बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

शनिबार, २४ साउन २०८२, ०० : ३७
शनिबार, २४ साउन २०८२

सारांश

  • पर्वतमा रोपेको एक महिना नपुग्दै जेठो बुढो धानमा ब्लाष्ट रोग देखा परेको छ।
  • रोगका कारण पात, डाँठ र जरा सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।
  • कृषि प्राविधिक टोलीले रोग नियन्त्रणका लागि विषादी सिफारिस गरेको छ।

पर्वत ।  रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ । 

यहाँको फलेवास नगरपालिकाका–४ मुडिकुवा, वडा नं ५ खानीगाउँ, वडा नं ६ देवीस्थानलगायतका वडामा जेठो बुढो धानमा सो रोग फैलिएको हो । ब्लाष्ट रोगका कारण  पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ । गाँज राख्ने र सप्रिने बेलामा धान बालीमा समस्या देखिएपछि कृषक चिन्तित बनेका छन् । धान बालीमा आकस्मिक रूपमा रोग देखिएको फलेवास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिए। 

सयौँ रोपनी खेतमा ब्लाष्ट रोग देखिएपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बागलुङका प्राविधिकसहितको टोलीले स्थलगत अनुसन्धान सुरु गरेको छ । गत वर्ष गुबो कुहिने र ढुसी किराको प्रकोपले क्षति व्यहोरेका कृषकले यस वर्ष पुनः ब्लाष्ट रोगको सामना गर्नुपरेको छ । 

हाल फलेवासका तीन वटा वडामा बढी मात्रामा सङ्क्रमण देखिएको भए पनि अन्य वडाहरूमा समेत देखिन थालेको सञ्जालका अध्यक्ष भुसालले बताए । उनले कृषि प्राविधिकसँग समन्वय गरेर सो रोगको निदानका लागि पहल भइरहेको बताए। अन्य जातको धानमा भन्दा जेठो बुढोमा बढी सङ्क्रमण देखिएको छ । 

स्थलगत रूपमा पुगेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्राविधिक टोलीले राइस ब्लाष्ट र ‘ट्राइसिक्लाजोल’ नामको विषादी सिफारिस गरेका छन् । कार्यालयका प्राविधिक ललित सुनारले धान बालीमा देखिएको समस्याको निदानका लागि दुई वटा विषादी सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार एक ग्राम विषादी एक ग्राम पानीमा घोलेर छर्किएपछि एक सातामै सुधार आउने बताए । 

गत वर्ष पनि यो रोगले सामान्य क्षति भएको थियो । कृषकहरूलाई विषादी निःशुल्क उपलब्ध गराइएको छ । कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी सोविता सुवेदीले बर्खे बालीमा आउने समस्या समाधानका लागि स्थानीयतहको कृषि शाखाका साथै ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबिच समन्वय र सहकार्य भइरहेको जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप