मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राष्ट्रिय गौरवको आयोजना

बबई सिँचाइ आयोजनाको ३४ वर्ष : १५ अर्ब खर्च, सम्पन्न हुने अझै छैन टुङ्गो

सोमबार, २६ साउन २०८२, १५ : ००
सोमबार, २६ साउन २०८२

सारांश

  • बबई सिँचाइ आयोजना ३४ वर्ष पुरानो भएर पनि अझै सम्पन्न हुन सकेको छैन, हालसम्म ८२% भौतिक प्रगति भएको छ।
  • आयोजनाको लागत सुरुको अनुमानभन्दा ९ गुणा बढेर १८ अर्ब ९६ करोड पुगेको छ र विद्युतीकरणमा समस्या छ।
  • सरकारले आगामी दुई वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ, जसले बर्दियामा कृषि विकास र खाद्य सुरक्षामा टेवा पुग्ने अपेक्षा छ।

काठमाडौँ । बर्दियाका किसानको खेतमा बाह्रै महिना पानी पुर्‍याएर कृषिमा क्रान्ति ल्याउने गरी बबई सिँचाइ आयोजना अघि बढाएको ३४ वर्ष पुगेको छ । यद्यपि यो आयोजना सम्पन्न हुने टुङ्गो छैन ।

उक्त आयोजना आर्थिक वर्ष २०४५/०४६ मा निर्माण सुरु भएको थियो । सो आयोजनालाई सरकारले आर्थिक वर्ष २०६८/०६९ मा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर प्राथमिकतामा राख्यो । 

सरकारले पटक–पटक म्याद थप्दै आर्थिक वर्ष २०८४/०८५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । सुरुमा करिब २ अर्ब ५६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत ९ गुणासम्म बढेर अहिले १८ अर्ब ९६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७५/७६ लाई आधार मानेर १८ अर्ब ९६ करोड ३० लाख लागत अनुमान गरिए पनि यसको निर्माण सकिने समयसम्म अझै बढ्ने अवस्था रहेको सिँचाइ विभागका महानिर्देशक मित्र बरालले बताए । उनले १८ अर्बको लागतलाई पनि संशोधन गर्ने तयारीमा विभाग रहेको जानकारी दिए ।  

महानिर्देशक बरालले केही दिन अघि संसदीय समितिमा आयोजनाको भौतिक प्रगति ८२ प्रतिशतभन्दा बढी रहेको बताए । हालसम्म आयोजनामा १५ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको उनको भनाइ छ ।  

आयोजना कहिले पूर्ण रूपमा सम्पन्न हुन्छ भन्ने प्रश्न अझै अनिश्चित छ । हेडवर्क्स सञ्चालनका लागि आवश्यक विद्युतीकरणको काम राष्ट्रिय निकुञ्जको प्रक्रियागत उल्झनमा फस्दा आयोजना तत्काल सम्पन्न हुन सक्ने अवस्था देखिएको छैन । 

image002

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकी जलस्रोत सचिव सरिता दवाडीले बर्दियाको कृषि विकासका लागि उक्त आयोजना निकै महत्त्वपूर्ण भएको बताइन् । उनले भनिन्, ‘आयोजनाको पूर्वी नहर प्रणालीको निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ, जसबाट करिब २१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।’

सचिव दवाडीले बर्दियाको ३६ हजार हेक्टर कृषियोग्य जमिनमा दिगो सिँचाइ सुविधा पुर्‍याइ कृषि उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने सरकारको लक्ष्य रहेको बताइन् । उनले आयोजना समयमा सम्पन्न भएमा बर्दिया जिल्लामा खाद्य सुरक्षा र आर्थिक समृद्धिमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको दाबी गरिन् । 

वित्तीय प्रगति ८१.५८ प्रतिशत

आयोजना निर्माण सुरु भएको ३४ वर्षमा वित्तीय प्रगति ८१.५८ प्रतिशतमात्रै भएको छ । त्यस्तै, कुल भौतिक प्रगति ८२.२७ प्रतिशतमात्रै छ । 

अझै १८ प्रतिशतभन्दा बढी निर्माणको काम बाँकी छ । आयोजनाको कार्यान्वयन प्रगति विवरण अनुसार, हेडवर्क्स (३१५ मिटर लामो) र साइफन (५५१ मिटर लामो) निर्माण कार्य सम्पन्न भइसकेको छ । 

पूर्वी मूल नहर (३४.५ कि.मि.) को निर्माण कार्य पनि सकिएको महानिर्देशक बरालले बताए । तर, पश्चिमी मूल नहरतर्फ ४१.८ किमिमध्ये ३९.६ किमिमात्र निर्माण भएको छ भने शाखा/प्रशाखा नहरतर्फ ३९३.१३ किमिको लक्ष्यमा ३२१.५ किमिमात्र काम सकिएको छ । 

महानिर्देशक बरालका अनुसार मूल संरचना तयार भए पनि खेतका गरा–गरासम्म पानी पुर्‍याउने महत्त्वपूर्ण सञ्जाल अझै अधुरो छ । उनले २७ हजार ३३० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिसकेको दाबी गरे । आयोजनाको प्रगतिलाई सकारात्मक रूपमा लिँदै उनले यसका धेरै चुनौती रहेको प्रस्ट पारे ।

उनले भने, ‘बबई सिँचाइ आयोजना करिब ८२ प्रतिशत भौतिक प्रगतिसहित सम्पन्न हुने चरणमा छ, जसले आशाको किरण छरेको छ । यसको पछाडि वर्षौंसम्म न्यून बजेट विनियोजनले पारेको असर लुकेको छ ।’

बजेटको उतारचढाव र लागत वृद्धि

आयोजनाको ३४ वर्षे इतिहास बजेट विनियोजनको उतारचढावले भरिएको छ । आर्थिक वर्ष २०७०/७१ अघिका वर्षहरूमा अत्यन्तै न्यून बजेट विनियोजन भएको थियो, जसले गर्दा प्रगति सुस्त रह्यो । 

आर्थिक वर्ष २०७१/७२ पछि बजेटमा उल्लेख्य वृद्धि भएसँगै आयोजनाले गति लिएको महानिर्देशक बरालले बताए । सुरुवाती ढिलासुस्ती र न्यून बजेटका कारण आयोजनाको समय र लागत दुवै बढ्न पुगेको उनको भनाइ छ । 

image006

सुरुमा जम्मा २ अर्ब ५६ करोड ३३ लाखमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको संशोधित लागत अहिले १८ अर्ब ९६ करोड ३० लाख पुगेको छ । यो लागत वृद्धि करिब ७.४ गुणाले बढी हो । 

आयोजनाको समस्यासम्बन्धी विवरणमा समेत विगतमा खरिद गुरुयोजनाअनुसार बजेट नआउँदा आयोजनाको अवधि र लागत बढेको स्पष्ट उल्लेख छ । 

आयोजनाको प्रक्षेपणअनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि १९८.९४ करोड र आर्थिक वर्ष २०८३/०८४ का लागि १९६.५१ करोड रुपैयाँ आवश्यक पर्ने छ ।

मुख्य चुनौतीः विद्युतीकरण र अन्तर–निकाय समन्वय

आयोजना सम्पन्न हुने चरणमा पुग्दा सबैभन्दा ठुलो र जटिल समस्याको रूपमा हेडवर्क्सको विद्युतीकरण देखिएको छ । हेडवर्क्स सञ्चालन गर्न आवश्यक बिजुलीका लागि प्रसारण लाइन बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रभित्रबाट लैजानुपर्ने हुन्छ । यसका लागि वन तथा वातावरण मन्त्रालयको स्वीकृति अनिवार्य छ । 

तर प्रक्रियागत ढिलाइका कारण काम अहिलेसम्म अघि बढ्न सकेको महानिर्देशक बराले बताए । उनले यो समस्या समाधानका लागि सैनिकबारबाट हेडवर्क्ससम्म करिब ४ किलोमिटर भूमिगत लाइन बिछ्याउने प्रस्ताव अघि सारिएको बताए । 

image008

महानिर्देशक बरालले भने, ‘हाल आयोजनाको हेडवक्र्स सञ्चालनका लागि आवश्यक विद्युतीकरणको काम राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दा प्रक्रियागत ढिलाइ भएको छ । 

दुई वर्षभित्र आयोजना सम्पन्न गर्न सरकारको लक्ष्य

जलस्रोत सचिव सरिता दवाडीले पश्चिमी नहर प्रणालीको कामलाई तीव्रता दिइएको बताइन् । 

उनका अनुसार आयोजनाको पश्चिमतर्फ १५ हजार हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ काम अघि बढाइएको छ । पश्चिमी मूल नहर निर्माणका लागि ठेक्का व्यवस्थापन भइसके पनि केही शाखा नहरहरूको निर्माण कार्य भने अझै बाँकी छ ।

उनले आगामी दुई वर्षभित्र आयोजना सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य रहेको बताइन् । सचिव दवाडीले भनिन्, ‘आगामी दुई आर्थिक वर्षभित्र यो आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले राखेको छ । समयमै बजेट र आवश्यक सहजीकरण भएमा यो लक्ष्य हासिल गर्न सकिने देखिन्छ ।’

image010

राष्ट्रिय गौरवको रुपमा रहेका आयोजना ३४ वर्षको प्रतीक्षापछि पनि सम्पन्न हुन नसक्नुले लज्जाको विषय हो । सरकारको विकास योजना कार्यान्वयनमा रहेको प्रणालीगत कमजोरीलाई उजागर गछ ।

बबई सिँचाइको कुल कमाण्ड ३६ हजार हेक्टरमध्ये २३ हजार ६ सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको र यो वर्ष बाँकी ३ हजार हेक्टर सुविधा विस्तार भएर २६ हजार ६ सय पुग्ने अनुमान गरिएको छ ।

सरकारको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) को संलग्नतामा २०२४ सालदेखि आयोजनाको अध्ययन भएको थियो । आयोजनाको पूर्वसम्भाव्यता अध्ययन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप