शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

माओवादी कमजोर हुनुमा दोषी को ?

बिहीबार, १५ साउन २०८२, ०६ : ००
बिहीबार, १५ साउन २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच बढ्दै गएको अन्तरविरोध स्थायी रूपमा हल हुन नसक्दा नेता-कार्यकर्तामा अन्योल देखिएको छ । शर्माले पार्टीभित्र जनवाद हराएको र केन्द्रीयता मात्र बाँचेको आरोप लगाएपछि अध्यक्ष प्रचण्ड चिढिएका छन् । 

अन्य पार्टीको तुलनामा माओवादीभित्र उच्चतम जनवादको प्रयोग भएको दाबी गर्दै प्रचण्डले पूर्व नेताहरू मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, रामबहादुर थापा लगायत नेताहरूलाई पार्टी कारबाही नगरिएको प्रष्टीकरण सार्वजनिक रुपमै दिए ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४७ औं स्मृति दिवसको अवसरमा यी दुई शीर्ष नेताबिचको झगडाले अहिले सामाजिक सञ्जाल तातिएको छ । नेता तथा कार्यकर्ताहरू एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका छन् । माओवादीभित्र पछिल्लो समय देखिएको घरझगडा वैचारिक, सैद्धान्तिक हो वा व्यक्तिगत तथा गुटगत स्वार्थमा आधारित हो भन्नेमा नेताहरूले आ–आफ्नै तर्क गरेका छन् ।

उपमहासचिव शर्माले विगत दुई वर्षदेखि माथिल्लो तहबाट नै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गरी कार्यकर्ता र जनतालाई भ्रम छरिएकोप्रति सचेत रहन आग्रह गरेका छन् । पछिल्लो केन्द्रीय समिति बैठकको एजेण्डा आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने भएकाले विचार केन्द्रित बहस गर्न समेत आग्रह गरेका छन् ।

‘यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै हो’, मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु ।’

अर्का उपमहासचिव वर्षमान पुनले पार्टीभित्र जनवादको उपयोग गरी पर्याप्त छलफल भएको जिकिर गर्दै बाहिर गएर नेतृत्वलाई कमजोर बनाउने वा खुइल्याउने प्रवृत्ति स्वीकार्य नहुने बताइसकेका छन् ।

पर्याप्त जनवाद, छलफल पनि गर्ने अनि आफ्नो कुरा फेरि बाहिर पनि राख्ने भन्दा यसले पार्टीभित्र अराजकता ल्याउँछ । यसले पार्टीभित्र अनावश्यक गुटबन्दीहरू, ध्रुवीकरणहरू, पार्टी रूपान्तरण हुने दिशामा जान्छ । नेतृत्वलाई जस्तोसुकै राम्रो काम गर्दा, जनतामा जाँदा, जनताले स्वीकार गर्दा पनि व्यक्तिगत आरोप, लाञ्छना जस्तो लिडरसिपलाई कमजोर गर्ने जस्ता जो प्रवृत्ति छ, त्यो स्वीकार्य हुँदैन’, पार्टीको आधिकारिक भिडियो मार्फत उनले भनेका छन् ।

अर्का उपमहासचिव हरिबोल गजुरेलले पछिल्लो समय मुख्यतः भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाउँदा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको यथार्थलाई बिर्सन नमिल्ने विचार राखेका छन् । जसको जे हो त्यही भन्नुपर्छ,  ‘गु र गोबर’ एकै ठाउँमा मिसाउन नमिल्ने उनको तर्क छ ।

‘केही दिन यता सार्वजनिक मञ्चबाट ‘मनमोहन बाहेक सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्ट हुन्’ भन्ने अभिव्यक्ति निरन्तर आइरहेको छ । युवाहरूको ‘ताली’ पाएपछि झन् हौसिएर चर्को भाषण पनि चलिरहेकै छ’, रातोपाटीमा उनले लेखेका छन्, ‘कर्मको आधारमा होइन, पिंढी र उमेरको हवाला दिएर सही गलत छुट्ट्याउने कोसिस गरिँदैछ । सामाजिक खपतका लागि जे भनेर भ्रम पार्न सकिन्छ त्यही भनिंदैछ । निराशाको व्यापार गरेर आफूलाई अब्बल साबित गर्न खोजिंदै छ । तर यो चल्नेवाला छैन ।’

माओवादीका सचिव राम कार्की नेपालका कम्युनिस्ट पार्टीमा स्वाभाविक रूपमा केन्द्रीयता नभई जनवाद प्रमुख हुने बताउँछन् । अग्रदस्ता पनि अब लुम्पेनहरू, अर्धसर्वहाराहरू कम्युनिस्ट पार्टीमा खुब अगाडि आएको उनले विश्लेषण गरे । यसलाई सुधार गरी समाजको विलक्षण पढे–लेखेका, तेजतराज व्यक्ति पार्टीमा आउनुपर्ने धारणा राख्छन् । कार्कीले नेपालमा कहिल्यै पनि संगठनात्मक सिद्धान्तको बारेमा छलफल नभएको जिकिर गरे ।

‘सबैले जनवादी केन्द्रीयता भन्ने । अझ कस्तोसम्म स्थिति आयो भने म केन्द्रमा हाबी हुँदा केन्द्रीयता ठीक  किनकि, म क्रान्तिकारी हुँ । म अल्पमतमा परेँ भने जनवाद प्रधान हुन्छ । किनकि म क्रान्तिकारी हुँ । म अल्पमतमा हुँदा विद्रोह गर्नु पनि अधिकार हो । त्यहाँ जनवाद प्रमुख हुन्छ । कदाचित् म केन्द्रमा छु भने केन्द्रीयता प्रधान हुन्छ भन्ने खालको भयो नेपालमा’, कार्कीको विश्लेषण छ ।

तर राजनीतिक विश्लेषक डम्बर खतिवडा प्रचण्ड र प्रभाकरको झगडा खास महत्वको विषय नभएको बताउँछन् । ४० वर्षदेखि शासन गरिराखेका प्रचण्डसँग महाधिवेशन मार्फत दोस्रो व्यक्तिले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने शर्माको माग जायज भएको उनी बताउँछन् । 

‘प्रचण्ड ४० वर्षदेखि शासन गरिराखेका छन् । महाविधेशन गरेर उसले नेतृत्व छाड्नुपर्छ । अर्को मान्छेलाई पनि अध्यक्ष उठ्ने अवसर दिनुपर्छ भन्ने हदसम्म जनार्दनको कुरा ठीक हो । माओवादीले आठौं महाधिवेशन भनेपनि त्यहाँ चुनाव भएन । प्रचण्डले खल्तीबाट नै नाम निकालेर पढेको हो । अहिले २१ औं शताब्दीको आधुनिक लोकतन्त्रमा त्यस्तो महाविधेशनलाई लोकतान्त्रिक महाधिवेशन मान्न सकिँदैन’, उनले भने ।

कम्तीमा एमाले, कांग्रेस र अन्य पार्टीको महाधिवेशन हुने गरेको भन्दै खतिवडाले माओवादीको पछिल्लो महाधिवेशन त्यो पनि भएको जिकिर गरे । यद्यपि, भोलि शर्मा निर्वाचनबाट अध्यक्ष जितेर आएको खण्डमा प्रचण्डले भन्दा के फरक काम गर्छन् भन्नेमा ‘प्रोजेक्सन’ नदेखिएको उनको भनाइ छ ।

जहाँसम्म माओवादीभित्र जनवादको पर्याप्त अभ्यास भएको प्रचण्डको दाबीलाई खतिवडाले समर्थन गरेका छन् । विगतमा किरण, बाबुराम र बादलमाथि कारबाही भएको नभई आ–आफ्नै हिसाबले निस्किएको खतिवडा बताउँछन् । 

‘प्रचण्डले कसैलाई पनि निकालेको जस्तो मलाई लाग्दैन । बाबुरामले माओवादी पार्टी नै छोड्नुभयो । विचार र कम्युनिस्ट आन्दोलन नै छोड्नुभयो भनेपछि त्यो भिन्नै सन्दर्भ भयो । मोहन वैद्य क्लासिकल कम्युनिस्ट हो । नयाँ जनवादी गणतन्त्र र जनयुद्ध चाहिएको थियो । प्रचण्ड शान्ति वार्ता र संसदीय प्रणालीमा आएपछि उहाँको पनि बाटो फरक भयो’, उनी भन्छन्, ‘विप्लवले त प्रचण्ड र बाबुरामले महापतन गरे, म युद्ध गरेर देखाउँछु भनेर अलिअलि मान्छे पनि मराउनुभयो । नसकेर फर्किनुभयो । त्यसैले माओवादी आन्दोलनको चरित्र बडो विचित्रको छ । त्यसकारण माओवादी आफैँमा विचार र दर्शनको हिसाबले ‘कन्फ्युज्ड’ पार्टी जस्तो लाग्छ ।’

तर  एजेण्डाको हिसाबले माओवादी आन्दोलनले नेपाललाई फाइदै भएको उनको विश्लेषण छ । कम्तीमा पनि गणतन्त्र, संघीयता, समावेशिता, समाजको आधुनिकीकरण, दलित, गरिब, अल्पसंख्यक, महिलालाई सशक्तिकरण गर्न माओवादीले राम्रै गरेको खतिवडाको भनाइ छ । विचारको हिसाबले माओवादी कहिल्यै ठीक नभएको भन्दै उनले ‘प्राक्टिकल प्रग्माटिजम’ जस्तो लाग्ने उनको तर्क छ । 

प्राध्यापक कृष्ण पोखरेल माओवादीमा देखिएको अन्तरविरोध वैचारिक र सैद्धान्तिकभन्दा पनि अवसरवादको लडाईं भएको टिप्पणी गर्छन् । यद्यपि प्रचण्डले कुनै पनि नेतालाई स्पष्टीकरण सोधेर हटाएको आफूलाई थाहा नभएको उनी बताउँछन् । 

‘माओवादीमा स्पष्टीकरण सोधेर निष्कासन गरेको मलाई थाहा छैन । मोहन वैद्य, बाबुराम, बादललाई पार्टीले कारबाही गरेको भन्दा पनि आफैं निस्केका हुन्,’ उनी भन्छन्, ‘आन्तरिक जनवाद पार्टीभित्र कत्तिको छ, त्यो थाहा छैन । तर माओवादीमा पछिल्लो समय देखिएको मतभेद वैचारिक वा सैद्धान्तिक भन्दा पनि अवसरवादको लडाईं जस्तो मलाई लाग्छ ।’ 

२०५२ सालदेखि अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु भएको १० वर्षे सशस्त्र विद्रोहले नेपालमा गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र स्थापना गर्न मद्दत गर्‍यो । तर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि आगामी पार्टीको आगामी कार्यदिशा कस्तो हुने भन्नेमा तीन लाइन संघर्ष (प्रचण्ड, किरण र बाबुराम) चर्किंदा २०६९ साल असारमा पार्टी नै विभाजन भयो । 

२०६२ साल मंसिरमा सात तत्कालीन संसदवादी दलसँग भएको १२ बुँदे सम्झौताको जगमा भएको २०६२/६३ को जनआन्दोलनले माओवादीले प्रधान शत्रु ठानेको सामन्ती निरंकुश राजतन्त्र त ढल्यो । तर परम्परागत व्यवस्था ढलेर बनेको लोकतान्त्रिक गणतन्त्रमा पार्टीको भावी कार्यदिशा कस्तो हुने भन्नेमा जनयुद्धका मुख्य नेता प्रचण्ड, किरण, बाबुरामबिच तीन लाइन संघर्ष चर्कियो ।

खासगरी बाबुरामले यसलाई अढाई लाइन संघर्ष भन्ने गरेका छन् । उनले प्रचण्डको ‘ढुलमुले’ र ‘मौका परस्त’ चरित्रको स्पष्ट चित्रण गरेको प्रष्ट बुझ्न सकिन्छ । किरणले नेतृत्वमा देखिएको दक्षिणपन्थी अवसरवादका कारण जनगणतन्त्र स्थापना हुन नसकेको आरोप लगाउँदै आएका छन् । २०६९ साल जेठ १४ गते संविधान नै नदिई पहिलो संविधानसभा विघटन भयो । किरणले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे । बाबुराम पार्टी मात्र होइन, कम्युनिस्ट आन्दोलनबाट नै अलग भए । बादल लगायत नेताहरू एमालेमा विलय भए । त्यसयता माओवादीले हरेक निर्वाचनमा धक्का खाँदै आएको छ ।

२०६४ सालमा प्रत्यक्षमा १२० सिट जितेको माओवादी २०७९ सालमा १८ सिटमा खुम्चिनुमा प्रचण्ड नै मुख्य दोषी भएको नेताहरूले आरोप लगाउँदै आएका छन् । कहिले कांग्रेस, कहिले एमालेको समर्थनमा सत्ता स्वार्थमा लिप्त हुँदा पार्टीले आफ्ना वर्ग समुहदाय भुलेकाले माओवादी आन्दोलन अवसानको बाटोमा गएको पार्टीभित्र तथा बाहिर विश्लेषण भइरहेको छ । 

गत वर्ष असार ३१ गते माओवादी सत्ताबाट हटेपछि पार्टी रुपान्तरण, सुदृढीकरण र ध्रुवीकरणको विषयमा झण्डै तीन महिना बहस र छलफल गरेर पुस २३ गते केन्द्रीय समिति बैठक सम्पन्न गरेको थियो । सोही बैठकले पूर्वपश्चिम हुलाकी र मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सकेर विशेष महाधिवेशनको तयारी गर्ने निर्णय गरेको थियो । केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयन नभएको शर्माले नेतृत्वमाथि लगातार दबाब दिइरहेका छन् । प्रचण्ड र शर्माबिच पछिल्लो समय देखिएको मतभेदबारे शुक्रबारबाट सुरु हुने स्थायी समिति बैठकमा छलफल हुने उपमहासचिव गजुरेल बताउँछन् । 

माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टी कमजोर हुनुमा मुख्य दोषी प्रचण्ड नै भएको पूर्व नेता डा. बाबुराम भट्टराईको आरोप छ । डा. भट्टराईले माओवादी कहाँ चुक्यो भनेर तीन बुँदामा विश्लेषण गरेका छन् ।

‘शान्तिप्रक्रियामा आइसकेपछि पनि मुख्य नेतृत्वमा रहेका प्रचण्डको पटक-पटकको ढुलमुले र मौकापरस्त अडान र नीतिले गर्दा आन्दोलनमा सम्भावित थप उपलब्धि हासिल गर्न हामी चुक्यौं’, केही दिनअघि माओवादी आन्दोलनबारे भट्टराईको लेखले प्रष्ट पारेको छ ।

पहिलो, २०६४ साउनमा सम्पन्न बालाजु भेलामा प्रचण्डले ‘मुखमा संविधानसभाको निर्वाचन, मनमा सशस्त्र विद्रोह’को दोधारे कुराले पार्टीमा तलसम्म गहिरो विभाजन ल्यायो, जनतामा समेत भ्रम छर्‍यो र पार्टीलाई पछिसम्म अपूरणीय क्षति पुर्‍याएको विश्लेषण थियो ।

दोस्रो, २०६७ मंसिरमा गोरखा पालुङटारमा भएको विस्तारित बैठकमा बाबुराम पक्षको संविधान बनाउने, किरण पक्षको विद्रोहको तयारी गर्ने र प्रचण्ड पक्षको पर्ख र हेर भन्ने अढाई लाइनको संघर्षमा पार्टीले कुनै निर्णय  गर्न नसकेको दृष्टान्त छ । त्यसको एक महिनापछि २०६७ पुसमा काठमाडौँमा भएको केन्द्रीय समितिको बैठकमा ‘किरणसँग एकता प्रधान, बाबुरामसँग संघर्ष प्रधान’ भन्ने प्रचण्डको अर्को नीतिका कारण अन्तरद्वन्द्व बढेको स्पष्ट बुझ्न सकिन्छ । 

२०६८ वैशाखतिर सिन्धुपाल्चोक सुकुटेमा भएको बैठकमा प्रचण्ड संविधान निर्माण गरेर अघि बढ्ने आफ्नो लाइनमा आएपछि बल्ल संविधान निर्माणको बाटो खुलेको भट्टराईको निष्कर्ष थियो । यद्यपि, त्यतिबेलासम्म परिस्थिति निकै प्रतिकूल भइसकेको उनले बताएका थिए । 

तेस्रो, २०६९ जेठ २ गते कांग्रेस, एमालेसहितको सहभागितामा संविधानका बाँकी सबै प्रमुख असहमतिका बुँदामा सहमति कायम भएको उनको दाबी थियो । फ्रान्सेली मोडेलको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र संसदबाट अनुमोदित प्रधानमन्त्री, पहिचानसहितको ११ प्रदेशको संघीयता, संवैधानिक अदालत आदि विषयमा पार्टीभित्रबाट समेत विरोध भएर अन्ततः भाँडिनु ठूलो गल्ती मात्र नभएर अपराधै भएको भट्टराई बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप