बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : नेपालमा आतंकवाद

दक्षिण एसियामा आतकंवाद : नेपाललाई कस्तो छ चुनौती ?

आइतबार, ०१ भदौ २०८२, १० : ३५
आइतबार, ०१ भदौ २०८२

सारांश

  • दक्षिण एसियामा आतंकवादको खतरा बढ्दै गएको छ, जसमा नेपाल पनि प्रभावित हुने जोखिम रहेको छ।
  • पहलगाम घटनामा एक नेपालीको मृत्यु र अन्य आतंकवादी घटनाहरूले नेपालमा आतंकवादको बहसलाई बढाएको छ।
  • विज्ञहरूले नेपालले सुरक्षा व्यवस्थापनमा ध्यान दिनुपर्ने र क्षेत्रीय सहकार्यलाई बढाउनुपर्ने सुझाव दिएका छन्।

काठमाडौँ । विश्वमै सबैभन्दा बढी जनघनत्व भएको क्षेत्र मात्र होइन, धार्मिक सांस्कृतिक र भाषिक विविधताले भरिपूर्ण भू–भाग पनि हो दक्षिण एसिया । तर यो क्षेत्र आतंकवाद, उग्रवाद र हिंसात्मक द्वन्द्वको चरम चपेटामा परिरहने गर्छ । 

यी क्षेत्रमा रहेका अफगानिस्तान, पाकिस्तान, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र नेपालजस्ता देशहरू फरक–फरक रूपले आतकंवादको चपेटमा छन् । 

नेपाल आतकंवादीहरूको प्रमुख आश्रयस्थल नभए पनि यसबाट अछुतो छैन । नेपाली भूमिमा दक्षिण एसियाका अन्य राष्ट्रहरूको जस्तो आतकंवादीहरूले पुर्‍याएको क्षति नगण्य छ ।

तर गत अप्रिलमा भारत काश्मीर (पहलगाम) मा भएको आतकंवादी आक्रमणमा नेपालका सुदीप न्यौपानेको मृत्यु भयो । उक्त घटनामा भारतका २६ जनाको ज्यान गएको थियो । 

  • आतंकवादी आक्रमण : नेपालीमाथि क्षति र नेपाल जोडिएको घटना 

सन् २०२३ मा प्यालेस्टानी विद्रोही समूह हमासले इजराइलमाथि गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । जहाँ बेपत्ता भएका विपिन्न जोशी अझसम्म हराइरहेका छन् । 

त्यस्तै इराकमा काम गर्न पुगेका १२ नेपाली नागरिक पनि सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्नाको शिकार भए । २०६१ भदौ १६ गते उनीहरूलाई बीभत्स तरिकाले हत्या गरिएको थियो । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सन् १९९९ को डिसेम्बर २४ मा इन्डियन एअरलाइन्सलाई आतकंवादीहरूले अपहरण गरेका थिए । यसैगरी यही साउन २० गते पनि अन्डरवर्ल्ड डन दाउद इब्राहिमका सहयोगी शेख सलीम उर्फ सलीम पिस्टल नेपाली भूभागबाटै पक्राउ परे । 

यी हुन् नेपाली र नेपालसँग जोडिएका आतंकवादी हमला र घटना, जसले नेपाल पनि विभिन्न आतंकवादी तथा विभिन्न विद्रोही समूहको चपेटामा परेको देखाउँछ । 

भारतले नेपाललाई पनि आतकंवादको ट्रान्जिट प्वाइन्ट भएकाले यहाँबाट विभिन्न आतंकवादी गतिविधिहरू हुन सक्ने कुरा पटक–पटक उठाउँदै आएको छ ।

सन् १९९९ मा भएको विमान अपहरणपछि भारतले नेपाललाई संवेदनशील क्षेत्र मान्दै आएको हो । सुरक्षालाई लिएर भारतले नेपालसँग पटक–पटक प्रतिबद्धता पनि खोजिरहेको छ । 

जसकै कारण नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उसले आफ्नै सुरक्षाकर्मी राख्न निकै प्रयास गरेको थियो, तर सम्भव नभएपछि आफ्नो एयरलाइन्समा सुरक्षाजाँच कडा बनाउँदै लगेको छ । 

  • नेपाललाई चुनौती

विभिन्न घटनाक्रमले नेपाल पनि आतकंवादको चपेटामा पर्न सक्ने जानकारहरू बताउँछन् । नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउद दक्षिण एसियामा आतंकवादका लागि नेपाल जोखिमै रहेको टिप्पणी गर्छन् । सामाजिक नवप्रवर्तन तथा वैदेशिक नीति केन्द्रले आयोजना गरेको आतंकवादसम्बन्धी जेठ १९ गते भएको एक कार्यक्रममा उनले बताएका थिए, ‘कमजोरी अब अरूको घरमा मात्रै छैन, हामी पनि त्यसका लागि खुला छौँ ।’ 

नेपालको सुरक्षा व्यवस्थापन प्रणाली कमजोर रहेकाले यहाँ विभिन्नखाले आपराधिक गतिविधि भइरहेका उनको भनाइ थियो । नेपालले विभिन्न समयमा भएका घटनामा दोषी देखिएका अपराधीलाई आतंकवादीको रूपमा वर्गीकृत नगरेको तथा ती देशहरूसँग कूटनीतिक समन्वय नगरेको उनले बताएका थिए । ‘दक्षिण एसियामा जसरी आतकंवादी गतिविधिहरू बढिरहेका छन्, त्यसबाट नेपाल सचेत रहनुपर्ने अवस्था आइसकेको छ,’ उनले भनेका थिए ।  

हालै भारतको पहलगाममा भएको आतकंवादी हमलामा एक जना नेपालीको निधन, हमासले इजाराइलमाथि हमला गर्दा १० जना नेपाली विद्यार्थीका ज्यान जानु, इराकमा १२ जना नेपालीको हत्या गरिएको घटना सबै आतकंवादसँग सम्बन्धित रहेको उनले बताए । 

गएको असार २५ गते नेपाल इन्स्टिच्युट फर इन्टरनेसल फर कोअपरेसन एन्ड इन्गेजमेन्ट कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार सुनिल बहादुर थापाले लस्कर–ए–तैयबाको अल–कायदासँग सम्बन्ध रहेको र यसले नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गर्दै आएको गम्भीर अभिव्यक्ति दिएका थिए ।
  • भारत चीन सशंकित

जटिल भू–राजनीतिक अवस्थितिका कारण नेपालले खम्पा गतिविधि निष्क्रिय पार्न महत्त्वपूर्ण भूमिका खेलेको थियो, फेरि त्यस्तै गतिविधि दोहोरिन नदिन नेपाल सदैव सचेत पनि छ । नेपालले कुनै पनि देशविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने पटक–पटक बताउँदै आइरहेको छ । तर अवैध तरिकाले नेपालको भूमि प्रयोग भइरहेको छिमेकी देशहरू भारत र चीनले आरोप लगाइरहेका छन् । 

सन् १९७४ मा चिनियाँ फौजसँग लड्न तालिम र सेल्टरका लागि खम्पाहरूले नेपालको भूमि प्रयोग गरेका थिए । तिब्बती खम्पाहरूले चिनियाँ सेनाविरुद्ध गुरिल्ला युद्ध गरेका थिए । मनाङ, सोलोखुम्बु, रसुवा, रामेछाप, काभ्रे उनीहरूको सेल्टर थियो । अहिले पनि खम्पा विद्रोह नेपालीमाझ निकै चर्चित छ । वेलावेला तिब्बतका नागरिकले नेपालमा बसेर आफ्नो देशविरुद्ध गतिविधि त भइरहेको छैन ? चीन सशंकित छ । र नेपालले पनि सचेत गराइरहेको छ । 

पहिचान लुकाएर आतकंकारीहरूले नेपालको भूमि प्रयोग गरेका, नेपाल बसेका र अन्य देशहरूविरुद्ध आक्रमणको सञ्जाल बुनेको भनी आरोप लाग्ने गरेकाले यसमा नेपाल चनाखो हुनुपर्ने विज्ञहरू सुझाउँछन् । 

गएको असार २५ गते नेपाल इन्स्टिच्युट फर इन्टरनेसल फर कोअपरेसन एन्ड इन्गेजमेन्ट कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार सुनिल बहादुर थापाले लस्कर–ए–तैयबाको अल–कायदासँग सम्बन्ध रहेको र यसले नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गर्दै आएको गम्भीर अभिव्यक्ति दिएका थिए । यसले क्षेत्रीय सुरक्षामा गम्भीर खतरा उत्पन्न गराएको पनि उनले बताएका थिए । यस्ता जटिल समस्या समाधान गर्न सम्बन्धित सुरक्षा निकाय सचेत रहनुपर्ने पनि उनको सुझाव थियो । 

यद्यपि नेपालले जहिल्यै आतकंवादविरुद्ध आफू उभिएको दोहोर्‍याउँदै आएको छ । पछिल्लो समय भारतको पहलगाममा भएको आक्रमणपछि नेपालले आतकंवादविरुद्ध दह्रोसँग उभिएको बताएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त घटनापछि तत्कालै प्रतिक्रिया दिएका थिए । उनले आतकंवादविरुद्ध सधैँ भारतको साथ उभिने बाचा गरेका थिए । त्यस्तै परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि आतंकवादविरुद्ध भारतलाई सदैव साथ दिने बताएकी थिइन् । त्यसबाहेक नेपालका धेरैजसो राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरूले पहलगाम हमालाको खुलेर विरोध गरेका थिए । 

  • नेपालमा गम्भीर बहस

पहलगाम घटनापछि नेपालमा आतंकवादविरुद्ध व्यापक छलफलसँगै निन्दा गरिए । पूर्वराजदूत विजयकान्त कर्ण कार्यकारी प्रमुख रहेको समाजिक नवप्रवर्तन तथा वैदेशिक नीति केन्द्र, रामकिशोर सिंह अध्यक्ष रहेको नेपाल भारत विकास मञ्च, प्रमोद जयसवाल अनुसन्धानकर्ता निर्देशक रहेको नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्टलगायत संस्थाहरूले दक्षिण एसियामा आतंकवादको विषयमा गम्भीर बहस चलाए । यसले पनि नेपाल आतकंवादको विषयमा सरोकारवालाले चासो लिएको पुष्टि हुन्छ । 

यद्यपि सुरक्षा संवेदनशीलतामा नेपालको ध्यान नपुगेको गुनासो भने आइरहेको छ । अन्तर्राष्ट्रिय द्वन्द्वविज्ञ इन्दिरा अधिकारी राज्य संवदेनशील नभएका वेला, राज्यप्रति असन्तुष्टि बढेका समय र दमन भएका अवस्थामा आतकंवादका घट्ना बढ्न सक्ने बताउँछिन् । ‘नियन्त्रणका लागि मुख्य कारण खोजी गरी जनताकेन्द्रित सुरक्षा रणनीति बनाउनुपर्छ,’ उनी भन्छिन्, ‘आतङ्कवाद नियन्त्रणका लागि आन्तरिक एकता र क्षेत्रीय सहकार्यसमेत आवश्यक छ ।’

  • दक्षिण एसियामा आतकंवाद

ग्लोबल टेरोरिज्म इन्डेक्स २०२४ अनुसार दक्षिण एसिया विश्वमै आतंकवादको सबैभन्दा बढी असर परेको क्षेत्र हो, जहाँ २७ प्रतिशतभन्दा बढी विश्वका आतंकवादी आक्रमणहरू हुने गरेका छन् । उनका अनुसार सन् २००१–२०१९ मा मात्र दक्षिण एसियामा करिब ६० हजार मानिस मारिएका छन् र असंख्य मात्रामा घाइते भएका विभिन्न प्रतिवेदनहरूमा उल्लेख छ । र यसमा पनि अफगानिस्तान र पाकिस्तानको मृतक संख्या ८५ प्रतिशत छ । 

global-terroism-index

उक्त तथ्यांकमा नेपालले भने प्रगति गरेको छ । नेपाल आठ स्थान तल झर्दै आतंकवादबाट नागरिकको क्षति हुने मुलुकको ४५ औँ स्थानमा पर्न सफल भएको छ । सन् २०२४ को उक्त तथ्यांकमा अफ्रिकी मुलुक बुर्किना फासो पहिलो नम्बरमा हुँदा इजरालय दोस्रोमा छ भने दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तान क्रमशः चौथो र छैटौँ स्थानमा छन् । भारत भने यो सूचीको १४ औँ नम्बरमा छ ।   

विश्व आतंकवाद सूचकांकका पछिल्ला तथ्यांकअनुसार दक्षिण एसियाका केही मुलुक अझै विश्वका उच्च जोखिममा रहेका अधिकारी बताउँछिन् । भन्छिन्, ‘दक्षिण एसियालाई आतंकवादको हब भनिन्छ । उपनिवेशवादबाट मुक्त भएपछि यस क्षेत्रका अधिकांश मुलुकमा सन् १९७० देखि २०२० सम्मको अवधिमा विभिन्नखाले एक लाख ९० हजार घटना भएका छन्, त्यसमध्ये सबैभन्दा बढी अफगानिस्तानमा ३९ प्रतिशत, भारतमा २५, पाकिस्तानमा २४ र श्रीलङ्कामा पाँच प्रतिशत घटना भएका छन् ।’

भारतमा सन् २००४ भएको मुम्बई आक्रमण, काश्मीर विद्रोह र मध्य भारतको नक्सल हिंसा, अफगानिस्तानमा सन् २०२१ मा भएको काबुल विमानस्थल बम विस्फोट, श्रीलंकामा एलटीटीईका आत्मघाती बम आक्रमण र सन् २०११ इस्टर आइतबारको आक्रमण, बंगलादेशमा जमात–उल–मुजाहिदीन बंगलादेश (जेएमबी) जस्ता समूहका आक्रमण, सन् २०१६ ढाकामा भएको क्याफे आक्रमण यस क्षेत्रका ठुला र चर्चित आतकंवादी हमलाहरू हुन् । 

आतंकवादको जरो यस क्षेत्रमा ऐतिहासिक विवाद, धार्मिक उग्रता, राजनीतिक अस्थिरता, सीमा विवाद, आर्थिक असमानता र बाह्य शक्तिको हस्तक्षेपसँग जोडिएको पाइन्छ । यसले राजनीति, अर्थतन्त्र, समाज, सुरक्षा वातावरण र अन्तर्राष्ट्रिय छविमा दीर्घकालीन असर पारिरहेको छ । 

fgtj

नेपाल–भारत विकास मञ्चले साउन २६ गते आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रस्तुत गरेको ‘दक्षिण एसियामा आतकंवाद र दीर्घकालीन समाधान’ कार्यपत्रमा सन् २०२३ मा मात्र अफगानिस्तानमा एक हजार ४२६ आक्रमण हुँदा पाकिस्तानमा भने ४९० वटा भएका थिए । 

पाकिस्तान प्रशासित क्षेत्रबाट सञ्चालित समूहहरू जैस–ए–मोहम्मद, लस्कर–ए–तैयबा, हर्कत उल मुजाहिद्दिन तथा तिनका उपसमूहहरूले आतकंवादी गतिविधि गर्दै आएका छन् । यसबाहेक तालिबान, अलकायदालगायत अन्य समूहहरू विश्वभरि नै सक्रिय छन् । 

पाकिस्तानले आतकंवादी संगठनहरूलाई कोष उपलब्ध गराएको, सैन्य तालिम प्रदान गरेको तथा बास दिएको तथा दक्षिण एसियाली क्षेत्रमा हुने आतंकवादी हमलामा सहयोग प्रदान गर्दै आएको भनी भारतले गम्भीर आरोप लगाउँदै आएको छ । भारतले पटक–पटक अन्तर्राष्ट्रिय मञ्चहरूमा यो विषय उठाउँदै आएको छ, तर पाकिस्तानले ती सबै विषय खण्डन पनि गरिरहेको छ । 

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल को–अपरेसन एन्ड इन्गेजमेन्टका अनुसन्धान निर्देशक जैसवाल भन्छन्, ‘पाकिस्तान दक्षिण एसियाको आतकंवादको केन्द्रबिन्दु हो, यसले आतंकवादीलाई हुर्काउने र संरक्षण गर्ने कार्य गरिरहेको छ ।’

आतकंवादका कारण दक्षिण एसियामा शक्तिशाली संगठन मानिने दक्षिण एसियाली क्षेत्री सहयोग संगठन (सार्क) पनि निष्क्रियझैँ छ । नेपाल–भारत विकास मञ्चले आयोजना गरेको कार्यक्रममा पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले भने, ‘आतकंवादकै कारण सार्क सम्मेलन दुई पटक रोकियो ।’ 

पाकिस्तानले घुमाउरो तरिकाले आतकंवादलाई समर्थन गरेको कुरा भारतले पटक–पटक उठाउँदै आएको र पहलगाम घटनापछि भारतले विश्वस्तरमै आतकंवादको विषय उठाएको उनी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप