शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई परराष्ट्रविद्को सुझाव, ‘स्थलमार्गबाट भारत भ्रमणमा जानुस्’

भारतको विकासबाट फाइदा लिनुपर्ने भनाई
आइतबार, १८ साउन २०८२, १७ : ०२
आइतबार, १८ साउन २०८२

सारांश

  • परराष्ट्रविद् डा.शम्भुराम सिम्खडाले नेपाल-भारत सम्बन्ध सुमधुर रहेको र उच्च नेतृत्वमा छलफल हुनुपर्ने बताए।
  • डा. मोहन लोहनीले भारत विकास र प्रविधिमा अगाडि रहेको र नेपालले फाइदा लिन सक्ने कुरा गरे।
  • परराष्ट्रविद् पाण्डेले प्रधानमन्त्री ओलीलाई स्थलमार्गबाट भारत भ्रमण गर्न सुझाव दिएका छन्।

काठमाडौँ । परराष्ट्रविद् एवं कूटनीतिज्ञ डा.शम्भुराम सिम्खडाले नेपाल–भारतबिचको सम्बन्ध सुमधुर र अत्यन्त प्रगाढ रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आइतबार आयोजित नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणबारे साक्षात्कार कार्यक्रममा उनले नेपाल–भारतबिचमा कुनै जटिलता छन् भने पनि उच्च नेतृत्वको बिचमा छलफल भएर टुङ्ग्याउनुपर्ने बताएका हुन् । 

कूटनीतिज्ञ डा. सिम्खडाले नेपाल–भारतबिच अत्यन्त पुरानो, व्यापक, पौराणिक, सभ्यतामा आधारित र भौगोलिक सम्बन्ध रहेको बताए । ‘दुवै पक्षका कूटनीतिज्ञहरूले र राजनीतिज्ञहरूले प्रगाढता र सामीप्यलाई ध्यानमा राखेर कूटनीतिको मूल उद्देश्य भनेको आफ्नो मुलुकलाई अन्य कारणबाट समस्या आउन दिन हुँदैन,’– उनले भने । 

नेपाल र भारतबिचमा सकेसम्म कुनै समस्या सकेसम्म आउन नदिने र कथंकदाचित त्यस्ता समस्याहरू आइहाले भनेदेखि छिटोभन्दा छिटो समस्याको समाधान खोजिनुपर्ने उनको भनाइ छ । 

साथै, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको पनि चर्चा चलिरहेको स्मरण गराउँदै उनले सो भ्रमणमा नयाँ विश्वासको वातावरण निर्माण गरिनुपर्ने बताए । 

Dr. Mohan Lohani

त्यस्तै, परराष्ट्रविद् डा. मोहन लोहनीले छिमेकी मुलुक भारत विकास र प्रविधिमा निकै अगाडि रहेको बताए । ‘भारत अहिले धेरै अगाडि बढिसकेको छ, विकासको क्षेत्रमा, प्रविधिको क्षेत्रमा । भारतको अनुभवबाट मात्रै होइन, भारतले प्रयोग गर्ने प्रविधिबाट पनि नेपालले धेरै फाइदा लिन सक्छ । त्यतापट्टि हाम्रो ध्यान हुनुपर्छ,’– उनले भने । 

परराष्ट्रविद् डा.निश्चलनाथ पाण्डेले नेपाल–भारतको बिचमा बहुआयमिक सम्बन्ध रहेको बताए । उनले नेपाल–भारतको बिचमा  सांस्कृतिक, भाषिक, धार्मिक र वैवाहिक सम्बन्ध रहेको बताएका हुन् । 

Dr. Nischalnath Pandey

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको १० वर्षे नेतृत्वमा भारतले उल्लेखनीय प्रगति गरेको  पनि उनले बताए । यो १० वर्षमा भारतले तीव्र विकास गरेको उनको भनाइ छ । ‘मोदी सरकार आएपछि भारतमा यो १० वर्षमा तीव्र विकास भएको छ,’– उनले भने । 

परराष्ट्रविद् डा.पाण्डेले स्थलमार्गबाट भारत भ्रमणमा जान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । स्थलमार्गबाट भारत भ्रमणमा जान र भारतीय प्रधानमन्त्री मोदीको १० वर्षे नेतृत्वमा त्यहाँ भएका विकासको अवलोकन गर्न उनले आग्रह गरे । 

‘म आग्रह गर्दछु सम्माननीय प्रधानमन्त्रीज्यूसित, नेपाल सरकारसित । यो भ्रमण स्थलमार्गबाट होस् । हवाई मार्गबाट होइन । चाहे भैरहवाबाट होस्, चाहे रक्सौलबाट होस् स्थलमार्गबाट होस् । उहाँले पनि देख्नुहुनेछ, उत्तर प्रदेश, विहारको तीव्र विकास । सडक सञ्जालबाट, रेल सञ्जालबाट विगत १० वर्षमा विकास भएको छ । मोदी सरकार आएपछि १० वर्षमा जुन विकास भएको छ उत्तर भारतमा । त्यो लोभ लाग्दो विकास भएको छ,’– उनले भने । 

Amb. Mohan Krishna Shrestha

पूर्वराजदूत मोहन कृष्ण श्रेष्ठ छिमेकी मुलुक भारतले कनेक्टिभिटीको क्षेत्रमा लोभ लाग्दो प्रगति गरेको बताएका छन् । उनले भारतमा प्रतिघण्टा ३ सय किलोमिटर दौडिने रेलको समेत विकास भइसकेको जिकिर गरे । 

साथै, उनले नेपाल र भारतबिचको सम्बन्ध एकदमै पुरानो भए पनि बेला–बेलामा समस्या आइरहेको बताए । भारतले नेपालजस्तो सानो मुलुकलाई विश्वासमा लिएर अगाडि बढ्न सक्नुपर्ने र आएका समस्याहरूलाई उच्च नेतृत्वबिच वार्ता र मध्यस्थताबाट सल्टाउनुपर्ने उनले बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुँदाखेरि नेपालको तर्फबाट प्रस्ट आफ्ना कुराहरू राखिनुपर्ने उनले बताए । ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भनेर सुनिराखेको छु । नेपालको परिस्थितिमा नयाँ प्रधानमन्त्री आउनुभयो भने सबैभन्दा पहिला जिज्ञासा हुने विषय हो– प्रधानमन्त्रीको भारत भ्रमण कहिले हुन्छ भन्ने कुरा । हामीले सुनेअनुसार उहाँको भ्रमण हुँदैछ । निकै राम्रो कुरा हो । भ्रमण भएपछि टेबल टक्स हुँदाखेरि आफ्नो–आफ्नो कुराहरू राख्न पाउनुपर्छ । गुजुल्टिइरहेका समस्याहरूलाई समाधान गर्ने बाटो त्यही हुन्छ,’– उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप