बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कोदारीमा पहिरो : कहिले खुल्छ अरनिको राजमार्ग ?

पहिरो नै ड्रिल गरी पानी निकालिने
शुक्रबार, ३० साउन २०८२, ०७ : ३१
शुक्रबार, ३० साउन २०८२

सारांश

  • अरनिको राजमार्गको कोदारी खण्डमा पहिरोले सडक अवरुद्ध हुँदा मर्मतका लागि १५ दिन लाग्ने अनुमान छ।
  • पहिरोका कारण तातोपानी नाका हुँदै चीनबाट आएका मालवस्तु रोकिएका छन्, जसले गर्दा व्यवसायीहरू समस्यामा परेका छन्।
  • सडक विभागले पानी निकास गरेर अस्थायी रूपमा बाटो खोल्ने र दीर्घकालीन समाधानका लागि चीनलाई अनुरोध गरेको छ।

काठमाडौँ  । लगातार पहिरोले अवरुद्ध अरनिको राजमार्गको कोदारी खण्ड (इको पहिरो) खुलाउन कम्तीमा अझै १५ दिन लाग्ने भएको छ । 

सडक मर्मत गर्दा बस्तीसमेत जोखिममा परेपछि नयाँ प्रविधि अपनाएर काम सुरु गरिने सडक डिभिजन कार्यालय, चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा साउन १८ गते खसेको पहिरोले करिब २५० मिटर सडक प्रभावित भएको छ । जसमध्ये ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त छ । पहिरो पन्छाएर बाटो खुलाउने प्रयास गरिए पनि माथिको बस्ती जोखिममा परेको भन्दै स्थानीयले विरोध गर्दै भित्ता काट्न रोक लगाएपछि दुई दिनदेखि काम रोकिएको थियो । पहिरो पन्छाउन एक्स्काभेटरलगायत उपकरणले पनि सम्भव नभएको महर्जन बताउँछन् । 

‘हामीले १० दिन लगातार काम गर्‍यौँ, तर पानी परिरहने र अवस्था झन् जटिल बन्दै गएपछि काम रोकियो,’ इन्जिनियर महर्जनले भने, ‘माथिको बस्ती जोखिममा परेको भन्दै स्थानीयले भित्ता काट्न रोक लगाएपछि हामीले विज्ञ टोलीको सुझाव पर्खेका थियौँ ।’

अहिले उक्त सडक पूर्ण रूपमा अवरुद्ध हुँदा तातोपानी नाका हुँदै चीनबाट आयात गरी ल्याइएका मालवस्तुसहित कन्टेनरहरू बाटोमै रोकिएका छन् । फलफूलहरू कुहिन थालेका व्यवसायीहरूले गुनासो गरिरहेका छन् । केही व्यवसायीले भने भरियाको भरमा सामान ओसारिरहेका छन् । 

पानी निकालेर मर्मत गरिने

सामान्य उपकरणले मर्मत गर्न सम्भव नभएपछि बुधबार सडक विभागबाट विज्ञ टोली त्यसतर्फ गएको थियो । उक्त टोलीले स्थलगत अध्ययनपछि पहिरोभित्र जमेको पानी नै मुख्य समस्या भएको निष्कर्ष निकालेको छ । र त्यसअनुसार पहिरोमा ड्रिल गरेर पाइपमार्फत पानी बाहिर निकाल्ने (ड्रिलिङ एन्ड ड्रेनिङ) र जमिन सुक्खा भएपछि मात्रै अस्थायी रूपमा बाटो सञ्चालनमा ल्याइने महर्जन बताउँछन् । 

‘पानी निकालेपछि पहिरो खस्ने जोखिम कम हुन्छ, त्यसपछि अस्थायी रूपमा बाटो खोल्छौँ,’ महर्जनले भने, ‘यो कामको लागि विशेष उपकरण र प्राविधिक टोली परिचालन गर्नुपर्ने भएकाले ढिलोमा १५ दिनको समय लाग्ने अनुमान गरेका छौँ ।’ यसका लागि शुक्रबारदेखि प्राविधिक टोलीले काम सुरु गर्ने तयारी छ ।

यो वर्ष १३ पटक अवरुद्ध

कोदारीमा वैशाखयता पहिरो गएर यो राजमार्ग १३ पटक अवरुद्ध भइसकेको छ । पहिलो पटक २०८२ वैशाख ३० गते यो पूर्ण रूपमा अवरुद्ध भएको थियो । 

स्थलगत अनुगमन टोलीका सदस्य सडक विभाग सुपरिटेन्डेन इन्जिनियर शुभराज न्यौपानेका अनुसार पहिरोले पुर्‍याएको क्षति गहिरो र जटिल प्रकृतिको छ । राजमार्गको करिब २५० मिटर खण्ड पहिरोले अवरुद्ध पारेको र त्यसमध्ये पनि ५० मिटर क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको उनले बताए ।

त्यसयता पानी परेका कारण लगातार पहिरो गएकाले सडक पूर्ण रूपमा अवरुद्ध हुने र खुलाउने क्रम भइरहेको छ । पछिल्लो पटक भने साउन १८ गते आएको पहिरोले यो सडक सहजै मर्मत नै गर्न नसक्नेगरी अवरुद्ध भएको हो । 

उक्त स्थलगत अनुगमन टोलीका सदस्य सडक विभाग सुपरिटेन्डेन इन्जिनियर शुभराज न्यौपानेका अनुसार पहिरोले पुर्‍याएको क्षति गहिरो र जटिल प्रकृतिको छ । 

राजमार्गको करिब २५० मिटर खण्ड पहिरोले अवरुद्ध पारेको र त्यसमध्ये पनि ५० मिटर क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको उनले बताए । ‘पहिरो खस्ने र तलबाट भोटेकोशी नदीले कटान गर्ने दोहोरो समस्या छ, घटनास्थल निरीक्षण गरेर फर्किएका उनले भने, ‘तत्काल मर्मत सक्न १५ दिनजति लाग्ने अनुमान छ ।’

विभागले तत्कालका लागि आफ्नै स्रोत–साधन प्रयोग गरेर बाटो खुलाउने प्रयास थालेको छ । पहिरो गएको ठाउँमा पानीको मूल फुटेकाले पहिला पानीलाई सुरक्षित रूपमा निकास दिएर मात्र मर्मतको काम गर्नुपर्ने देखिएको छ । 

साधारण मेसिन–औजारले मात्र मर्मत सम्भव नदेखिएपछि कसरी अघि बढ्ने भन्ने विषयमा विभाग र मन्त्रालयबिच छलफल भइरहेको न्यौपानेले बताए । 

दीर्घकालीन समाधान चीनले गर्ने

पटक–पटक गइरहने यो जोखिमयुक्त क्षेत्र भएकाले यहाँ दीर्घकालीन समाधानका लागि भने सरकारले चीनलाई अनुरोध गरेको छ । चिनियाँ टोलीले यसअघि नै उक्त क्षेत्रको अध्ययन गरिसकेको र लामो समयसम्म टिक्नेगरी मर्मत गरिदिन आग्रह गरिएको न्यौपानेले जानकारी दिए । तर तत्कालको आपत्कालीन मर्मत भने आफैँले गर्ने उनले बताए । भने, ‘उहाँहरूले अध्ययन पनि गर्नुभएको छ र भविष्यमा स्थायी संरचना बनाइदिनुहुन्छ होला ।’

राजमार्ग अवरुद्ध हुँदा दसैँको मुखमा ढुवानी गरिएका सामानहरू कतै नआइपुग्ने त हैनन् ? आशङ्का उब्जिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप