आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : भारतीय विदेशसचिव भेटवार्तामा व्यस्त, देवेन्द्रलाई कसले पुर्‍यायो देउवासम्म ?

आइतबार, ०१ भदौ २०८२, २२ : ००
आइतबार, ०१ भदौ २०८२

आज २०८२ भदौ १ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा आउनासाथ भेटवार्तामा व्यस्त भए भारतीय विदेश सचिव, देवेन्द्रलाई कसले पु¥यायो देउवासम्म ?, १० करोडको चेक बाउन्स भएपछि कांग्रेसका महासमिति सदस्य गोर्खाली पक्राउ, काठमाडौँको गेस्ट हाउसमा लगेर पत्नीको हत्या गर्ने व्यक्ति पर्साबाट पक्राउ, शरद ओझाको नियुक्ति अवैध, दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ घटस्थापना अघि खोल्ने, शंकाकै भरमा भिजिट भिसाका यात्रीलाई दुःख नदिइने लगायत छन् ।

१. आउनासाथ भेटवार्तामा व्यस्त भए भारतीय विदेश सचिव 
भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने भ्रमण तालिकाका साथ आइतबार नेपाल आएका छन् । नेपाल आइपुग्ने बित्तिकै उनी भेटवार्तामा व्यस्त भएका छन् ।

२. देवेन्द्रलाई कसले  पुर्‍यायो देउवासम्म ?
सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा फरार सूचीमा रहेका व्यक्तिलाई नेपाली कांग्रेसले बिहीबार पार्टीमा भित्र्यायो । जघन्य अपराधमा संलग्न भएको आरोप लागेका देवेन्द्र यादवलाई सभापति देउवाबाटै संरक्षण भएको भन्दै बाहिरमात्र होइन, पार्टीभित्रै पनि चर्को आलोचना भयो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि कांग्रेसले यसबारे चासो राख्यो । यादवमाथि फौजदारी कानुनी प्रक्रिया रहेको थाहा पाएपछि शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयले उनलाई दिएको सदस्यता खारेज गरिदियो । 

३. १० करोडको चेक बाउन्स भएपछि कांग्रेसका महासमिति सदस्य गोर्खाली पक्राउ
नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्रबहादुर (राजु) गोर्खाली आइतबार चन्द्रागिरीस्थित चोभारबाट बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरको विशेष टोलीले १० करोडको चेक बाउन्स भएको आरोपमा गोर्खालीलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको हो ।

४. काठमाडौँको गेस्ट हाउसमा लगेर पत्नीको हत्या गर्ने व्यक्ति पर्साबाट पक्राउ
काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भागेका एक जना युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी छन ।

५. शरद ओझाको नियुक्ति अवैध
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति अवैध रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । ओझाको योग्यता र आचरणको सम्बन्धमा छानबिन गर्न बनेको समितिले उनी उक्त पदमा नियुक्तिका लागि योग्य नरहेको निष्कर्ष निकालेको हो ।

६. दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ घटस्थापना अघि खोल्ने
दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ घटस्थापना अघि नै खोल्ने तयारी भइरहेको छ । आइतबार संसदीय समितिमा यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारीले यसबारे जानकारी दिएका हुन् ।

७. शंकाकै भरमा भिजिट भिसाका यात्रीलाई दुःख नदिइने
अध्यागमन विभागले अनुमान, शङ्का र यात्रीको भौतिक हैसियतको आधारमा कुनै नेपाली नागरिकलाई विभेदपूर्ण व्यवहार नगर्ने स्पष्ट गरेको छ । विभागले आइतबार पत्रकार सम्मेलन गर्दै वैध राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तसँग बस्ने प्रमाण लगायतका आवश्यक कागजात बोकेर आउने यात्रीलाई अनावश्यक रोकावट नहुने जनाएको हो ।

८. आम्दानी बढे पनि नाफा खुम्चियो विद्युत् प्राधिकरणको
आर्थिक वर्ष २०८०/८१ मा नेपाल विद्युत् प्राधिकरणको आम्दानीमा उत्साहजनक वृद्धि भए पनि खुद मुनाफामा भारी गिरावट आएको छ । प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानी ८.४६ प्रतिशतले बढे पनि खुद नाफा ३७.३२ प्रतिशतले खुम्चिएको छ ।

९. धनराज गुरुङकी पूर्वपत्नीविरुद्ध १७ करोड ७२ ठगी अभियोगमा मुद्दा दायर
मितेरी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध १७ करोड ७२ लाख ७ हजार १७४ रूपैयाँ ठगी गरेको भन्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

१०. दक्षिण एसियामा आतंकवाद : नेपाललाई कति चुनौती ?
नेपालमा आतंकवादको प्रत्यक्ष असर देखा परेको त छैन, यद्यपि दक्षिण एसिया यसबाट नराम्ररी प्रभावित भएको छ । यस्तो अवस्थामा नेपालले के–कस्तो चुनौती सामना गर्नुपर्ने छ वा कस्ता तयारी गर्नुपर्ला भन्नेबारे केन्द्रित रहेर रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप