शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भारतद्वारा पाकिस्तानविरुद्ध सेमिफाइनल खेल्न अस्वीकार

बुधबार, १४ साउन २०८२, २० : २५
बुधबार, १४ साउन २०८२

सारांश

  • भारतले पाकिस्तानसँगको तनावपूर्ण सम्बन्धका कारण बर्मिङ्घममा सेमिफाइनल खेल्न अस्वीकार गर्यो।
  • यस निर्णयले पाकिस्तान च्याम्पियन्सलाई फाइनलमा पुर्यायो, जहाँ उनीहरूले अस्ट्रेलिया वा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछन्।
  • भारत र पाकिस्तानबीचको खेल सम्बन्ध जम्मु-कश्मीरको घटनापछि कमजोर बनेको छ, यद्यपि आगामी खेलहरू तय छन्।

बर्मिङ्घम – भारत च्याम्पियन्सले पाकिस्तान च्याम्पियन्सविरुद्धको सेमिफाइनल खेल्न अस्वीकार गरेको छ । 

वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स अन्तर्गतको उक्त खेल बिहीबार बर्मिङ्घममा तय गरिएको थियो, तर पाकिस्तानसँगको पछिल्लो तनावपूर्ण राजनीतिक सम्बन्धका कारण भारतले खेल बहिष्कार गर्ने निर्णय लिएको हो ।

यससँगै पाकिस्तान च्याम्पियन्स फाइनलमा प्रवेश गरेको छ । टोलीले फाइनलमा अस्ट्रेलिया च्याम्पियन्स र दक्षिण अफ्रिका च्याम्पियन्सबिचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

भारत च्याम्पियन्समा युवराज सिंह, सुरेश रैना, हरभजन सिंह, पियुष चावला, युसुफ पठान, रबिन उथप्पा जस्ता पूर्व स्टार खेलाडीहरू सहभागी छन् । उनीहरूले यसअघि जुलाई २० मा तय गरिएको समूह चरणको खेल पनि पाकिस्तान च्याम्पियन्सविरुद्ध खेल्न अस्वीकार गरेका थिए ।

त्यो खेलमा दुवै टोलीले अंक बाँडेका थिए । तर, पाकिस्तान च्याम्पियन्स समूह चरणमा ९ अङ्कसहित शीर्ष स्थानमा रहेकाले सेमिफाइनलमा भारतले नखेलेपछि सिधै फाइनल प्रवेश गरेका हुन् । भारत च्याम्पियन्स समूहमा चौथो स्थानमा ३ अङ्कसहित रहे ।

भारत र पाकिस्तानबिचको खेल सम्बन्ध हाल कमजोर अवस्थामा छ । जम्मु–कश्मीरको पहलगाममा यस वर्षको अप्रिलमा भएको आतंकवादी हमलापछि उत्पन्न सैन्य तनावले दुई देशबिचको खेल सम्बन्धमा असर परेको हो ।

यद्यपि दुवै देशका राष्ट्रिय टोलीबिच अहिलेसम्म खेल भएको छैन, आगामी सेप्टेम्बर १४ मा युएईमा हुने एसिया कपमा भारत र पाकिस्तानबिच भिडन्त हुने तालिका छ । यस्तै, अक्टोबर ६ मा श्रीलङ्काको कोलम्बोमा महिला एकदिवसीय विश्वकप अन्तर्गत दुवै टोलीबिच खेल हुने तय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप