लाउडा विमान भाडा भ्रष्टाचार मुद्दा पूर्ण इजलासमा पेसी, सुनुवाइको पालो आउला ?
सारांश
- लाउडा विमान भाडासम्बन्धी भ्रष्टाचार मुद्दा पूर्ण इजलासमा पेशी तोकिएको छ।
- १८ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको यो मुद्दामा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको छ।
- अख्तियारले दुई अर्ब रुपैयाँ नोक्सान भएको निष्कर्ष निकालेको थियो भने ३८ करोड ९७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ।
काठमाडौँ । लाउडा विमान भाडासम्बन्धी भ्रष्टाचार मुद्दा पूर्ण इजलासमा पेसी तोकिएको छ । सो मुद्दा सर्वोच्च अदालतका न्यायाधीशहरू टेकप्रसाद ढुङ्गाना, बालकृष्ण ढकाल, मेघराज पोखरेलको पूर्ण इजलासमा पेसी चढेको छ ।
पेसी तोकिने, हेर्न नभ्याइने, स्थगितको लामो सूचीमा परेको यो मुद्दाको पेसी आज (बिहीबार) का लागि तोकिएको हो । यो मुद्दा १८ वर्षदेखि पेसी तोकिने र हेर्ने नभ्याउने सूचीमा परेर सर्वोच्चमा अल्झिरहेको छ ।
यो मुद्दा तत्कालीन पुनरावेदनबाट विशेष अदालत हुँदै १३ माघ २०६४ मा सर्वोच्च आइपुगेको हो । २८ साउन २०६४ मा विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्य कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले सबै आरोपीलाई सफाइ दिएको थियो ।
८१ औँ पटक पेसी तोकेपछि यो मुद्दामा ६ वैशाख २०७४ मा फैसला दिन खोज्दा संयुक्त इजलासका दुई न्यायाधीशको राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा गएको हो ।
१७ असोज २०५७ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमले बोइङ विमान भाडामा ल्याउँदा भएको भनिएको भ्रष्टाचार नै लाउडा प्रकरण हो । सोही समयमा चाइना साउथ वेस्ट कम्पनीसँग सम्झौता भइसकेकाले तत्काल आवश्यक नभएको चौथो विमान भाडामा लिन अस्ट्रियाको लाउडा एअरसँग सम्झौता भएको थियो ।
अस्ट्रियाको लाउडा एयरबाट विमान भाडामा ल्याउँदा नेपाल वायुसेवा निगमलाई दुई अर्ब रुपैयाँको नोक्सान गरेको निष्कर्ष निकालिएको थियो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने ३८ करोड ९७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियारले जेठ २०५८ मा तत्कालीन पुनरावेदन अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो ।
२०५९ सालमा विशेष अदालत गठन भएपछि यो मुद्दा विशेषमा सर्यो । यो काण्डमा कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मुछिएका थिए । अख्तियारले निगमका तत्कालीन पर्यटन मन्त्री तारिणीदत्त चटौत र निगमका तत्कालीन कार्यकारी अध्यक्ष हरिभक्त श्रेष्ठसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण