शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : अलपत्र सिचाइँ आयोजना

राष्ट्रिय गौरवका सिँचाइ आयोजना : पानी कागजमा, नहर रित्तो

मङ्गलबार, २० साउन २०८२, ११ : ०८
मङ्गलबार, २० साउन २०८२

सारांश

  • बर्दियाका किसानहरूले वामदेव गौतमको चुनावी नारा सुने, तर बबई सिँचाइ अधुरै रह्यो, जसले गर्दा किसानहरूले सिँचाइको अभाव भोग्नुपरेको छ।
  • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरू समयमै सम्पन्न नहुँदा तराई-मधेसका किसानहरूले खडेरीको समस्या भोगिरहेका छन्, जसले गर्दा खेतीपातीमा असर परेको छ।
  • सुनकोशी-मरिन डाइभर्सन आयोजनालगायत अन्य आयोजनाहरूमा निर्माण व्यवसायीको ढिलासुस्ती र नीतिगत अस्पष्टताका कारण किसानहरूले सिँचाइको सपना पूरा हुन सकेको छैन।

काठमाडौँ । ३४ वर्षअघि २०४८ सालको संसदीय निर्वाचनताका बर्दियाका गाउँ–गाउँमा एउटा नारा गुञ्जिन्थ्यो – बबईको पानी, खेत–खेतमा आउँछ, किसानको भाग्य चम्काउँछ’ यो नारा लगाउने नेता थिए, वामदेव गौतम । त्यो नारा अत्यन्तै आकर्षक थियो, लोकप्रिय पनि उत्तिकै ।

नेता गौतमले बबई सिँचाइ आयोजनालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएर चुनाव पनि जिते । किसानहरू उनको भाषणमा रमाए, तर आकाशेपानीकै भरमा खेती गर्न बाध्य भए । 

गौतमको भाषणले हजारौँ किसानमा आशा जगाएको थियो । उनीहरूले सोचे– अब बबई नदीको पानीले सुक्खा खेतलाई सिञ्चित गर्नेछ, अन्नको बाला झुल्नेछ र दुःखका दिन सकिनेछन् । 

चुनावी अभियानमा गौतमको भाषणलाई किसानहरूले तालीको गडगडाहटले गुञ्जयमान बनाएको थियो । दशकौँदेखि सिँचाइको अभावमा बाँझो वा कम उब्जाउ हुने खेतमा बाह्रै महिना पानी आउने सपनाले धेरैलाई उत्साहित बनाएको थियो । 

गौतमले बर्दियामा ०४८ पछि पनि तीन पटकसम्म निर्वाचन जिते । तीनपटक उपप्रधानमन्त्रीसहित गृहमन्त्री पनि भए । तर आयोजना अहिलेसम्म अधुरै छ ।   

अहिले त्यो अवस्थाको ३४ वर्ष बितिसक्यो । गौतम आफैं राजनीतिको उत्तराद्र्ध अवस्थामा पुगिसके । 

तर, विडम्बना ! उनको भाषण सुनेर ताली बजाउने र खेतमा पानी आउने आसमा बसेका बर्दियाका किसानहरू पनि बुढा भइसके । कतिले संसार छाडिसके । 

बबई नदीको पानीले सुक्खा खेत सिञ्चित गर्ने किसानहरूको सपना, सपनामै सीमित भयो । 

यो केवल वामदेव गौतम र बर्दियाका किसानको कथा होइन । यो सिंगो नेपालको हो । जहाँ राष्ट्रिय गौरवका नाममा ठुला सिँचाइ आयोजनाहरू शिलान्यास त हुन्छन्, तर ती वर्षौँसम्म सम्पन्न हुँदैनन् । 

पूर्वजलस्रोत सचिव शीतलबाबु रेग्मी हचुवाको भरमा आयोजनाहरू घोषणा गर्दा राष्ट्रिय गौरवका सिँचाइ आयोजना समयमा सम्पन्न हुन नसकेका बताउँछन् । ‘जबसम्म राजनीतिक इच्छाशक्ति र प्रशासनिक सक्रियताबिच तालमेल हुँदैन, तबसम्म यस्ता आयोजना घोषणामै सीमित रहन्छन् र किसानको जीवनस्तरमा कुनै सुधार आउँदैन ।’

वामदेवको चुनावी नारामा परेको भेरी–बबईको मात्र नभएर लगभग हरेक ठुला आयोजनाको अवस्था उस्तै रहेको उनको दाबी छ । गौरवका आयोजना समेत समयमा सम्पन्न नहुनु प्रणालीमै गहिरो जडता रहेको बुझ्न सकिने उनी तर्क गर्छन् । 

‘हिन्दी फिल्मको संवादजस्तै हम नही सुध्रेंगे (हामी सुध्रिँदैनौं) भन्ने मानसिकतामा अझै छौँ । सुधार गर्छु भन्ने, तर सुधार गर्न नसक्ने वा नचाहने प्रवृत्ति हाबी छ,’ उनी बताउँछन् । 

आयोजनाहरू जनताको आवश्यकताभन्दा पनि नेताको शक्ति र पहुँचका आधारमा छानिने गरेको आरोप पनि उनको छ । पूर्वको नेता शक्तिशाली हुँदा आयोजना पूर्वतिर र मध्यको शक्तिशाली हुँदा मध्यतिर जाने प्रवृत्ति नरोकिएको उनी भन्छन् । 

  • सिँचाइ आयोजनामा अर्बौं लगानी, वर्षौँदेखि अधुरै 

सरकारले देशभर जमिन सिञ्चित गराउन अर्बौं लगानीमा सिँचाइ आयोजनाहरू बढाएको छ । र यिनलाई राष्ट्रिय गौरवका आयोजनामै समावेश गरिएको छ । तर यिनको गति निकै सुस्त छ । 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका १० राष्ट्रिय गौरवका आयोजनामध्ये सात सिँचाइ आयोजना छन् । सातवटै गौरवका आयोजनाको प्रगति सन्तोषजनक छैन ।

देशभर करिब ६२ प्रतिशत भू–भागमा वर्षायाम वा मौसमी सिँचाइ सुविधा पुगेको ऊर्जा मन्त्रालयले दाबी गरे पनि तराई–मधेसका किसान अझै सिँचाइविहीन अवस्थामा छन् । 

ऊर्जा मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा मात्रै १७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भई १५ लाख ८६ हजार ३४० हेक्टर जमिनमा सिँचाइ पुगेको दाबी गरेको छ ।

तर यस वर्ष मनसुनले मधेसलाई धोका दियो । रोपाइँको मुख्य समयमा आकाशबाट पानी नआउँदा मधेसका जिल्लालाई सरकारले सुक्खा क्षेत्र घोषणा नै गरेको छ । 

अन्नको भण्डार मधेसका जिल्लाहरूमा खडेरीले खेतहरू चिरा–चिरा परे । सरकारले आयोजना घोषणा गर्ने तर समयमा सम्पन्न गर्न नसक्दा मधेसका धेरै खेत बाँझै बसे । 

सरकारले राष्ट्रिय गौरव भनेर घोषणा गरेका आयोजना बेलैमा पूरा गरिदिएको भए अहिले तराई–मधेसका फाँट बेग्लै देखिन्थे । र मधेस काकाकुल हुनबाट जोगिन्थ्यो । 

पूर्वजलस्रोत सचिव रेग्मी तराईकेन्द्रित सिँचाइ आयोजना समयमै नबन्नु नै मधेस सुक्खा हुनुको पहिलो कारण देख्छन् । 

‘पानी कहाँबाट आउने भन्ने प्रश्नै थिएन, हाम्रा नदीहरूमा पानीको कमी छैन, विशेषगरी साउन महिनामा त नदीहरूमा बाढी आउने गरी पानी हुन्छ,’ रेग्मी भन्छन् ।  

सरकारले हरेक वर्ष राष्ट्रिय गौरवका सिँचाइ आयोजनामा लगानी गर्छ, तर त्यो लगानीको प्रतिफल कहिले आउँछ टुंगो छैन । उनै पूर्वसचिव रेग्मी थप्छन्, ‘केही आयोजनामा थोरै प्रतिफल आउन थालेको छ । जबसम्म निर्माण भएका संरचनाबाट किसानले लाभ लिन सक्दैनन्, तबसम्म गरिएको खर्चको कुनै अर्थ रहँदैन । यो राज्यको स्रोतको बर्बादी हो ।’

ऊर्जा तथा जलस्रोत मन्त्रालयकी जलस्रोत सचिव सरिता दवाडी पनि राष्ट्रिय गौरवभित्र परेका सबै सिँचाइ आयोजना समयमै बनेको भए मधेसले अहिले खडेरीको मार भोग्नुनपर्ने बताउँछिन् । 

‘सिँचाइका केही आयोजना समयमा बन्न सकेका छैनन्, तर केही आयोजनाले सिँचाइ भइरहेका छन्, कामै नभएको भन्ने होइन, भएको छ,’ उनी बचाउ गर्छिन् । 

राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना पूरा भएको भए मधेसमा खडेरी परे पनि अहिलेको जस्तो समस्या भोग्नुपर्ने अवस्था भने नआउने उनको भनाइ छ । 

साथै निर्माण कम्पनीले सुनकोशी–मरिन आयोजनाको सिँचाइको बाँध बनाउन नसक्दा पनि समयमा निर्माणको काम नसकिएको उनले बताइन् । 

यस आयोजनाबाट मधेसका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्छ । जमिनमा पानी ‘रिचार्ज’समेत हुन्छ । तर तत्काल बन्ने अवस्था छैन । 

२०७७ फागुन २० भएको सम्झौताअनुसार यही भदौभित्र सकिनुपर्ने हो । तर अहिलेसम्म यसको सुरुङ मात्रै बनेको छ । सुरुङ २०८१ वैशाख २६ मा नै उद्घाटन भइसकेको छ । तर बाँध निर्माण तथा हेर्डवक्स बनाउने काम अहिलेसम्म गति लिन सकेको छैन ।  

मधेसका पाँच जिल्लामा सिँचाइ गर्ने उद्देश्यले सुनकोशी किनारमा बाँध निर्माण थालिएको यो आयोजना ३० महिना बित्दा प्रगति १० प्रतिशत मात्र छ । बाँधको ठेक्का पटेल–रमण जेभीले २०७९ पुस १७ मा लिएको थियो । सम्झौताअनुसार कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सक्नुपर्ने थियो । 

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बराल राष्ट्रिय गौरवका आयोजनालाई सधैँ आयोजनामै मात्रै सीमित गर्न नहुने बताउँछन् । सबै आयोजनाको चाँडै प्रतिफल उपभोग गर्न समयमै कार्यसम्पादन पूरा गरेर जाने उनको भनाइ छ । भन्छन्, ‘राष्ट्रिय गौरवका आयोजना निर्धारित समयभित्र सम्पन्न भएमा गरिबी निवारण र आर्थिक समृद्धिमा टेवा मिल्छ । राष्ट्रिय ध्येय पूरा हुन्छ ।’

तराई–मधेसमा सिँचाइ अभावले खेतीयोग्य बाँझो जमिनमा सिँचाइको समस्यालाई ‘द्रुत मार्ग र दीर्घकालीन गरी दुई चरणमा समाधान खोजेर अघि बढ्ने उनको भनाइ छ । 

गौरवका आयोजनामा सबैभन्दा पुरानो बबई सिँचाइ आयोजना निर्माण सुरु भएको ३४ वर्षमा ८२.२७ प्रतिशत भौतिक प्रगति भएको छ । बर्दियामा ३६ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित २०४५/४६ बाट यसलाई बढाइएको थियो । तर राष्ट्रिय गौरवको आयोजनामा भने ०६८/६९ मा मात्र सूचीकृत गरिएको थियो ।

उक्त आयोजनामा पटक–पटक म्याद थप्दै ०८५/८६ सम्म निर्माण सम्पन्न हुने गरी गुरुयोजना संशोधनको तयारी गरिएको महानिर्देशक बराल बताउँछन् । 

सुरुमा आयोजनाको लागत १२ अर्ब ५६ करोड रुपैयाँ अनुमान गरिए पनि ३४ वर्षमा बढेर १८ अर्ब ९६ करोड पुगेकाले अझै संशोधन हुने उनको भनाइ छ । 

‘आर्थिक वर्ष २०७५/७६ लाई आधार मानेर १८ अर्ब भनिए पनि यसको निर्माण सकिने समयसम्म करिब २६ अर्ब रुपैयाँ लाग्ने अवस्था छ,’ उनी भन्छन् ।   

हालसम्म यो आयोजनामा १५ अर्ब ४४ करोड खर्च भएको उनको भनाइ छ । आयोजना सकिएपछि बर्दियाको पूर्वमा २१ हजार र पश्चिममा १५ हजार गरी ३६ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुग्छ । अहिले २८ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याइएको छ । 

बाँकेको ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसाथ सिक्टा सिँचाइ आयोजना सुरु गरेको दुई दशक भइसक्यो । तर प्रगति ४५ प्रतिशत कट्न सकेको छैन । ०६२/६३ मा आयोजना सुरु गर्दा ०७१/७२ भित्र सक्ने भनिएको थियो । पटक–पटक समय थपेर ०८४/८५ सम्म सक्ने पछिल्लो लक्ष्य राखिएको छ ।

  • मधेसमा सिँचाइ

मधेस प्रदेश सरकारका अनुसार मधेसमा ४९ प्रतिशत मात्रै जमिनमा सिँचाइ सुविधा पुगेको छ । मधेस प्रदेशको कुल खेतीयोग्य ५ लाख ४२ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमध्ये ५ लाख २ हजार २ सय २४ हेक्टरमा मात्र खेती हुने गरेको छ । जसमध्ये ३ लाख ६२ हजार ३ सय ४४ हेक्टरमा बर्खे धान र २० हजार ८ सय ३९ हेक्टरमा चैते धान खेती गरिन्छ । 

यो वर्ष समयमा पानी नपर्दा समयमा रोपाइँ हुन पाएन । तर अहिले पानी पर्न थालेसँगै किसानले धान रोपाइँ सुरु गरेका छन् । सिँचाइको अभावमा मधेसमा साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत पनि रोपाइँ नभएकामा पानी परेपछि ६३ प्रतिशत पुगेको मधेस प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । 

सात गौरवका आयोजना : लामो समय किन अल्झिए ?

  • महाकाली सिँचाइ आयोजना

महाकाली सिँचाइ आयोजना कूटनीतिक असफलताको नमुना हो । नेपालले अर्बौं खर्चेर नहर बनायो, तर महाकाली सन्धिअनुसार पाउनुपर्ने पानी भारतले नछोड्दा नहरमा पानी छैन । यसबाहेक ऐलानी जग्गा र मुक्त कमैयाको जग्गाको मुआब्जा विवादले काममा थप अवरोध सिर्जना गरेको सिँचाइ विभागका महानिर्देशक बरालले बताए । सन्धिको पानी कागजमा छ, नहरमा छैन ।

  • रानीजमरा कुलरिया 

रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्यको तुलनामा प्रगति राम्रो छ । ७४ प्रतिशत भौतिक प्रगति भएको छ । 

यहाँ पनि कर्णाली नदीको धार परिवर्तनले संरचनामा जोखिम बढाएको महानिदेशक बराल बताउँछन् । उत्पादित ४.७१ मेगावाट विद्युत्को आम्दानी व्यवस्थापन र नहरको अधिकार क्षेत्रमा भएको अतिक्रमण मुख्य चुनौती रहेको उनले जानकारी दिए । 

  • बबई सिँचाइ 

बबई सिँचाइ आयोजना आयोजना सुरु भएको ३४ वर्षमा ८२ प्रतिशत भौतिक प्रगतिसहित सम्पन्न हुने चरणमा छ । यो आयोजना केही समयमा बन्ने आशा जगाएको छ ।

तर, हेडवक्र्स सञ्चालनका लागि आवश्यक विद्युतीकरणको काम राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दा अन्तर–निकाय समन्वयको अभावले ढिलाइ भएको जलस्रोत सचिव दवाडी बताउँछिन् । 

  • भेरी–बबई डाइभर्सन आयोजना 

भेरी–बबई डाइभर्सन आयोजना टनेल बोरिङ मेसिनको सफल प्रयोगले १२.२ किलोमिटर सुरुङ १९ महिनामै बनेको छ । तर हेडवक्र्स निर्माणको काम निर्माण व्यवसायीको ढिलाइका कारण अलपत्र परेको महानिर्देशक बराल बताउँछन् । सुरुङ बनेर पनि पानी खसाल्न नपाउँदा अर्बौंको लगानी खेर जाने अवस्था रहेको उनले उल्लेख गरे ।

  • सिक्टा सिँचाइ आयोजना

सिक्टा सिँचाइ आयोजना प्राविधिक कमजोरी र विवादको पर्यायवाची बनेको छ । घुलनशील माटोको समस्याले नहर भत्किनु, अदालती प्रक्रियामा मुद्दा अल्झिनु र नदीजन्य पदार्थको अभावले आयोजनाको भौतिक प्रगति ४४ प्रतिशतमा सीमित भएको ऊर्जा मन्त्रालयले जनाएको छ । 

  • सुनकोशी–मरिन डाइभर्सन आयोजना

सुनकोशी–मरिन डाइभर्सन आयोजना मधेसको खडेरी समाधानको अचुक अस्त्र मानिएको छ । सचिव दवाडीका अनुसार तराईको सुक्खाको समस्या समाधान गर्ने बहुउद्देश्यीय आयोजना नै हो । निर्माण व्यवसायीको चरम लापरबाहीले मधेसको सपनामाथि नै कुठाराघात गरेको देखिन्छ ।

  • बुढीगण्डकी जलविद्युत् आयोजना

बुढीगण्डकी जलविद्युत् आयोजना नीतिगत अनिर्णयको बन्दी भएको छ । मुआब्जामा ४३ अर्बभन्दा बढी खर्च भइसक्यो, तर आयोजना कुन लगानी मोडालिटीमा बनाउने भन्ने विषयमा सरकार अझै अस्पष्ट छ । 

महानिर्देशक बरालका अनुसार दुई विकल्पसहित वित्तीय लगानीको ढाँचा र वित्तीय प्रवाह योजना सहमतिका लागि अर्थ मन्त्रालयमा छ । 

कहिलेसम्म पर्खिने किसानले ?

बर्दियाका ती किसानहरू, जसले वामदेव गौतमको भाषणमा ताली बजाएका थिए, उनीहरूको एउटा पुस्ताले आफ्नो जीवनकालमा बबईको पानी खेतमा देख्न पाएन । आज मधेसका किसानहरू पनि त्यही नियति भोगिरहेका छन् । उनीहरूले सुनेका छन्– सुनकोशीको पानी आउँछ रे, तर कहिले ? उनीहरूको धैर्यको बाँध टुट्न थालेको छ ।

जबसम्म राष्ट्रिय गौरवका आयोजनाहरूलाई साँच्चिकै राष्ट्रिय संकल्पका साथ अघि बढाइँदैन, निर्माण व्यवसायीको ढिलासुस्ती र नीतिगत अवरोधहरूलाई कडाइका साथ हटाइँदैन, तबसम्म किसानहरू सपनामै रहनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप