बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
धरान उपमहानगर

धरानको बजेट २ अर्ब २० करोडको आउँदै, वडालाई २१ करोडको सिलिङ

मङ्गलबार, ०३ भदौ २०८२, १८ : २७
मङ्गलबार, ०३ भदौ २०८२

सारांश

  • धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब २० करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।
  • बजेटको स्रोत अनुमानमा एमालेको असहमति रहे पनि बहुमतको आधारमा सिलिङ पारित गरियो।
  • वडा तहबाट योजना आएपछि कार्यपालिका बैठक र नगरसभाबाट बजेट पारित हुनेछ।

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब २० करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। 

लामो समयदेखि रोकिएको बजेट प्रक्रिया अघि बढेसँगै उपमहानगरले बजेटको आकार तय गरेको हो । 

उपमहानगरका प्रवक्ता तथा वडाध्यक्ष मनोज कुमार भट्टराईका अनुसार, बजेटको स्रोत तथा सीमा निर्धारण समितिले बजेटको सिलिङ टुङ्ग्याएर वडा तहमा पठाइसकेको छ । उपमहानगरका २० वटा वडाहरूका लागि कूल २१ करोड रुपैयाँको सिलिङ पठाइएको छ । यो रकम वडाको जनसङ्ख्या, क्षेत्रफल, राजस्व सङ्कलनको अवस्था र विकासको आवश्यकताका आधारमा बाँडफाँट गरिनेछ ।

‘हामीले वडामा बजेटको सिलिङ पठाइसकेका छौँ । आगामी शुक्रबारसम्म वडाहरूले आफ्नो योजना टुङ्ग्याउने समयसीमा दिइएको छ,’ प्रवक्ता भट्टराईले भने, ‘वडाबाट योजनाहरू आएपछि कार्यपालिका बैठक बस्नेछ र त्यसपछि नगरसभाबाट बजेट पारित गरिनेछ ।’

स्रोत अनुमानमा एमालेको असहमति

यद्यपि बजेटको स्रोत अनुमान तथा सीमा निर्धारण समितिमा  नेकपा (एमाले) ले असहमति जनाएको थियो । समितिमा एमालेको असहमति हुँदाहुँदै पनि बहुमतको आधारमा सिलिङ पारित गरेर वडाहरूमा पठाइएको हो ।

धरान उपमहानगरमा एमालेको बहुमत भए पनि स्रोत अनुमान समितिमा मेयर हर्क साम्पाङ, नेपाली कांग्रेस र माओवादी  मिल्दा बहुमत पुगेको थियो ।  सोही बहुमतका आधारमा बजेटको सिलिङ पारित गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

अब वडास्तरको योजना छनोट प्रक्रिया सकिएलगत्तै आगामी आइतबार र सोमबार कार्यपालिका बसेर नगरसभा बोलाउने तयारी रहेको छ । त्यहीँबाट बजेटले अन्तिम रूप पाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप