मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई खुलापत्र

आइतबार, १८ साउन २०८२, १३ : २२
आइतबार, १८ साउन २०८२

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यू,

तपाईंले नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा दुईपटक पुगेर सो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी सम्मानित रूपले सामान्य नागरिक जीवनमा फर्किनुभएको छ । सर्वसाधारण नेपाली नागरिकको तर्फबाट तपाईंलाई हार्दिक धन्यवाद छ ।  

देश र विदेशमा सम्मानित भइसकेको मान्छे हो तपाईं । मैले व्यक्त गर्न लागेको विचारले स्थान पाउन सक्ला–नसक्ला मलाई थाहा छैन । भेटेर कुरा गर्ने पहुँच नभएकाले खुलापत्र मार्फत सर्वसाधारण नागरिकका तर्फबाट केही कुरा पोख्दैछु । 

जुनसुकै देशमा हेर्दा पनि सर्वोच्च पद भनेको राष्ट्रप्रमुख नै हो । महिला वा पुरुष जो भएपनि सबै नागरिक त्यो स्थानमा पुग्न सकेका हुँदैनन् । धैर्यता, लगनशीलता, दक्षता, क्षमता, समयको लगानीसहित तपाईंलाई भाग्यले पूर्णसाथ दियो । फलस्वरूप तपाईं त्यस स्थानमा पुग्न सफल हुनुभयो । 

राजनैतिक र सामाजिक वृत्तमा अहिले बाहिर आएको विषय छ, तपाईं पुनः राजनीतिमा फर्किँदै हुनुहुन्छ रे । जुनबेला तपाईं राष्ट्रपतिमा निर्वाचित हुनुभयो त्यतिबेला पार्टीको विश्वास र जनताको भोट नै तपाईंको पुँजी हो । 

दुई पटकसम्म देश र जनताको साझा व्यक्तित्व भएको मान्छे तपाईं अब एउटा पार्टीको सामान्य कार्यकर्ता बनेर आफ्नो सम्मान र गरिमालाई किन कम गराउने ? समयले सधैँ सफलता मात्र दिन्छ भन्ने पनि छैन । सफलता र असफलता एउटै सिक्काका दुई पाटा हुन् । एकपल्ट पल्टेको पाटो पटप–पटक पल्टिरहन्छ भन्ने निश्चित छैन । 

यतिबेला तपाईंको पुनः राजनीति प्रवेशको विचार र कार्यलाई पार्टी पंक्तिले स्वीकार गरेको भन्ने पनि बुझिएको छैन । त्यसमाथि पार्टीले मरिहत्ते गरेर बोलाए नै पनि राजनीति गरेर अब तपाईं कुन पदमा पुग्नुहुन्छ ? कस्तो आत्मसन्तुष्टि मिल्छ ? 

बाहिरी जगततर्फ हेर्दा मान्छेका चाहना असीमित हुन्छन् । कुन र कस्ता चाहनाले आफ्नो जीवनमा सार्थकता दिन्छ, त्यो छान्ने विवेक आफैंसँग हुनुपर्छ । मनको दौडाइलाई बुद्धिले लगाम कहाँ लगाउने भन्ने कुरा आप्नो चेतनालाई सोध्नु भयो कि सोध्नुभएको छैन ? 

पद, प्रतिष्ठा र इन्द्रिय भोगको लालचाले बाह्य रूपमा सम्बन्ध, प्रतिष्ठा र भित्रभित्रै निद्राको समेत हरण गर्छ । यतिबेला अति सर्वत्र बर्जएत् भन्ने उखानको पनि विश्लेषण गर्दै आफूलाई हेर्ने कि ? पुराना उखान पनि कुनैबेलाका घटनामा जन्मिएर समाजमा स्थापित भएका हुन्छन् ।

दुई पटकसम्म देश र जनताको साझा व्यक्तित्व भएको मान्छे तपाईं अब एउटा पार्टीको सामान्य कार्यकर्ता बनेर आफ्नो सम्मान र गरिमालाई किन कम गराउने ? समयले सधैँ सफलता मात्र दिन्छ भन्ने पनि छैन । सफलता र असफलता एउटै सिक्काका दुई पाटा हुन् । एकपल्ट पल्टेको पाटो पटप–पटक पल्टिरहन्छ भन्ने निश्चित छैन । 

बेलाबेलाका राष्ट्रिय समारोहमा पूर्वराष्ट्रपतिका कुर्सी लहरै राखिनेछन् । त्यस स्थान खाली राखेर  तपाईं दर्शकदीर्घामा किन जाने ? आफूले आर्जेको त्यही सम्माजनक भूमिकामा बस्नु नै उचित देखिन्छ । ‘भुईंको टिप्न खोज्दा पोल्टाको गुम्न जान्छ’ भन्ने उखानलाई पनि विचार गर्ने कि ?

राजनीति नगर्दैमा हातै बाँधेर बस्नुपर्छ भन्न खोजिएको होइन । समाजमा आफूअनुसारका काम पनि प्रशस्त छन् । पहिलो कुरा, अब तपाईंको यात्रा भनेको अध्यात्म र आत्मिक खोजको मार्ग हो जस्तो लाग्छ । समयअनुसार आफूले आफूलाई चिन्नुपर्छ भन्ने कुरा हाम्रा ऋषिमुनिहरुले उसै भनेका पक्कै हैनन् होला । 

बिहान उठ्ने बित्तिकै खिचातानीका समाचारले भरिएका पत्रिका र सन्सनी फैलाउने अन्य सामाजिक सञ्जाल अध्ययन गर्दा मनमा सिकायत र तुलना जन्मिन्छ । यसो गर्नुभन्दा योग, ध्यान, प्राणायाम गरेर शरीर, मन, चेतनालाई ऊर्जावान र प्रज्ञावान बनाउनु पक्कै राम्रो होला । त्यसैले अब तपाईं पनि राजनीतिको मोहमा नफसी सामाजिक र आध्यात्मिक जीवनतिर लाग्दा सरल र सहज होला । 

पछिल्लो अवधिसम्म आइपुग्दा लुप्तप्राय: हुन खोजेको योगको वैदिक ज्ञानलाई केही वर्षयता नेपालबाट नै पुनर्जागरण सुरु भएको छ । त्यसैले हिजोआज हाम्रो देशमा धेरै ध्यान केन्द्र खुलेका छन् । तपाईं जस्तो उच्च व्यक्तित्वको सहयोगमा यसलाई  बृहत्तर रूपमा देश र विदेशमा फैलाउन सके हाम्रो देशको आर्थिक, सामाजिक र आध्यात्मिक पहिचानको स्थिति विश्वभर उजागर  हुनेछ । त्यसकारण सोच्नुहोस्, राजनीतिक क्षेत्रको अभिभावक बन्नुहोस्, सामाजिक र आत्यात्मिक क्षेत्रको अगुवा बन्नुहोस् । 

दोस्रो, अब तपाईंले गर्ने अर्को कार्य हो समाज सेवा । सामाजिक सेवा गर्न पाउने अवसरको उपयोग गर्नुहोस् । हाम्रा शास्त्रहरूले पनि सेवा नै धर्म हो भनेका छन् । आफूले पाउने सरकारी सुविधाको उपयोग गर्दै दीनदुःखीको भरोसा बन्नुहोस् । हार्दिकतापूर्वक नागरिककका घरदैलोमा पुग्नुहोस्, राजनीतिक नेता-कार्यकर्ता बनेर हात जोड्दै भोटका लागि होइन योग, ध्यान र स्वास्थ्यको दूत बनेर । रोगसँग लडेर जीवन जित्नुभयो । पहिला कमाएको साखलाई अब मनसँग लडेर जोगाउनुहोस् । 

(घिमिरे जीवन विज्ञान प्रतिष्ठानकी प्रशिक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप