साउनमा सुस्तायो बक्स अफिस, भदौमा ८ फिल्मले फर्काउलान् रौनक ?
सारांश
- असारमा नेपाली फिल्म बक्स अफिस सुनसान रह्यो, साउनमा पनि खासै चलेन।
- भदौमा विभिन्न विधाका ८ नयाँ नेपाली फिल्म रिलिज हुने, जसले बक्स अफिसमा प्रतिस्पर्धा गर्नेछन्।
- भदौ ६ गते 'माग्ने राजा', 'जनै हराएको मान्छे' र 'ताराहरू' एकसाथ रिलिज हुँदैछन्।
काठमाडौँ । पछिल्लो समय कुन नेपाली फिल्म राम्रोसँग चल्यो । ‘ऊनको स्वीटर’ मात्रै । त्यसपछि थुप्रै फिल्म हलसम्म आए तर जादु चलाउन सकेनन् । असारमा लगभग सुनसान रह्यो नेपाली फिल्मको बक्स अफिस । साउनमा यसले केही गति लिने अपेक्षा गरिएको थियो, तर भएन ।
साउनमा प्रदर्शनमा आएका ‘रियल रिङ्गेट’, ‘सिटामोल’ र ‘मोहर’ले कुनै ठुलो व्यावसायिक सफलता हासिल गर्न सकेनन् । यद्यपि, ‘मोहर’ले अन्य दुई फिल्मको तुलनामा केही हदसम्म दर्शकको साथ पायो ।
त्यसैले भन्न सकिन्छ, पछिल्लो समयको सफल फिल्मको नाम लिनुपर्दा जेठमा प्रदर्शन भएको आर्टमाण्डुको ‘ऊनको स्वीटर’ मात्रै हो । साउनमा रिलिज भएको ‘रियल रिङ्गेट’ न्यून दर्शकका कारण प्रदर्शनको तेस्रो दिनमै अधिकांश हलबाट उत्रियो । ‘सिटामोल’ र ‘मोहर’ अहिले पनि संघर्षरत् छन् । यी फिल्महरू ठूला हिन्दी फिल्म ‘कुली’ र ‘वार २’ को चपेटामा पर्दा शो संख्या निरन्तर घट्दो अवस्थामा छ ।
भदौमा फिल्मी माहोल जुर्मुराउने संकेत देखिएको छ । यो महिना दर्शकले फरक–फरक कथावस्तुका आठ नयाँ नेपाली फिल्म पर्दामा हेर्न पाउनेछन्, जसले बक्स अफिसमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ । भदौको सुरुवात अर्थात् भदौ ६ गते ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ एकसाथ प्रदर्शनमा आउँदैछन्, जसले बक्सअफिसमा त्रिपक्षीय भिडन्तको अवस्था सिर्जना गर्नेछ । त्यसैगरी भदौ १२ गते ‘कोसेढुंगा’ र भदौ १३ गते ‘गुन्युचोलो’ रिलिज हुनेछन् ।
तेस्रो साता अर्थात् भदौ २० गते ‘रिमै’ र ‘चिठी’ एकसाथ प्रदर्शनमा आउने तयारीमा छन् । महिनाको अन्तिम शुक्रबार भदौ २७ गते फिल्म ‘अभिमन्यु’ले प्रदर्शन मिति तोकेको छ ।
भदौमा रिलिज हुने यी फिल्ममा सर्सती हेर्दा कमेडी, सामाजिक व्यङ्ग्य, पारिवारिक ड्रामा, पहिचानको खोजी र सस्पेन्स थ्रिलरजस्ता फरक–फरक विधालाई समेटिएका छन् ।
- कमेडी, सपना र संघर्षको भिडन्त
भदौ ६ गते ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ गरेर तीन फरक कथावस्तुका फिल्म एक अर्कासँग भिड्ने तयारीमा छन् । एक किसिमले भन्नुपर्दा यसले दर्शकलाई आफ्नो रोजाइको फिल्म छान्ने अवसर प्रदान गर्नेछ ।
ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’ले एक साधारण गाउँले युवाको धनी बन्ने सपनालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्छ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेको फिल्म दर्शकमाझ प्रतीक्षित छ । फिल्मको ट्रेलरमा केदार घिमिरे विभिन्न अवतारमा देखिएका छन् ।
फिल्ममा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देलजस्ता कलाकारहरूको पनि अभिनय छ भने आर्यन सिग्देल विशेष भूमिकामा देखिनेछन् । फिल्मले विना मिहिनेत पैसा कमाउने प्रवृत्तिको आलोचना गर्दै सामाजिक सन्देश दिने निर्माण पक्षको दाबी छ ।
यही मितिमा फिल्म ‘जनै हराएको मान्छे’ पनि लाग्दैछ । हिमाल न्यौपाने निर्देशित यो फिल्मले गाउँबाट सहर पसेको एक युवाको सपना, सङ्घर्ष र सम्बन्धको कथा भन्छ । विजय बरालको केन्द्रीय भूमिका रहेको फिल्ममा केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, भोलाराज सापकोटा जस्ता कलाकारको अभिनय छ । भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद रहेको यो फिल्मले सहरिया जीवनको यथार्थ र सम्बन्धको जटिलतालाई पर्दामा देखाउनेछ ।
त्यसैगरी भदौ ६ मै आशाान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ पनि प्रदर्शनमा आउँदैछ । यो फिल्मले सहरिया निम्नमध्यमवर्गीय परिवारको कथालाई प्रस्तुत गर्छ । आफ्नो सपना र आकाङ्क्षा पूरा गर्न सङ्घर्षरत एक अधबैँसे व्यक्तिको कथामा केन्द्रित फिल्मले मानसिक द्वन्द्व र त्यसबाट पार पाउन गरिने प्रयासलाई देखाउनेछ । निर्देशक शर्माका अनुसार गलत निर्णयले जीवनमा ल्याउने उथलपुथल र मित्रताले देखाउने सही मार्ग नै फिल्मको मूल कथा हो ।
मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का लगायत कलाकारहरूको समेत फिल्ममा अभिनय छ ।
- मौलिक र पहिचानको कथा
भदौको दोस्रो र तेस्रो साता रिलिज हुने फिल्म दर्शकका लागि विशेष हुनेछ । किनभने सर्वाधिक सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशित ‘कोसेढुंगा’ भदौ १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । स्याङ्जाको रमणीय परिवेशमा खिचिएको फिल्ममा आर्यन सिग्देल, सुरक्षा पन्त, ऋचा शर्मा, सरोज खनाल जस्ता कलाकारहरूको अभिनय छ ।
त्यस्तै भदौ १३ गते प्रदर्शन हुने ‘गुन्युचोलो : द ड्रेस’ यस वर्षको प्रतीक्षित फिल्म हो । फिल्ममा नाजिर हुसेनले ट्रान्सवुमनको भूमिका निर्वाह गरेका छन् । समुन्द्र भट्ट निर्देशित यो फिल्मले नेपाली समाजमा ‘वर्जित’ मानिने विषयलाई मूलकथा बनाइएको छ । नेपाल र अमेरिकाका निर्माताको सहकार्यमा निर्माण भएको यस फिल्ममा हलिउडकी संगीतकार लिजा जेरार्डको समेत संलग्नता छ ।
फिल्ममा नाजिरका साथै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको मुख्य भूमिका छ ।
भदौ अन्त्यमा रहस्यको कथा
भदौ २० गते दुई फरक विधाका फिल्म ‘रिमै’ र ‘चिठी’ प्रदर्शनमा आउँदैछन् । ‘रिमै’ एक रहस्यमय, रोमाञ्चक र भावनात्मक कथामा बनेको फिल्म हो । फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र बुद्धि तामाङको अभिनय छ । उपेन्द्र सुब्बाको लेखन र शैलेन्द्रध्वज कार्कीको छायाङ्कन रहेको फिल्मले समाजको गहिरो यथार्थलाई पर्दामा उतार्ने विश्वास गरिएको छ ।
यही मितिमा प्रदर्शन हुने माधवराज खरेलद्वारा लिखित तथा निर्देशित ‘चिठी’ले दर्शकलाई कमेडी, सस्पेन्स र थ्रिलरको अनुभव गराउनेछ ।
खड्गबहादुर पुन मगर (खबपु), गोपाल ढकाल (छन्दे), सञ्जित भण्डारीलगायतको कलाकारको अभिनय फिल्म छ ।
भदौको अन्तिमतिर अर्थात् २७ गते फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ रिलिज हुनेछ । सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर बाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला अभिनित फिल्म सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको हो । फिल्मका निर्देशन सुशान्त गौतम, निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण