिएको छ । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले समितिको म्याद सात दिन थप्नका लागि गरेको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो ।

७. गाई संरक्षणका लागि परमादेश

सर्वोच्च अदालतले गाईको उचित संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि छुट्टै ऐन निर्माण गर्न संघीय सरकारका नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले राष्ट्रिय जनावर गाईको महत्त्वका बारेमा उपयुक्त पाठ्यक्रम तयार गरी सबै तहका शैक्षिक कार्यक्रममा राख्ने व्यवस्था मिलाउन पनि परमादेश जारी गरेको छ ।

८. नाउपा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समिति बैठक बोलाउन २० नेताले अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।

शुक्रबार नाउपाका पदाधिकारी तथा केन्द्रीय कमिटीका २० सदस्यको उपस्थितमा बसेको बैठकले पार्टी विधानको दफा ४१ को उपदफा ६ अनुसार बैठक बोलाउन अल्टिमेटम दिएको हो ।

९.  साम्पाङको व्यङ्ग्य

पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई नेकपा एमालेले सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्।

१० अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा छानबिन तथा अनुसन्धानबाट २९ हजार ७०३ उजुरी फस्र्यौट गरेको छ । यस्तै सो अवधिमा अख्तियारले विशेष अदालतमा १३७ वटा मुद्दा दायर गरेको छ ।

११. कांग्रेस बैठक

पाली कांग्रेसको पदाधिकारी–पूर्वपदाधिकारी बैठकमा मन्त्री फेरबदल गर्ने विषय उठ्दै उठेन ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको बैठकमा मन्त्री फेरबदलबारे कुरा नउठेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

१२.  माओवादी

नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारीहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।  ७ महिनाअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  केन्द्रीय समिति बैठकमा पदाधिकारीहरूको सम्पत्ति सार्वजनिक गर्ने प्रस्ताव पेस गरेकामा बैठकले अनुमोदन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप