बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन
सारांश
- भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
- मन्त्री दाहालले समयमै काम सुरु गरी गत आवको भन्दा राम्रो नतिजा निकाल्न निर्देशन दिए।
- मन्त्रीले गुणस्तरमा सम्झौता नगरी सडक तथा यातायात अवरुद्ध हुन नदिने गरी काम गर्न निर्देशन दिए।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सडक विभागद्वारा आज यहाँ आयोजित गत आवको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले ‘अहिले के को हतार, विस्तारै गरौँला नि’ भन्ने नसोची बजेट तथा कार्यक्रम तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
आव सुरु हुनुभन्दा डेढ महिनाअघि बजेट सार्वजनिक गर्नुको मर्म पनि आवको सुरुआतसँगै कार्यान्वयन प्रक्रिया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै उनले तत्कालैदेखि काम सुरु गरी उच्च नतिजा निकाल्न निर्देशन दिए ।
‘आवको अन्त्यतिर हतार हतार काम गरेर बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ’, मन्त्री दाहालले भने, ‘बेलामा काम नथाल्ने अनि बित्न लागेपछि हतार गरेर प्रभावकारी परिणाम निस्कँदैन, त्यसैले अहिलेदेखि नै काम अघि बढाउनु होला, गत आवको भन्दा राम्रो नतिजा देखिने गरी काम गर्नुपर्छ ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय तथा सडक विभाग प्रमुख अङ्ग रहेकाले सडक विभागको काम र परिणामले सिङ्गो मन्त्रालयको कार्यसम्पादन र नतिजामा महत्त्वपूर्ण अर्थ राख्ने मन्त्री दाहालको भनाइ थियो । थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न निर्देश दिँदै उनले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिनेमा जोड दिए ।
गुणस्तरमा सम्झौता नगर्नु
कुनै पनि पूर्वाधार निर्माणलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने मन्त्री दाहालले बताए । उनले भने, ‘छिटोको नाममा गुणस्तरहीन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन । समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ ।’
वर्षायाम सुरु भइसकेकाले सडक तथा यातायात अवरुद्ध हुन नदिने गरी स्रोत साधन, जनशक्ति र उपकरण परिचालन गर्न समेत उनको निर्देशन छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले कुनै पनि योजना रुग्ण हुने अवस्था आउन नदिने निर्देशन दिए । रुग्ण आयोजनाको व्यवस्थापन मन्त्रालयको प्राथमिकतामा रहेको स्मरण गराउँदै उनले बाँकी रुग्ण आयोजनाको व्यवस्थापनतर्फ ध्यान दिन आग्रह गरे ।
मन्त्रालयले गत आवमा विगत छ वर्षयताकै उच्च पुँजीगत खर्च गरेको थियो । आव २०८१/८२ मा ६ वर्षयताकै सबैभन्दा बढी ७६ दशमलव ४१ प्रतिशत प्रगति भएको मन्त्रालयले यसअघि जनाइसकेको छ । यस्तै सडक विभागका महानिर्देशक डा.विजय जैसीले नीति कार्यक्रम तथा बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको प्रक्रियामा ढिलाइ नगर्ने बताए ।
वर्षको अन्त्यमा चाप पर्न नदिने गरी तत्कालैदेखि काम सुरु गरी छिटो नतिजा निकाल्ने गरी काम गर्न विभाग क्रियाशील रहेको उनको भनाइ छ । वर्षाको समयमा सकेसम्म सडक अवरुद्ध हुन नदिने र अवरुद्ध भएमा पनि सकेसम्म छिटो खुलाउने गरी संयन्त्र परिचालन भएको सडक विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण