कांग्रेस-एमालेदेखि राप्रपासम्म : प्रमुख दलहरूभित्र चर्कियो अन्तरविरोध
काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूमा अन्तरविरोध चर्किएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय राजनीतिमा फर्किएको घोषणाले सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेमा मच्चिएको रडाको सितिमिति मत्थर हुने छाँट देखिएको छैन ।
सात वर्ष राष्ट्रपति बनेकी भण्डारीले असार १४ गते एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर आफू एमालेमा जोडिएको घोषणा गरेकी थिइन् । यद्यपि, उनले सदस्यता पहिल्यै नवीकरण गरेको जानकारी दिएकी थिइन् ।
तर साउन ६ गते एमालेको सम्पन्न केन्द्रीय समिति बैठकले भण्डारीको सदस्यता खारेज गरेपछि आन्तरिक विवाद चर्किएको छ । बैठकको निर्णयप्रति असहमति जनाउँदै उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी समिति सदस्य कर्णबहादुर थापाले ‘नोट आफ डिसेन्ट’ लेखेका छन् ।
देशको सम्मानित पदमा पुगेको व्यक्ति पुनः पार्टी राजनीतिमा फर्किंदा त्यसले गणतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने निष्कर्ष बैठकले निकालेको थियो । यही निष्कर्षका आधारमा सक्रिय राजनीतिमा फर्किने भण्डारीको चाहना चकनाचुर भएको छ ।

एमालेको ११ औं महाधिवेशनमा आफूलाई नै चुनौती दिनेगरी उनी सक्रिय राजनीतिमा फर्किएपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली असन्तुष्ट छन् । सदस्यता नवीकरण भएको लामो समयसम्म मौन बसेका ओलीले भण्डारीको सदस्यता नवीकरण खारेज मात्र गरेका छैनन्, तेस्रो कार्यकाल अध्यक्ष बन्न बाधा देखिएको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था नै खारेज गराएका छन् ।
बैठकको निर्णय आगामी भदौमा हुने विधान महाधिवेशनले अनुमोदन गरेमा ओली झन् शक्तिशाली बन्ने देखिन्छन् । एमालेले २०८३ मंसिरमा महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता छ । आफ्नो प्रतिस्पर्धीको रुपमा देखेका भण्डारीसँग ओली कुनै हालतमा पनि सम्झौता गर्ने पक्षमा देखिएका छैनन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलबाट नै भण्डारीप्रति ओली निर्मम बनेको प्रष्ट झल्किन्छ ।
‘अरुले उचाल्दा उहाँ उचालिनुभयो र बहकिनुभयो । यसरी उचालिँदा र बहकिँदा उहाँको आफ्नै पनि अपमान हुन्छ, पार्टीलाई पनि क्षति हुन्छ ।’
यता भण्डारीले बैठकको निर्णयलाई चुनौती दिँदै आफ्नो सदस्यता नवीकरण कसैले खारेज गर्न नसक्ने दाबी गरेकी छिन् । साउन ९ गते पत्रकार सम्मेलन गरी उनले आफूलाई मदनले नै सदस्यता दिएकाले सीमित व्यक्तिले खारेज गर्न नसक्ने उनको तर्क थियो ।
‘म एमालेको पार्टी जीवनमा पुनः जोडिएँ । म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन । पार्टीकै जिम्मेवारी लिएर गएको हो । फर्किएपछि विधिअनुसार नै सदस्यता नवीकरण गरेको हुँ । अहिले कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छ जस्तो लाग्दैन,’ उनले चुनौती दिँदै भनेकी थिइन् ।
पार्टीभित्र ओली र भण्डारीबीचको विवादले एमालेको आगामी महाधिवेशन तथा मिसन-८४ लाई प्रभाव पार्ने देखिन्छ ।
एमाले मात्रै होइन, सत्ताको मुख्य घटक नेपाली कांग्रेसभित्र आगामी १५ औं महाधिवेशनलाई लिएर गुट फेरबदलदेखि कित्ताकाटसम्म भएका छन् । ओली सरकारको भूमिकालाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । नेता आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वको केन्द्रीय अनुशासन समितिले असार २६ गते डा. शेखर कोइराला पक्षका १८ जनालाई कारबाही गरेको थियो । तर कारबाही अवैधानिक र प्रतिशोधपूर्ण भएको कोइराला पक्षले आरोप लगाएको छ ।
२०७९ सालमा भएको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा अन्तरघात गरेको आरोपमा नेताहरूलाई झण्डै तीन वर्षपछि कारबाही गरेको थियो । कारबाहीबाट असन्तुष्ट भएका कोइरालाले नेतृत्वमाथि दबाब दिन प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डदेखि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्मलाई भेटेका थिए ।
राजनीतिक स्थायित्व, संविधान संशोधन, आर्थिक समृद्धिका लागि कांग्रेस र एमाले मिल्नुपर्ने सुझाव दिएका उनी एक वर्ष सरकारको कार्यसम्पादनप्रति असन्तुष्ट छन् । सरकार पूरै एमालेकरण भएको आरोप लगाउँदै कोइरालाले गठबन्धन फेर्नुपर्ने बताउन थालेका छन् ।

बागमती प्रदेशमा बहादुर लामा नेतृत्वको सरकार हटाउन कांग्रेसका इन्द्र बानियाँ समूहले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद झनै झाँगिएको छ । कांग्रेसको १५ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा हट्ने भएपछि उत्तराधिकारी बन्नका लागि कोइराला समूह, गगन-विश्वप्रकाश समूह, कृष्णप्रसाद सिटौला समूह र प्रकाशमान सिंह समूहको सक्रियता बढ्दै गएको छ । कांग्रेसको विधानअनुसार आगामी मंसिरमा महाधिवेशन हुनुपर्ने थियो, तर एक वर्ष थप्न पाउने भएकाले महाधिवेशन अर्को वर्ष धकेलिएको छ ।
सत्ताघटक मात्रै होइन, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रमा पनि अन्तरविरोध बढेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरविरोध सार्वजनिक रुपमै छताछुल्ल भएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल स्मृति दिवसको अवसरमा साउन ६ र ७ गते भएको छुट्टाछुट्टै कार्यक्रममा शीर्ष नेताहरू एकअर्काबीच आरोप-प्रत्यारोपमा उत्रिएका थिए ।

उपमहासचिव शर्माले कम्युनिस्ट पार्टीमा जनवाद नभएको र केन्द्रीयता मात्रै बाँचेको आरोप लगाएका थिए । त्यसको प्रतिवाद गर्दै अध्यक्ष प्रचण्डले जनवादको नाममा पार्टीभित्र सिँगौरी खेल्न दिएकाले के हो जनवाद भनेर प्रतिप्रश्न गरेका थिए । शान्ति प्रक्रियामा आएपछि माओवादी लगातार ओरालो यात्रामा रहेकाले पार्टी रुपान्तरणसहितको पुनगर्ठन आवश्यक भएको भन्दै शर्माले पार्टी निर्माण प्रस्ताव पेस गरेका छन् ।
पार्टी नेतृत्वलाई विधि, पद्धतिबाट चलाउन सबै समितिमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने प्रस्ताव गरेका छन् । तर संस्थापन पक्षले नेतृत्वविरुद्ध शर्माले घेराबन्दी गरेको, पार्टी विभाजन गर्न लागिएको आरोप लगाएको छ ।
यसको असर माओवादीको भातृ संगठनमा समेत परेको छ । यसैगरी पार्टीको अनुमति नलिई पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट गरेकोमा पनि विवाद उत्पन्न भएको छ । अन्तरविरोधको विषयमा यही हप्ता बस्ने स्थायी समिति बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । उपमहासचिव वर्षमान पुनले आन्तरिक जनवादको विषयमा पार्टीभित्र पर्याप्त छलफल गर्ने अवसर दिएको अवस्थामा फेरि नेतृत्वलाई खुइल्याउने हिसाबले बाहिर विरोध गर्नु राम्रो नभएको बताएका छन् ।
‘पार्टीभित्र पर्याप्त जनवाद छलफल गर्ने अनि फेरि आफ्नो कुरा बाहिर पनि राख्ने कुरा राम्रो भएन । यसले पार्टीभित्र अराजकता ल्याउँछ, अनावश्यक गुटबन्दी हुन्छ,’ उनले भने, ‘नेतृत्वले राम्रो गर्दा राम्रो भन्न सक्नुपर्छ । जनताले राम्रो भनिरहेको अवस्थामा नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन,’ उनले भने ।
अर्को वामपन्थी दल नेकपा एकीकृत समाजवादीमा पनि अन्तरविरोध चर्किएको छ । पूर्वप्रधानमन्त्री तथा अध्यक्ष माधव नेपालविरुद्ध पतञ्जली योगपीठको जग्गा घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीमाथि नेतृत्व छाड्न दबाब परेको छ । पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनालले नैतिकताको आधारमा नेतृत्वले राजीनामा दिनुपर्ने बताएका छन् ।

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बदनाम नेतृत्वलाई काँधमा राखेर हिँड्न नसक्ने अभिव्यक्ति दिएपछि पार्टीभित्र तरंग नै ल्यायो ।
गत वर्ष असारमा सम्पन्न १० औं महाधिवेशनमा सहमतिबाट नै नेतृत्व चयन गरेमा पार्टीभित्र चरम निराशा बढ्दै गएको छ । झाँक्रीले पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरेकी छिन् ।
पुरातनपन्थी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संगठन विभाग प्रमुख डा. धवलशमशेर राणालाई पदमुक्त गरेपछि विवाद चर्किएको छ । क्यान्सरको उपचारको क्रममा राणा भारत गएको बेला लिङ्देनले पदमुक्त गरेका थिए । विवाद बढेर पार्टी फुटतर्फ उन्मुख भएको बताइएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्ता स्वार्थका कारण गत वर्ष विभाजित भएको थियो । पार्टी विभाजनसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण