बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखि मन्त्री, राज्यमन्त्रीको शैक्षिक योग्यता कति ?

बिहीबार, १५ साउन २०८२, १४ : ०३
बिहीबार, १५ साउन २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूको शैक्षिक योग्यता सामान्य लेखपढदेखि स्नातकोत्तरसम्म रहेको पाइएको छ।
  • मुख्यमन्त्री कमलबहादुर शाहको शैक्षिक योग्यता डिप्लोमा तह हो, भने आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले एमकमसम्म अध्ययन गरेका छन्।
  • मन्त्रीहरूमा साक्षरदेखि एमएसम्म अध्ययन गरेका व्यक्तिहरू छन्, जसमा विभिन्न दलका नेताहरू समावेश छन्।

धनगढी । सुदूरपश्चिम सरकारमा रहेका मन्त्रीहरू सामान्य साक्षरदेखि स्नातकोत्तरसम्मको शैक्षिक योग्यता भएकासम्म छन् । सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा उपलब्ध विवरण अनुसार प्रदेश सरकारमा सहभागी मन्त्रीहरू सामान्य लेखपढ गर्न जान्नेदेखि लिएर स्नातकोत्तर अध्ययन गरेकासम्म रहेको पाइएको हो ।

सुदूरपश्चिम प्रदेशमा ९ सदस्यीय मन्त्रिपरिषद् छ । मुख्यमन्त्री कमलबहादुर शाहको शैक्षिक योग्यता डिप्लोमा तह हो । नेपाली कांग्रेसको उम्मेदवारका रूपमा उनले प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका हुन् ।

यस्तै कांग्रेसबाटै कञ्चनपुर क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले एमकमसम्म अध्ययन गरेका छन् ।

कैलाली क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य (नेपाली कांग्रेस) तथा आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले कानुन विषयमा स्नातक तहसम्म अध्ययन गरेका छन् ।

यस्तै नेकपा एमालेबाट बैतडी क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालले प्लस टुसम्मको अध्ययन गरेका छन् ।

नेकपा एमालेबाट समानुपातितर्फ निर्वाचित प्रदेश सभा सदस्य एवं भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउँद साक्षरमात्र छिन् ।

यस्तै नेपाली कांग्रेसबाट अछाम क्षेत्र नम्बर १ (१) बाट चुनाव जितेका प्रदेश सभा सदस्य तथा सामाजिक विकासमन्त्री मेघराज खड्काले राजनीतिशास्त्रमा एमएसम्म पढेका छन् ।

सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित भएकी हुन् । उनको शैक्षिक योग्यता एमए हो ।

नेकपा एमालेबाट निर्वाचित कञ्चनपुर क्षेत्र नम्बर १ (१)का प्रदेश सभा सदस्य तथा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिरबहादुर थापाले आईएसम्म अध्ययन गरेका छन् ।

नेकपा एमालेबाटै समानुपातिकतर्फ चुनाव जितेका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले एसएलसीसम्म पढेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप