शिशुको टाउको तात्नु सामान्य हो वा खतराको सङ्केत ?
सारांश
- शिशुको टाउको तातो हुनु सामान्य हो वा होइन भन्ने विषयमा बालरोग विशेषज्ञ डाक्टर कल्पना सुवेदीले जानकारी दिएकी छिन्।
- शिशुको टाउको तातो हुनुको कारण शारीरिक बनावट, उच्च रक्तसञ्चार र पसिना ग्रन्थीको सक्रियता लगायतका कुराहरू हुन्।
- टाउको तातो भएर ज्वरो, हातखुट्टा चिसो भएमा वा अन्य लक्षण देखिएमा अस्पताल लैजानुपर्छ।
काठमाडौँ । धेरैजसो नयाँ आमाबाबु आफ्नो शिशुको टाउको तातो हुँदा चिन्तित हुन्छन् । अस्पतालमा ज्वरो नदेखाउने तर बच्चाको शरीर तातै हुँदा उनीहरू थप अलमलमा पर्छन् ।
शिशुको टाउको तातो हुनु सामान्य हो वा कुनै गम्भीर स्वास्थ्य समस्याको सङ्केत हो ? हामीले परोपकार तथा प्रसूति स्त्री रोग अस्पताल थापाथलीका बालरोग विशेषज्ञ डाक्टर कल्पना सुवेदीलाई सोधेका छौँ ।
शिशुको टाउको के कारणले तातो हुन्छ ?
अधिकांश अवस्थामा शिशुको टाउको तातो हुनु सामान्य मानिन्छ । यसका पछाडि वैज्ञानिक कारणहरू छन् । शारीरिक बनावटका आधारका शिशुको टाउको तातिने गर्छ । वयस्कको तुलनामा शिशुको टाउको शरीरको अनुपातमा ठुलो हुन्छ । नवजात शिशुको शरीरको कुल भागको करिब २५ प्रतिशत टाउकोले ओगटेको हुन्छ, जसले गर्दा शरीरको धेरै तापक्रम टाउकोबाट बाहिरिन्छ ।
उच्च रक्तसञ्चार र मेटाबोलिजम भएमा शिशुहरूको मस्तिष्क तीव्र गतिमा विकास भइरहेको हुन्छ । यो प्रक्रियाका लागि टाउकोमा धेरै रक्तसञ्चार हुन्छ र मस्तिष्कको मेटाबोलिजम दर पनि उच्च हुन्छ, जसले गर्दा बढी ताप उत्पन्न भई टाउको तातो महसुस हुन्छ ।
शिशुहरूको टाउकोमा पसिना निकाल्ने ग्रन्थीहरू बढी सक्रिय हुन्छन् । विशेषगरी सुतेको वेला वा आमाको दूध चुस्दा उनीहरूको टाउकोमा धेरै पसिना आउँछ, जसका कारण टाउको छुँदा तातो हुने गर्छ ।
कस्तो अवस्थामा टाउको तात्दा खतरा हुन्छ ?
–सामान्यतया टाउको तातो हुनु चिन्ताको विषय होइन, तर ज्वरोसँगै हातखुट्टा चिसो भएमा अर्थात् यदि शिशुको टाउको र शरीर तातो छ तर हातखुट्टा चिसो छ भने यो कुनै गम्भीर सङ्क्रमणको लक्षण हुन सक्छ ।
शिशु अत्याधिक असामान्य रूपमा रोइरहेमा, असहज देखिए र धेरै झिँजो मान्छ भने उसलाई केही दुखाइ भइरहेको हुन सक्छ ।
शिशुले दूध खान नमान्ने, खेल्न वा सक्रिय हुन छाड्ने, सुस्त हुने वा बान्ता गर्नेजस्ता लक्षण देखाएमा तुरुन्तै अस्पताल लैजानुपर्छ ।
टाउकोको एक भाग मात्र तातो भएमा त्यहाँ खटिरा, घाउ वा अन्य कुनै सङ्क्रमण भएको हुन सक्छ ।
दाँत आउने वेलामा गिजा सुन्निने र दुख्ने भएकाले पनि शिशुको शरीर र टाउको अलि बढी तातो हुन सक्छ ।
यदि शिशु सक्रिय छ, राम्रोसँग खेलिरहेको छ, दूध खाइरहेको छ र शरीरको तापक्रम नाप्दा सामान्य ज्वरो देखिएको छैन भने टाउको तातो हुँदैमा आत्तिनु पर्दैन । यद्यपि माथि उल्लेखित कुनै पनि लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण