सेवाग्राही खोज्दै नार्पाभूमि झर्यो सहरतिर, काठमाडौँ र पोखरामा घुम्ती शिविर
सारांश
- मनाङको नार्पाभूमि गाउँपालिकाका बासिन्दा रोजगारी र अन्य अवसरको खोजीमा सहरतिर बसाइँ सरेका छन्।
- सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि पालिकाले काठमाडौं र पोखरामा घुम्ती सेवा सञ्चालन गरेको छ।
- ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सहज बनाउन घरघरमै पुगेर बायोमेट्रिक दर्ता गरिँदैछ।
पोखरा । नेपालकै सबैभन्दा कम ४ सय ९६ जना मात्रै जनसङ्ख्या रहेको मनाङको नार्पाभूमि गाउँपालिकाबाट रोजगारी र अन्य अवसरको खोजीमा बसाइसराइ हुने क्रम तीव्र छ। अधिकांश बासिन्दा काठमाडौँ र पोखरा जस्ता सहरहरूमा बसाइँ सरेका छन् । औपचारिक रूपमा बसाइसराइको दर्ता नगरेका कारण उनीहरू सरकारी सेवा–सुविधाका लागि पालिकामै पुग्नुपर्छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि लाभग्राहीको बायोमेट्रिक (जैविक विवरण) अनिवार्य गरेपछि शहरमा रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य लाभग्राहीहरूलाई ठुलो समस्या परेको छ ।
हिमालपारिको जिल्ला मनाङको जिल्ला सदरमुकाम चामेबाट दुई दिनको कठिन पैदल यात्रापछि मात्र पुगिने नार्पा भूमिमा पालिकामै पुगेर परिचयपत्र नवीकरण गर्न नागरिकका लागि सहज छैन ।
त्यसैले गाउँपालिका परिवार नै सेवाग्राही खोज्दै सहर झरेको छ । पालिकाले आफ्ना नागरिक भएकै ठाउँमा पुगेर सेवा दिने अभियान चलाएको हो । गाउँपालिकाका अध्यक्ष, वडाका जनप्रतिनिधि र कर्मचारीहरूको टोली काठमाडौँ र पोखरामा बसोबास गर्ने आफ्ना सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरिदिन शहर झरेको छ ।
नागरिककै सहजताका लागि सहरमा पुगेर घुम्ती सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताए । ‘धेरैजसो ज्येष्ठ नागरिक र अपाङ्गता भएका सेवाग्राहीहरू काठमाडौँ र पोखरामा हुनुहुन्छ । उहाँहरूलाई यति लामो र कठिन बाटो हिँडाएर गाउँपालिकाको कार्यालयसम्म ल्याउन व्यावहारिक रूपमा सम्भव थिएन,’ उनले भने, ‘त्यसैले नागरिकको समस्यालाई सम्बोधन गर्न हामी आफैँ कर्मचारीसहित प्रमुख सहरहरूबाट सेवा दिन थालेका हौं ।’

गाउँपालिकाको टोलीले काठमाडौँको स्वयम्भू क्षेत्र र आसपासमा बसोबास गर्ने आफ्ना नागरिकलाई सम्पर्क गरी घर–घरमा पुगेर र निश्चित स्थानमा भेला गराएर बायोमेट्रिक दर्तासहित परिचयपत्र नवीकरण गरिरहेको छ । आगामी भदौ मसान्तभित्र यो काम सक्नुपर्ने चटारोका बिच वडा सचिव र सम्बन्धित शाखाका कर्मचारीहरू यस कार्यमा खटिएका लामाले बताए ।
काठमाडौँमा सकेपछि सोही टोली पोखरामा खटिने छन् । ‘धेरै जना छुट्नुभयो भने पोखरामा पनि शिविर राख्छौँ । अहिले अभियान काठमाडौँमा चलिरहेको छ,’ सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख वीरेन्द्रसिंह बोहरा भन्छन्, ‘पोखरामा १५ जनजाति लाभग्राही हुनुहुन्छ भन्ने अनुमान हो ।’ उनका अनुसार काठमाडौँमा हालसम्म ३० जना लाभग्राहीको नवीकरण भैसकेको छ ।

पालिकाभरी १ सय ५ जनाले सामाजिक सुरक्षा भत्ताको सुविधा लिँदै आएका छन् । ‘बसेकै ठाउँमा पालिका आइपुग्दा सबै खुसी हुनुहुन्छ,’ अध्यक्ष लामाले थपे, ‘हाम्रो रहर भन्दा पनि नागरिक प्रतिको दायित्व र बाध्यता हो ।’ पालिकाबाट बसाइसराइ रोक्न नसकेपछि सहरमै झरेर सेवा दिनुपर्ने अवस्था बनेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण