बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘कुलिङ अफ पिरियड’ छानबिन समितिले प्रतिवेदन बुझाउने

सोमबार, १९ साउन २०८२, १० : ४९
सोमबार, १९ साउन २०८२

सारांश

  • संघीय निजामती सेवा विधेयकको त्रुटि छानबिन गर्न बनेको समितिले सोमबार प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने भएको छ।
  • समितिको म्याद आइतबार सकिएपछि आइतबार रातिसम्म बैठक बसेर प्रतिवेदन तयार पारिएको थियो।
  • विधेयकमा २ वर्षको कुलिङ पिरियडको प्रावधान निष्कृय पार्ने भाषा प्रयोग भएको विषयमा छानबिन गरिएको हो।

 काठमाडौं । संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो प्रतिवेदन बुझाउने भएको छ । समितिका सदस्य एमाले सांसद नारायण आचार्यले आज प्रतिवेदन बुझाउने अन्तिम तयारी आफूहरूले गरिरहेको जानकारी दिए । 

सोमबार बिहानै सात बजेदेखि समिति बैठक सिंहदरबारस्थित समितिको कार्यालयमा बसिरहेको छ । समिति बैठक आइतबार पनि राति १२ बजेसम्मै बैठक बसेको थियो । समितिको म्याद आइतबार सकिएको थियो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने तयारीमा आफूहरू रहेको आचार्यले जानकारी दिए । 

आइतबार समितिमा रहेका सत्तापक्षका सांसदहरूले एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतका नेताहरूसँग छलफल गरेका थिए । 

एमाले संसदीय दलको कार्यालयमा भएको छलफल समितिलाई समय थप आवश्यक रहे/नरहेको विषयमा समेत केन्द्रित रहेको एमाले मुख्य सचेतक बर्तौलाले बताएका थिए । संघीय निजामती सेवा विधेयकमा २ वर्ष कुलिङ पिरियडको प्रावधान राख्नका लागि भएको सहमति निश्कृय हुने भाषा समेत प्रयोग भएको भन्दैण् प्रश्न उठेपछि गत २३ असारमा छानबिनका लागि संसदीय समिति बनेको थियो ।

समितिलाई सुरुमा २१ दिनको समय दिइएकोमा समितिले आग्रह गरेपछि एक साता थपिएको थियो । थपिएको म्याद आइतबार सकिएको छ । 

कांग्रेसका सांसद जीवन परियार सभापति रहेको छानबिन समितिमा कांग्रेसका सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप