कस्तो हो प्रचण्डको नयाँ खालको विद्रोह ?
सारांश
- माओवादी अध्यक्ष प्रचण्डले नयाँ समाजवादी क्रान्तिको कुरा गरिरहेका छन्, तर यसको खाका प्रष्ट पार्न सकेका छैनन्।
- पार्टीभित्रको अन्तरविरोध चर्किएपछि प्रचण्ड र उपमहासचिवबीचको विवाद सतहमा आएको छ, जसले पार्टी पुनर्गठनको माग गरेको छ।
- पार्टीले सरकारमा रहँदा जनताका मुद्दालाई बेवास्ता गरेको निष्कर्ष निकाल्दै फेरि श्रमिक, मजदुर र किसान वर्गमा फर्किने निर्णय गरेको छ।
काठमाडौँ । सत्ताबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रायः नयाँ समाजवादी क्रान्तिका भाषण गर्न छाडेका छैनन् ।
साउन १८ गते केन्द्रीय कार्यालय पेरिसडाडामा बोत्ले सहिद स्मृति दिवसको अवसरमा होस वा साउन २२ गते अखिल(क्रान्तिकारी)ले आयोजना गरेको शैक्षिक संवादमा, उनले नयाँ क्रान्तिको कुरा छुटाएनन् ।
जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधानसभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेतृत्वसमेत जीवित रहेकाले प्रतिक्रियावादीहरूलाई परास्त गर्न नयाँ खालको विद्रोह गर्न पार्टीले संकल्प गरेको बताइरहेका छन् ।
‘मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधानसभा हुँदै यहाँसम्म अझै पनि जीवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरूलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो,’ सहिद स्मृति सभामा उनले भनेका थिए ।
शैक्षिक संवाद कार्यक्रममा प्रस्ट्याउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि आफू नयाँ आन्दोलनको नेतृत्व गर्न जनतामा गएको बताएका थिए ।

नयाँ क्रान्तिकारीबारे प्रचण्डले भनेका थिए, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता स्थापना भए पनि म नयाँ आन्दोलनको नेतृत्व गर्छु भनेर जनतामाझ गएको छु । अर्को क्रान्ति चाहिएकै छ नेपालमा । मैले सशस्त्र क्रान्ति भनेको होइन, एउटा सडकबाट ठुलो क्रान्ति नभएसम्म सरकारको दिमागमा छिर्ने देखिएको छैन ।’
यद्यपि उनले समाजवादी क्रान्तिको कुरा गरिरहँदा अबको क्रान्ति कसरी कुन मोडेलमा गर्ने, जनयुद्धकाललाई थाती राखेर शान्तिकालको १८ वर्षमा हरेक वर्ष भएको पार्टी क्षयीकरण, नेतृत्वप्रति चरम अविश्वासबिच समाजवादी क्रान्तिको पुनरावृत्ति कसरी हुन्छ भन्ने विषयमा प्रस्ट खाका दिन भने सकेका छैनन् ।
२०६३ सालको अन्तरिम सरकारदेखि २०८१ असारसम्म सबैभन्दा बढी सत्तामा माओवादी नै रह्यो । प्रचण्ड तीन पटक र बाबुराम एक पटक गरी चारपटक माओवादीले सरकारको नेतृत्व लियो । सभामुखदेखि महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पनि पटक–पटक पायो ।
तर माओवादीले गज्जबै गर्यो भन्ने भाष्य स्वतःस्फूर्त रूपमा न त आम नागरिकले भन्न सकेका छन् न त पार्टीका नेताहरूले नै । बरु माओवादी आन्दोलन र पार्टी बचाउन नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने आवाज पार्टीभित्रबाटै जोडतोडले उठेको छ ।
यस्तो अवस्थामा प्रचण्डले सार्वजनिक कार्यक्रममा मात्र होइन; समाजवादी मोर्चाको बैठक, पार्टीका विभिन्न बैठक तथा विपक्षी दलहरूको बैठकमा समेत नेपालमा नयाँ क्रान्ति आवश्यक रहेको बताउँदै आएका छन् ।
_TLbJJRGa25.jpg)
- अन्तरविरोधमा प्रचण्ड सफल होलान् ?
गत वर्ष पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले अनुमोदन गरेको राजनीतिक दस्ताबेजमा समेत ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकअन्तर्गत १५ बुँदे समीक्षा गरिएको छ । त्यसको प्रस्तावनामा पछिल्लो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्धको अभियानलगायत विषयमा लिएका सकारात्मक पहल एवं सरकारबाट बाहिरिँदै गर्दा गम्भीर आत्मसमीक्षासहित उत्पीडित वर्ग समुदायलाई गरिएको अपिलको परिणाम आज पार्टीप्रति जनतामा नयाँ आशा पलाएको लेखिएको छ ।
जनतामा पलाएको यो आशा पार्टीका लागि चुनौती र एउटा अवसर बनेर अगाडि आएको उल्लेख गरिएको छ । प्रदेशहरूमा गरिएका परामर्श बैठकहरूको निष्कर्ष यथास्थितिमै रहेर पार्टीले चुनौतीको सामना र अवसरको सदुपयोग गर्न नसकिने भएकाले यस पृष्ठभूमिमा केन्द्रीय समितिको बैठकले रुपान्तरण र पुनर्निर्माणको ठोस योजनासहित कार्यान्वयनको नयाँ सङ्कल्प लिन जरुरी रहेको लेखिएको छ ।
_ZIvPPJANaM.jpg)
जनतामा फर्किएको यो अवसर गुम्न नदिने अठोटका साथ आफ्नो मुद्दा र जनसमुदायमा फर्किनुको अर्को विकल्प नभएकाले त्यसका लागि ठोस नीति, योजना र कार्यक्रम बनाएर काममा जानु भनिएको छ ।
बुँदा नम्बर ‘ण’ भनिएको छ– ‘नेपाली क्रान्तिको कार्यदिशाले तीन वटै मोर्चाको संघर्ष सरकार, सदन र सडकको संयोजनको माग गर्छ । कुन वेला संघर्षको कुन मोर्चा मुख्य रहन्छ भन्ने कुरा तात्कालिक परिस्थितिमा भर पर्दछ । अहिले हाम्रो पार्टी संघ र प्रदेशको सरकारमा छैन, केही स्थानीय सरकारमा मात्र छ । त्यसैले तत्काल सरकार मुख्य मोर्चाको रुपमा रहेको छैन । यतिबेला संसदको संघर्ष मुख्य बनिरहेको छ । स्थानीय सरकार र सडकसँग यसलाई जोड्दै जाँदा सडक संघर्ष मुख्य बन्न सक्ने सम्भावनाका लागि पनि हाम्रो पार्टी तयार रहनु पर्दछ ।’
केन्द्रीय समिति बैठकले शान्ति प्रक्रियामा आएको १७ वर्षमा पार्टीले जनताको मुद्दा छाडेर सत्तामा केन्द्रित रहँदा कमजोर रहेको निष्कर्ष निकालेको थियो । पार्टीलाई पुनस्र्थापित गर्नका लागि फेरि श्रमिक, मजदुर, किसान वर्गमा फर्किने निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार ६ महिना पूर्व–पश्चिम मार्गअन्तर्गत हुलाकी मार्ग र मध्यपहाडी मार्गकेन्द्रित जागरण अभियान सञ्चालन गर्ने र असारमा केन्द्रीय समिति बैठक बसेर अगामी मंसिरमा विशेष महाधिवेशनको तयारी गर्ने माओवादीले निर्णय गरेको थियो ।
तर पछिल्लो स्थायी समिति बैठकमा केन्द्रीय समितिको निर्णय कार्यान्वयन नभएको विषयलाई लिएर माओवादीभित्र अन्तरविरोध चर्कियो । अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा बिचको अन्तरविरोध सार्वजनिक रुपमै छताछुल्ल भएपछि पार्टीभित्रको गुट, उपगुट तथा स्वार्थ समूह विघटन गर्ने निर्णय गर्यो ।
पार्टीको निर्णय पालना नभए अनुशासनको कारबाही हुने संस्थापन पक्षले बताएका छन् । स्थायी समिति बैठकले गरेका निर्णको समीक्षा, आगामी केन्द्रीय समिति बैठकको तयारी सम्बन्धमा छलफल गर्न प्रचण्डले मंगलबार पदाधिकारी बैठक बोलाएका छन् । उपमहासचिव मात्रिका यादवले पार्टीभित्रको अन्तरविरोध, नीति तथा कार्यक्रमबारे पनि बैठकमा छलफल हुन सक्ने बताए ।

‘स्थायी समिति बैठकले गुट, उपगुट, स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको छ । पार्टी निर्णयको अवज्ञा गर्नेलाई कारवाहीको दायरामा ल्याउने भनिएको छ । केन्द्रीय समिति बैठकको तयारीलगायत आगामी नीति तथा कार्यक्रमबारे पनि छलफल हुन सक्छ,’ उनले भने ।
यता शर्मा पक्षका नेताहरूले अब प्रचण्डको नेतृत्वमा नयाँ क्रान्ति असम्भव भएकाले पार्टी पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन् । सचिव राम कार्कीले त पार्टी नै विघटन गरी फेरि पुनर्गठन गर्नुपर्ने प्रस्ताव राखे । कार्की आफ्नो अडानमा यथवत रहेको आइतबार उनले दिएको अभिव्यक्तिबाट स्पष्ट बुझिन्छ ।
‘पार्टीको, सत्ता सबै कुराको निश्चित आयु हुने भएकोले पार्टीलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्ने हुन्छ । पार्टीलाई आवधिक र आंशिक रूपमा विघटन गर्न सकिएन भने पुनः गठन गर्न सकिँदैन । कार्यदिशाको मूल केन्द्रमा मजदुर र किसानलाई राखेर उनीहरूको पक्षपोषण हुने खालको कार्यदिशा लिएर अगाडि जान सकिए पार्टी रिभाइबल हुन्छ,’ उनले भने ।
_Gyt4dsl3Xd.jpg)
कर्मकाण्डी महाधिवेशन, सम्मेलन, बैठकको कुनै अर्थ नहुने उनले तर्क गरे । आलोचनात्मक चेत कुण्ठित भए त्यो अगाडी बढ्न नसक्ने उनको भनाइ छ । कार्यकारी भूमिकामा निरन्तर रहन नहुने भन्दै उनले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी युवा पुस्तालाई दिनुपर्नेमा जोड दिए । क्रान्तिको नेतृत्व गर्न, अगुवाइ गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी नभएको कार्कीको मत छ । उनले अध्यक्ष प्रचण्डलाई हटाएर मात्रै पनि समस्याको समाधान नहुने भएकाले पूरै कार्यदिशा, रणनीति र नेतृत्व फेर्नुपर्नेमा जोड दिए ।
माओवादीका उपमहासचिव हरिबोल गजुरेलले स्वार्थको असन्तुष्टिलाई क्रान्तिको जामा लगाएर समस्याको हल नहुने जिकिर गरे । प्रचण्डले गरेको नयाँ क्रान्तिको बहस आफैमा रुपान्तरण हुने भनिएको उनले स्पष्ट पारे ।
‘प्रचण्डले क्रान्ति भनेको आफैमा रुपान्तरण हुन्छु भनेको हो । शान्ति प्रक्रियामा आएपछि बाहिर शान्ति र भित्र क्रान्तिको कुरा गर्यौँ । आफैमा अलमलियौँ । हामीले आफ्नो वर्ग भुल्यौँ । लामो समय सत्तामा हुँदा पार्टी बदनाम भयो । सत्ता छाडेर पछिल्लो समय पार्टी फेरि मजदुर, श्रमिक, किसान वर्गमा जाँदा माओवादी आन्दोलनप्रति जनमत आकर्षित भएको छ । त्यसले आँट आएर नै उहाँले क्रान्तिको कुरा गर्नुभएको हो,’ उनले भने ।
_dla8icCHP9.jpg)
प्रचण्डकै नेतृत्वमा नयाँ समाजवादी क्रान्ति हुनेमा गजुरेल विश्वस्त देखिएका छैनन् । नेतृत्व क्रान्तिको विशिष्ट अवस्थामा जन्मिने हुँदा अहिले पार्टीमा प्रचण्डको विकल्प नभएको उनको विश्लेषण छ ।
‘विशिष्ट अवस्थामा क्रान्ति हुन्छ । त्यसले नेतृत्व जन्माउँछ । साम्यवादमा पुग्ने हाम्रो यात्रा हो । पुष्पलालले उठाएको नेपाल कम्युनिस्ट पार्टीको झण्डा मदन भण्डारी र प्रचण्डले नयाँ उचाइमा पुर्याए,’ उनले भने, ‘फेरि नयाँ क्रान्तिको आवश्यकता छ । नेतृत्वको विशिष्ट अवस्था सिर्जना भइसकेको छैन । प्रचण्डले चाहेर पनि नेतृत्व हस्तान्तरण गर्न अवस्था छैन ।’
गजुरेलले विगतमा मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापालगायत नेताहरूले पनि विचार, सिद्धान्तमा नभई स्वर्थका कारण पार्टी विभाजन गरेको आरोप लगाए ।
‘किरण, बाबुराम, बादलले पार्टी विभाजन गरे तर उनीहरूले केही पनि गर्न सकेनन् । किनकी त्यो स्थार्थ थियो । धोबीघाट गठबन्धनबाट बाबुराम प्रधानमन्त्री बन्नु थियो । किरण समूहलाई अर्थमन्त्री चाहिएको थियो । त्यो नपाएपछि पार्टी फुटाउनुभयो । विप्लव सांसद बन्न नपाएको झोकमा पार्टी छोडेर हिँड्नुभयो । बादलजी गृहमन्त्री बचाउनका लागि एमाले बन्नुभयो । तर उनीहरू स्वार्थका कारण पार्टी विभाजन गरेको मान्न तयार छैन, क्रान्तिका लागि भनियो । आखिर कोहीले पनि केही गर्न सकेनन् । स्वार्थको असन्तुष्टिलाई क्रान्तिको जामा लगाएर हुँदैन,’ उनको आरोप छ ।

२०५२ सालमा माओवादीले गरेको जनयुद्ध देश र जनताको सामूहिक स्वार्थमा भएको, त्यतिबेला गाउँबाट सहर घेर्ने रणनीतिले पुँजीवादी क्रान्ति सफल भएको उनको निष्कर्ष छ । उनले शान्ति प्रक्रियामा आएपछि नयाँ समाजवादी क्रान्तिको केन्द्र फेला पार्न नसक्दा पार्टी कमजोर हुँदै गएको जिकिर गरे ।
‘जनयुद्ध लड्दा सबैको स्वार्थ देश र जनताका लागि थियो । त्यतिवेला हामी जनताकै बिचमा थियौँ । शान्ति प्रक्रियामा आएपछि सत्तामा केन्द्रित भयौँ । जीवनशैली बदलियो । अबको क्रान्तिको केन्द्र कहाँ हो भनेर विश्लेषण गर्न सकिएन । जनयुद्धमा गाउँबाट सहर केन्द्रित क्रान्ति गर्यौँ । पुँजीवादी क्रान्ति सफल भयो । तर समाजवादी क्रान्तिका लागि केन्द्र खोज्न हामी चुक्यौँ । सहरकेन्द्रित क्रान्तिका लागि तयारी गर्नुपथ्र्यो त्यो गर्न सकिराखका छैनौँ,’ उनले भने ।
२०२८ सालमा पुष्पलाल समूहबाट नेकपाको सदस्य लिएका प्रचण्ड २०४५ सालमा १७ वर्षमा नेकपा(मशाल)का महामन्त्री बन्न सफल भएका थिए ।
आफू नेतृत्वमा आएपछि माओवादी विचार समुहलाई एकताबद्ध बनाउन सफल भएका उनी २०५२ सालदेखि २०६३ सालसम्म सशस्त्र विद्रोहको नेतृत्व लिए । २०६३ सालदेखि हालसम्म शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेतृत्वदायी भूमिका खेलेका उनले समाजवादी क्रान्तिको नेतृत्व लिन सक्छन् कि सक्दैनन् हेर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण