वृन्दावन : प्रेम र भक्तिको अलौकिक धरोहर
प्रेम, भक्ति र समर्पणको पराकाष्ठा हो वृन्दावन । भौतिक पक्षको सीमा नाघेर आत्मिक प्रेमको अनन्त यात्रामा प्रवेश गर्ने यो पवित्र भूमि हो । संसारभरिका प्रेमीको धार्मिक स्थल, प्रेम र भक्ति एकाकार भएको अनुपम भावनात्मक धरोहर पनि हो । यो भूमिको कणकणमा कृष्ण र राधाको शाश्वत प्रेमको कथा छरिएको हुन्छ । यहाँको हावामा पुष्प–सुगन्ध, धूपदीपको वासना र मुरलीको सुमधुर तुमुल ध्वनि–तरङ्ग प्रवाहित भइरहेको हुन्छ । यहाँको रहेक श्वासको प्रवाहमा प्रेमको निर्मल, निश्चल वासना पनि मिसिएको अनुभव हुन्छ ।
अमर प्रेमको स्मारक मानिने ताजमहलको भौतिक सुन्दरताको वैभव हेरेर मथुरा–वृन्दावनको पावन भूमिमा पाइला राख्दा, मैले यो ठाउँ कहिल्यै शान्त र सुनसान देखिनँ । सधैँ भजनकीर्तन, नाचगान र तीर्थयात्रीको घुइँचोले भरिभराउ । दिउँसो उस्तै चहलपहल, राति झन् बत्तीको झिलिमिली प्रकाशले अनौठो चमक–धमकको सौन्दर्यमय छटा वृन्दावनभरि छताछुल्ल देखेर आध्यात्मिक अनुरागमा ‘कृष्ण, कृष्ण, राधा, राधा, हरे राम, हरे कृष्ण !’ स्वरलहरीमा तरङ्गित भइरहेको देख्न पाएँ । एकछिन शान्त र सुस्त नरहने यस्तो वातावरणले सुरुमा केही झर्को पनि लाग्यो ।
बिस्तारै बानी पर्न थालेपछि मेरा कानमै मिठो स्वर बनेर गुञ्जिन थाल्यो– ‘श्यामा आन बसो वृन्दावन में ।’ यो भजन विशेषगरी कृष्णप्रति राधाको प्रेम र वृन्दावनमा बस्ने चाहनालाई देखाउँछ । त्यस्तै ‘राधे तेरे चरणों की धुल जो मिल जाए’ले राधाको चरणको धुलोलाई भक्तहरूले कति महत्त्व दिन्छन् र त्यसको कामना गर्छन् भन्ने भाव व्यक्त गरिएको हुन्छ । ‘सांवली सूरत पे मोहन दिल दीवाना हो गया’ले कृष्णको सुन्दर रूप देखेर राधा र भक्तहरूको मन कसरी मोहित हुन्छ भन्ने वर्णन गर्छ । त्यस्तै ‘मित्ठे रस से भरयो राधा रानी लागे’ यो भजनले राधा रानीको सौन्दर्य र माधुर्यको प्रशंसा गर्छ ।
यस्ता गीति भावभङ्गीमा नझुम्ने कोही हुँदैनन् । सबैलाई नशा लागिरहेझैँ लाग्छ । नाच्ने, गाउने यावत् गतिविधि रातको शून्यतालाई तोडेर मध्य दिनको उज्यालो जत्तिकै चकमधमक हुन्छ । भव्य मन्दिर, कलाकौशलले उस्तै सुन्दर मूर्ति, ढोकातोरण, खम्बा जति हेर पनि अघाइँदैन ।
वृन्दावनमा सबैभन्दा बढी राधा र कृष्णको प्रेम र भक्तिको महिमा गर्ने भजनहरू बज्छन् । यहाँका मन्दिर र गल्लीहरूमा सधैँ यस्तै भजनहरू सुन्न पाइन्छ । यस्तै भनजकीर्तनमा मस्त मनहरू यताउता चहलपहलमा हराइरहेका देखिन्थे । जता हे¥यो त्यतै मानिसको चहलपहल । मानिसकै आवतजावत । मानिसकै आवाजले कसैको आवाज बुझिँदैन, सुनिन्छ मात्र । बाजा र नाच उत्तिकै । तर जब मैले ती मानिसका आँखामा देखेँ, मैले बुझेँ कि उनीहरू मजस्तै घुमन्ते यात्रु मात्र होइनन् । उनीहरू त कृष्ण प्रेममा डुबेका भक्तहरू रहेछन् । त्यसका लागि यो भूमि जीवनको अन्तिम गन्तव्य हो ।
वृन्दावन, कान्हाको लीला भूमि हो । यहाँका गल्लीमा उड्ने धुलोमा पनि कृष्णलीलाका मिठो लय घोलिएका हुन्छन् । हरेक कुनामा, हरेक गल्लीमा कृष्ण र उनका सखाहरूका कथाहरू बाँचिरहेका छन् । कतै भजनमा झुमिरहेका भजनमण्डली हुन्छन् । तिनका स्वरहरूले वातावरणलाई प्रेममय बनाएका हुन्छन् । यमुना नदीको किनारमा, पानीसँगै प्रेमको एक अविरल प्रवाह बगिरहेको हुन्छ । त्यसले कृष्ण र राधाको प्रेमको गहिराइलाई दर्शाउँछ ।
गोकुलका चौतारीहरूमा कृष्ण र उनका सखाहरूको निर्भीक मित्रताको साक्षी बनेर उभिएका छन् । वर–पीपलका छायामा गोपिनीहरूको अव्यक्त वेदना छचल्किएको महसुस हुन्छ । यसले कृष्णको अनुपस्थितिको गहिरो पीडा बोकेको हुन्छ । अनि कुञ्ज गल्लीहरूमा राधाकृष्णको अप्रतिम आत्मीयता झल्किएको देख्दा लाग्छ, प्रेमको वास्तविक परिभाषा यही हो । यहाँको प्रत्येक ढुङ्गा, प्रत्येक रुख, प्रत्येक गल्लीले प्रेमको अलग–अलग अध्याय बताउँछन् । वृन्दावन शान्तिमा होइन, प्रेमको कोलाहलमा जीवन्त छ । यो ठाउँ प्रेमले भरिएको एक जिउँदोजाग्दो, चखिलो, स्वादिलो भावनाको सागर हो ।
वृन्दावन, जहाँको हावामा मयूरका प्वाँखहरूले फटफटाइरहेका गुञ्जनमा एक प्रकारको दिव्य संगीत सुनिन्छ । त्यहाँ धूपको सुगन्धले वातावरणलाई सुगन्धमय बनाउँछ । दीपबत्तीको उज्यालोले रातको अँध्यारोलाई पनि झलमल्ल बनाइदिन्छ । राति पनि जागै रहने मानिसको आस्था र समर्पणले यो भूमि सधैँ जागृत अवस्थामा रहेको भान हुन्छ । यो जागरण, यो साधना, यो पूजापाठको आस्था–आराधना साँच्चै प्रेरणादायी लाग्छ । यस्तो पवित्र धर्मभूमिमा पाइला टेक्दा मनमा एक किसिमको शान्ति र आनन्दको अनुभूति हुनु स्वाभाविक हो ।
वृन्दावन भन्छ, ‘प्रेम भनेकै समर्पण हो, त्याग होइन ।’ यहाँ त्याग भनेको केही गुमाउनु होइन, बरु आफूलाई पूर्ण रूपमा समर्पित गर्नु हो, जहाँ स्वार्थको कुनै स्थान हुँदैन ।
परन्तु यस्तो दिव्य धाममा अव्यवस्थापनले यात्रीलाई अप्ठेरोमा पार्छन् । वाक्क दिक्कलाग्दो लम्बेतान भक्तजनको लाइन । हातमा लिएको फूलप्रसाद जोगाउनुको हम्मेहम्मे । कसैको त कच्याककुचुक, कतै भुइँमै खसेर बेहाल बिजोगै हुन्छ । अब फेरि कहाँ किन्न जानु ?! फेरि त्यो व्यापारीले ठग्ला भन्ने त्राहिमाम । ‘ठगदेखि दैव पनि डराउँछन्’ भन्ने तत्त्व ज्ञान यहीँ मिल्छ ।
केही न केही नयाँ अनुभव बटुल्न मजस्तो घुमन्ते यस्तो ठाउँमा पुग्छन् । तीर्थयात्री त धर्म कमाउन, आफ्नो भाकल पूरा गर्न जस्तोसुकै कष्ट पनि सहेर धाउँछन् । तथापि मैले यस यात्रामा प्रेम बुझेँ, जीवन बुझेँ, मान्छेको स्वभाव, संस्कार, चरित्र सबै–सबै बुझ्ने अवसर पाएँ ।
वास्तवमा यस्तो ठाउँमा ‘धर्मभिरु’ मात्रै जाँदैनन् रहेछ । वा भनौँ आस्तिकहरू मात्र होइन नास्तिक पनि पुग्छन् । लाग्छ, वृन्दावनका अधिकांश व्यापारी ठुला पसल खोलेर बस्नेदेखि फुटपाथमा पसल थाप्ने समेत यात्रीलाई सताउनुसम्म सताउँछन् । कायलै पार्छन् फेरि फर्केर वृन्दावनको आनन्दमा रमाउँ भन्ने मन पनि मरेर जान्छ । तैपनि मान्छे ओइरिरहेकै छन् ।
यसरी यो पवित्रस्थलको आवरणभित्र लुकेको यस्तो यथार्थ देखेर मनमा कुरीकुरी लाग्छ । एकातर्फ धर्म र आस्थाको कुरा हुन्छ । त्यहीँ अर्कोतर्फ लोभलालच, ठग्ने, लुट्ने र हेप्ने प्रवृत्ति पनि देखिन्छ । भक्तजनका लागि व्यवस्थित सुविधाको कमी, पुजारी र व्यापारीको छुद्र व्यवहारले तीर्थयात्रीहरू हैरान हुनु स्वाभाविकै हो । धर्मको नाममा चलिरहेको ‘कमाउ धन्दा’ को खेलले यस पवित्र भूमिमा पनि सांसारिक दुःख र आध्यात्मिक सुखबिचको भिन्नता छुट्याउन गाह्रो हुन्छ ।
मथुरा–वृन्दावनमा एक्लै घुम्दै गर्दा मैले मानिस प्रेमको संसारमा हराइरहेको देखेँ । आफैँलाई बिर्सिएर राधाकृष्णको भजनभावमा मस्त जीवन कतै अलौकिक संसारमा पुगिरहेको थियो । तर त्यहाँका स्थानीय बासिन्दाहरूको व्यवहार र बोलीमा भने त्यो प्रेमको आभा भेटिएन । यसले मनमा प्रश्न जन्माउँछ– के त्यहाँ प्रेम पैसाको लागि मात्र हो वा सेवाको लागि ? के त्यहाँको आनन्द सांसारिक दुःखबाट मुक्तिका लागि हो वा आध्यात्मिक सुखका लागि ?
राधा–कृष्णको प्रेमले हामीलाई प्रेमको गहिरो अर्थ सिकाउँछ । दुई आत्माहरूको मिलन मात्र होइन प्रेम अस्तित्वको विलय पनि हो । राधाको कृष्णप्रतिको समर्पण प्रेमिकाको मात्र नभई एक भक्तको पनि हो । उनको साधना, समर्पण र आराधनाले साँचो प्रेम कुनै भौतिक सीमामा बाँधिएको हुँदैन भन्ने स्वतः दर्शाउँछ । कृष्ण वृन्दावन छाडेर जाँदा पनि राधा त्यहीँ अडिग रहन्छिन् । किनभने उनको प्रेम कुनै निश्चित भौगोलिक परिधिमा होइन, कृष्णको मन र मुटुमा अनन्त रूपमा विराजमान थियो । साँचो प्रेमले दूरी र समयलाई जित्न सक्छ भन्ने शाश्वत प्रमाण त्यहाँ देखिन्थ्यो ।
वृन्दावनको पवित्र र त्यहाँको यथार्थबिचको यो द्वन्द्वले हामीलाई जीवनको गहिरो सत्यतिर डो¥याउँछ । साँचो धर्म र प्रेम मनको शुद्धपनमा निर्भर गर्छ । कुनै पनि किसिमको बाह्य कर्मकाण्ड र भौतिक लोभमा नफसी । यहाँनिर प्रश्न आउँछ, के हामी हाम्रो मनभित्रको वृन्दावनलाई पनि यस्तै पवित्र राख्न सक्छौँ ?
प्रेममा समर्पणको सर्वोच्च अनुभूति वृन्दावनमा प्राप्त हुन्छ । वृन्दावनको पवित्र भूमि पुग्ने हरेक कृष्णभक्त प्रेमीले आफ्ना सांसारिक सीमाहरू तोडेर आत्मीय भावको गहिराइमा डुबुल्की लगाउँछन् । कुनै साधारण पथिकलाई प्रेमको परिभाषा खोज्दै जाँदा लाग्न सक्छ, ‘के प्रेम त्याग हो ?’ तर वृन्दावनको माटोले प्रेमको यस्तो परिभाषा दिन्छ, जसलाई सांसारिक मानदण्डले बुझ्न सक्दैन ।
वृन्दावन भन्छ, ‘प्रेम भनेकै समर्पण हो, त्याग होइन ।’ यहाँ त्याग भनेको केही गुमाउनु होइन, बरु आफूलाई पूर्ण रूपमा समर्पित गर्नु हो, जहाँ स्वार्थको कुनै स्थान हुँदैन ।
वृन्दावनका गोपिनीहरूको अधीरपन वियोगको विम्ब मात्र होइन, त्यो त प्रेमको चरम अवस्था हो । यो त्यो अवस्था हो जहाँ आफ्नो अस्तित्व नै प्रिय व्यक्तिका नाममा विलीन भइरहेको हुन्छ । राधाको जीवन यसैको ज्वलन्त उदाहरण हो । उनले कृष्णलाई कहिल्यै आफ्नो बनाउन वा बाँध्न खोजिनन् । उनलाई थाहा थियो कि कृष्ण सबैका हुन् । बरु उनले आफूलाई नै कृष्णको नाममा समर्पित गरिन् र उनको नाममा बाँचिन् । प्रेमको यही नै अन्तिम सीमा हो ।
यस किसिमको प्रेममा प्रिय व्यक्तिको भौतिक उपस्थिति वा अनुपस्थिति गौण रहन्छ । किनकि प्रेम शरीरसँग होइन, आत्मासँग हुन्छ । प्रेमको शुद्ध अनुभूति यति शक्तिशाली हुन्छ कि प्रियको सम्झना मात्रैले पनि सम्पूर्ण जीवनलाई सार्थक बनाइदिन्छ । राधाको प्रेमले हामीलाई सिकाउँछ कि सच्चा प्रेम भनेको पाउनुमा होइन, पूर्ण रूपमा आफूलाई समर्पित गर्नुमा छ । यसले प्रेमको सर्वोच्च स्वरूप नै स्वार्थहीन समर्पण हो भन्ने कुरा सिकाउँछ ।
राधा–कृष्णको प्रेम र वृन्दावनको आध्यात्मिक महत्त्व गहिरो रूपमा रहेको छ । वास्तवमा प्रेमको शाश्वत अनुभूति नै वृन्दावनको आध्यात्मिक पक्ष हो ।
प्रेमको परिभाषा भौतिक सम्बन्धमा मात्र सीमित हुँदैन । यसको गहिराइ आत्मिक मिलन र शाश्वत समर्पणमा लुकेको हुन्छ । वृन्दावनमा कृष्ण र राधाको अमर प्रेमको गाथा गुन्जिन्छ । यो कुनै सामान्य स्थान होइन । बरु प्रेमको उच्चतम रूपको अनुभूति गर्ने यो एउटा पवित्र भूमि हो । यहाँ पुग्ने कृष्णभक्तप्रेमीहरू आफ्ना सबै सांसारिक सीमा र बन्धनहरूलाई तोडेर एक आत्मीय भावमा लीन हुन्छन् । त्यहाँ भौतिक अस्तित्वको कुनै महत्त्व रहँदैन ।
वृन्दावन, कान्हाको लीला भूमि हो । यहाँका गल्लीमा उड्ने धुलोमा पनि कृष्णलीलाका मिठो लय घोलिएका हुन्छन् । हरेक कुनामा, हरेक गल्लीमा कृष्ण र उनका सखाहरूका कथाहरू बाँचिरहेका छन् ।
कुनै पथिकलाई लाग्न सक्छ, प्रेम भनेको त्याग हो । वृन्दावनले सिकाउँछ, प्रेम भनेको समर्पण हो त्याग होइन । त्यागमा एक प्रकारको विवशता हुन्छ तर समर्पणमा पूर्णता र आनन्दको अनुभूति हुन्छ । राधा र कृष्णको प्रेमलाई सांसारिक आँखाले बुझ्न सकिँदैन । यो शारीरिक आकर्षणभन्दा धेरै माथि, एक आध्यात्मिक अनुभूति हो । यस्तो प्रेममा सबै चाहना समाप्त भएर शुद्ध प्रेम मात्र बाँकी रहेको हुन्छ ।
वृन्दावनको गुञ्जन अर्को प्रेमको सुमधुर राग–अनुराग हो । त्यहाँका गल्लीहरूमा माधुर्य धुन बज्छ । यमुना किनारमा बाँसुरीको स्वर गुञ्जिन्छ । यी सबैले कृष्णको अलौकिक प्रेमको सन्देश प्रवाह गर्छ । कान्हा–कन्हैयाको बोली र व्यवहारमा भाव–सौन्दर्यका सागर उर्लिन्छ । त्यसले तीर्थयात्रीको मनलाई प्रेमको असीम गहिराइमा पु¥याउँछ । कुनाकन्दरा, लताकुञ्जमा सुनिने प्रेमको अनौठो नादले गोपिनीहरूको अधीरपनलाई वियोगको विम्बको रूपमा मात्र नभई प्रेमको चरम अवस्थाको रूपमा प्रस्तुत गर्छ । यस अवस्थामा, आफ्नो अस्तित्व नै प्रिय व्यक्तिको नाममा विलीन भइरहेको हुन्छ ।
वृन्दावनको यस भूमिले प्रेमको वास्तविक अर्थ पाउनुमा होइन आफूलाई पूर्ण रूपमा समर्पित गर्नुमा छ भन्ने बोध गराउँछ ।
मथुराको धार्मिक महत्त्व कृष्णको जन्मस्थानका कारण छ । मथुराको यमुना नदीको किनारमा भएका घाटहरू पनि धार्मिक दृष्टिले महत्त्वपूर्ण छन् । त्यस्तै वृन्दावन कृष्णको बाल्यकाल र युवावस्थाको क्रीडास्थल हो । यसको अर्थ नै ‘तुलसीको वन’ हो । यहाँ कृष्णले अनेकौँ लीला गरेको र राधा तथा गोपीहरूसँग रासलीला खेलेको थियो ।
अद्यापि वृन्दावनका प्रत्येक कुनाकन्दरालाई कृष्णको लीलाहरूसँग जोडेर हेरिन्छ । यहाँ हजारौँ प्रसिद्ध मन्दिर छन् । भक्तहरू वृन्दावनलाई कृष्णको साक्षात् वासस्थान मान्छन् र यहाँको वातावरणमा कृष्णको उपस्थिति महसुस गर्छन् ।
यी चारवटैको महत्त्व एक–अर्कासँग जोडिएको छ । कृष्णको कथाले मथुरा र वृन्दावनलाई पवित्र स्थानको रूपमा स्थापित ग¥यो । राधाको प्रेमले कृष्ण भक्तिलाई एउटा नयाँ आयाम दियो । आज पनि लाखौँ भक्त यी स्थानको दर्शन गरेर कृष्ण र राधाप्रतिको आफ्नो आस्था र भक्ति प्रकट गरिरहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण