बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

आठ राजमार्ग पूर्ण अवरुद्ध, पाँच स्थानमा एकतर्फी सञ्चालन

सोमबार, १२ साउन २०८२, १० : ५१
सोमबार, १२ साउन २०८२

सारांश

  • मनसुन सक्रिय भएसँगै बाढीपहिरोका कारण देशका ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
  • बागमती, कोशी र कर्णाली प्रदेशका राजमार्ग बढी प्रभावित छन्, रसुवाको पुल बाढीले बगायो।
  • सिन्धुपाल्चोक, नुवाकोट, रुकुम पश्चिम, हुम्ला र संखुवासभामा पहिरोका कारण सडक अवरुद्ध छन्।

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् । 

नेपाल प्रहरीले सोमबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

बागमती प्रदेशमा मात्रै ४ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल र चीन नाका जोड्ने पुल नै बगाउँदा यातायात पूर्ण ठप्प छ । रसुवाको पासाङ ल्हामु सडक खण्ड पहिरोले अवरुद्ध बनेको छ ।

यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग बन्द छ भने नुवाकोटको शिवपुरी–४ चालिसेस्थित मध्य–पहाडी लोकमार्ग पनि पहिरोले अवरुद्ध छ । 

कर्णाली प्रदेशका तीन महत्त्वपूर्ण सडक पूर्ण रूपमा बन्द भएका छन् । रुकुम पश्चिमको आठबिसकोटमा बाढीका कारण जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध छ । त्यसैगरी, हुम्लाको सिमकोटमा पहिरोले कर्णाली करिडोर र जाजरकोटको छेडागाडमा पहिरोले मध्य–पहाडी राजमार्ग अवरुद्ध बनाएको छ ।

कोशी प्रदेशमा संखुवासभाको भोटखोला–८ बरुणमा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यी सडकमा एकतर्फी सञ्चालन

काठमाडौँ–नुवाकोट सडक खण्ड टोखा नगरपालिका–२ मा एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बानपा–१० दब्ल्याङ र नवलपरासी (पूर्व)को गैँडाकोट–३ तरङखोलामा एकतर्फी सञ्चालनमा छ ।

बेनी–जोमसोम सडकअन्तर्गत मुस्ताङको थासाङ–४ घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी छ ।

सहिद राजमार्गअन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिम र धामाचौरमा पहिरो खस्दा सडक एकतर्फी बनेको छ ।

525294351_738011992198044_100667327531796609_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप