शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

विपद् जोखिम न्यूनीकरणमा सीमापार सहकार्य

बिहीबार, २९ साउन २०८२, १३ : ४९
बिहीबार, २९ साउन २०८२

भनिन्छ, विपद् बाजा बजाएर आउँदैन । हालै (साउन २० गते) भारतको उत्तराखण्ड राज्यको खिरगंगा नदीमा आरीघोप्टे वर्षासँगै आएको बाढी, नेपालको भोटेकोशीमा हिमताल विष्फोट भएर आएको बाढी र  मुस्ताङमा आएको बाढी यसका ज्वलन्त उदाहरण हुन् । 

गत वर्ष दसैं छेकोमा आएको बाढीपहिरोले ठुलो जनधनको क्षति गरेको थियो । २२५ जनाले ज्यान गुमाए भने अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भयो । 

भौगोलिक बनावटको दृष्टिले त्यसै पनि जोखिममा रहेको नेपाल जलवायुजन्य प्रकोप र विपद्का कारण अझै बढी जोखिमको स्थितिमा छ । बर्सेनि बाढीपहिरो र विपद्जन्य गतिविधि रोकथाम गर्न हामी सक्दैनौं, तर विपद् पूर्वतयारी र विपद् जोखिम न्यूनीकरण गर्न आवश्यक रणनीति अपनाउन भने सक्छौं । 

विपद्को समस्या केवल एक देशको समस्या होइन, यसले कुनै देशको सिमाना बुझ्दैन भन्ने हालैको भोटेकोशीको उदाहरणले देखाउँछ । इसिमोडको अध्ययन अनुसार नेपालमा रहेका तीन हजार हिमतालमध्ये २१ वटा फुट्न सक्ने जोखिममा छन् भने तिब्बततर्फ २५ वटा छन् । विपद्मा क्रसबाउन्ड्री (सीमापार) सहकार्य किन महत्वपूर्ण छ भन्ने सन्दर्भ हालैको भोटेकोशीको घटनाक्रमले देखाउँछ । किनकि भोटेकोशीको मुहान तिब्बत हो भने समयमै सूचना नआएको खण्डमा दुर्घटना निश्चित हुन्छ । 

भोटेकोशीको बाढीले नेपाल-चीन जोड्ने मुख्यनाका नै बन्द गरेको अवस्था छ भने करोडौं नोक्सान भएको प्रारम्भिक अनुमान छ । जलवायु परिवर्तनले प्रताडित नेपालले अब मुख्य रुपमा खेल्नुपर्ने भनेकै जलवायु कूटनीति र विपद् जोखिम न्यूनीकरणमा प्रविधि लगायत आवश्यक सीमापार सहाकार्य हो । अहिले हामीलाई जलवायुजन्य प्रकोपले गर्ने हानि नै प्रमुख रुपमा प्रताडित गर्न सक्ने विषय हुन् भन्नेमा यो लेख केन्द्रित भएको छ । 

इसिमोडकै अध्ययन हेर्ने हो भने हिन्दुकोष हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वको औसत तुलनामा तीन गुणा बढी छ । प्राकृतिक विपद्ले व्यक्तिगत, मनोवैज्ञानिक, सामाजिक संकट निम्त्याउनुका साथै राज्यलाई करोडौँ आर्थिक तथा वातावरणीय क्षति पुग्छ । 

केही घटनाले सिकाएको पाठ 

प्रेम परियारले गाएको एउटा गीतको एउटा चर्चित लाइन छ-

‘मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन 
भागेर जाउँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने सहर हुँदैन’

जति तयारी गरे पनि विध्वंश हुनबाट रोक्न सकिँदैन तर सक्दो न्यून गर्न सकिन्छ । केही महिनाअघि स्वीट्जरल्याण्डको अल्पाइन पहाडमा हिमताल बिस्फोट भएपछि नजिकै रहेको ब्लाटेन गाउँ नै बगायो । यद्यपि त्यो हुनुभन्दा केहीअघि मे १९ मा ३०० जना स्थानीय र पशुहरुलाई सारिएको थियो । त्यो पूर्वतयारी भएको हुँदा एक जनाको मात्र निधन भयो भने अन्य मानवीय संकट हुन पाएन ।

इसिमोडकै अध्ययन हेर्ने हो भने हिन्दुकोष हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वको औसत तुलनामा तीन गुणा बढी छ । प्राकृतिक विपद्ले व्यक्तिगत, मनोवैज्ञानिक, सामाजिक संकट निम्त्याउनुका साथै राज्यलाई करोडौँ आर्थिक तथा वातावरणीय क्षति पुग्छ । 

विपद् जोखिम न्यूनीकरणमा सीमापार सहकार्यको खाँचो छ । इसिमोडका वैज्ञानिकहरुले गत मे र जुनमा नेपाल, पाकिस्तान र अफगानिस्तानका गरी तीन क्षेत्रको अध्ययन गरेका थिए । 

नेपालको हुम्लास्थित लिमी, अफगानिस्तानको एन्डोराब उपत्यका र पाकिस्तानको चित्राल-हुनजामा जलवायु संकटले ठुलो क्षति पुर्‍याएको देखाएको थियो । 

अन्तरदेशीय सहकार्यको चुनौतीमा छिमेकीहरुबिच अविश्वासको माहोल र उनीहरुको राष्ट्रिय सुरक्षा र रणनीतिक चासोका कुराहरु बाधक बन्न सक्छन् । प्रविधि साझा गर्दा उनीहरुको पूर्वाधारमा रहेका कमीकमजोरी समेत अन्य देशले थाहा पाउने हुँदा इच्छुक नहुन सक्छन् । 

जलवायु कूटनीति

नेपालले गत जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद गरेको थियो । यसबाट नेपालले दक्षिण एसियामा हामी जोखिमग्रस्त अवस्थामा छौँ भनेर देखाउन सफल भएको छ ।  हामीले हाम्रो माग विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय फोरममा दर्बिलो रुपले राखेका छौँ तर अझै अपुग छ । जलवायुजन्य प्रकोप रोक्न सर्वप्रथम नेपालले गर्नुपर्ने भारत र चीनसँग सहकार्य हो । 

विपद्ले सबैभन्दा बढी विकासोन्मुख मुलुकलाई प्रताडित पारेको हुन्छ । प्रकोपबाट जुध्न आवश्यक क्षमता वृद्धि, आर्थिक तथा प्राविधिक सहयोग र प्राविधिक हस्तान्तरणको टड्कारो खाँचो पर्छ । त्यसैले नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउन अन्तर्राष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र सीमापार सहयोगका लागि सक्रिय हुनैपर्छ । सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको नेपालले अब आवश्यक रणनीति बनाएर क्रियाशील हुनुपर्छ । 

हामीले अब भारत, चीन र नेपालको त्रिदेशीय सहकार्यतर्फ ध्यान दिनु जरुरी छ । नेपालमा केही विपद् भएमा त्यसले भारतलाई समेत असर गर्छ भने चीनको तिब्बतमा हिमताल बिस्फोट हुँदा बाढी आउँदा नेपाललाई समेत असर पार्न सक्छ । हामीले भारत र चीनको जल तथा मौसम विज्ञानमा काम गर्ने सरकारी तथा निजी एजेन्सीका साथै छिमेकमा रहेका विज्ञ समूह र संस्थासँग सहकार्य गरेर प्रविधि साटासाट, पूर्वतयारी रणनीति र अभ्यासबारे सिक्नुपर्ने टड्कारो आवश्यकता छ । 

सीमापार सहकार्यको चुनौती 

सीमापार सहकार्य नेपालका लागि भने चुनौतीपूर्ण छ । दुई ठूला छिमेकीले आफैँमा एकअर्कालाई संशयपूर्ण तरिकाले हेर्ने गर्छन् । जलवायु परिवर्तनले मौसमी गतिविधिमा फेरबदल भएका छन् । हिमालपारिका जिल्ला मनाङ, मुस्ताङमा पानी पर्न थालेको छ । 

भारतको सिक्किम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा विपद्जन्य जोखिम र चुनौती बढेको छ । नेपालको कोशीलाई त ‘बिहारको दु:ख’ नै भन्ने गरिन्छ । त्यसैले भारतले नेपाललाई र नेपालले भारतलाई सूचना तथा प्रविधिमा सघाउनुको विकल्प छैन । 

अन्तर्राष्ट्रिय रुपमा हेर्दा २०१५ को जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता र विपद् जोखिम न्यूनीकरणका लागि सेन्डाई कार्यढाँचा (२०१५-२०३०) क्रियाशील छन् । सेन्डाई फ्रेमवर्कले विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्यमा समेत जोड दिएको छ । 

विपद् जोखिम न्यूनीकरणको सन्दर्भमा विकासोन्मुख राष्ट्र र तिनका विशेष चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग र सहकार्यमा जोड, क्षमता विकास, विकासशील देशहरुलाई योजना निर्माण र उनीहरुले गरेको प्रयासमा सहयोग गर्ने भनेर भनेको पाइन्छ । सेन्डाई फ्रेमवर्कका पक्षराष्ट्र दुई छिमेकी नै भएको हुनाले हामीलाई सहज भने हुन्छ तर चुनौतीहरु विद्यमान छन् । 

अन्तरदेशीय सहकार्यको चुनौतीमा छिमेकीहरुबिच अविश्वासको माहोल र उनीहरुको राष्ट्रिय सुरक्षा र रणनीतिक चासोका कुराहरु बाधक बन्न सक्छन् । प्रविधि साझा गर्दा उनीहरुको पूर्वाधारमा रहेका कमीकमजोरी समेत अन्य देशले थाहा पाउने हुँदा इच्छुक नहुन सक्छन् । 

अर्को चुनौती नेपालले त्रिदेशीय सहकार्य गर्न कुनै बाध्यकारी द्विपपक्षीय सन्धि नै छैन । सार्क र बिमस्टेकका केही प्रावधान भए पनि त्यो कार्यान्वयनमा छैन । सार्क त झन् अस्तित्व संकटबाट गुज्रिरहेको छ । 

हिन्दुकुश हिमालय क्षेत्र पृथ्वीकै संवेदनशील क्षेत्र हो । यहाँ संकट आइपरे तल्लो भेगमा बस्ने करोडौं मानिसलाई असर पर्छ । सीमापार अपराध मात्र नभएर सीमापार प्राकृतिक प्रकोपमा समेत न्यूनीकरण गर्न द्विपक्षीय वा त्रिदेशीय सहकार्यको खाँचो छ । जलवायु परिवर्तनद्वारा सिर्जित प्रकोप र संकटको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग र विश्वव्यापी साझेदारी नेपाललाई चाहिन्छ । प्रविधि र सूचनाको पहुँच सुनिश्चित गर्दै पारस्परिकतामा आधारित सहयोगमा छिमेकीलाई मनाउन नेपाल आफैँले भूमिका खेल्न जरुरी छ । 

(पन्थी जलवायु अभियन्ता हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रितेश पन्थी
रितेश पन्थी
लेखकबाट थप