‘एग्रो डेभलपमेन्ट फन्ड’ स्थापना, रुग्ण उद्योगलाई सघाउने लक्ष्य
सारांश
- एग्रो डेभलपमेन्ट फन्ड लिमिटेड नामक कम्पनी कृषि क्षेत्रका वित्तीय समस्या समाधान गर्न स्थापना भएको छ।
- कम्पनीले बैंकको ऋण र ब्याजको बोझले थलिएका कृषिमा आधारित उद्योगहरूमा इक्विटी लगानी गर्ने लक्ष्य राखेको छ।
- कम्पनीले साउनको दोस्रो साता नेपाल धितोपत्र बोर्डमा प्राइभेट इक्विटी कारोबारको इजाजतका लागि निवेदन पेश गरेको छ।
काठमाडौँ । नेपालको कृषि क्षेत्रमा देखिएका वित्तीय समस्या समाधान गर्ने भन्दै ‘एग्रो डेभलपमेन्ट फन्ड लिमिटेड’ नामक प्राइभेट इक्विटी कम्पनी स्थापना भएको छ । बैंकको ऋण र ब्याजको बोझले थलिएका तथा बन्द हुने अवस्थामा पुगेका कृषिमा आधारित उद्योग व्यवसायमा ऋणको सट्टा इक्विटी (सेयर) लगानी गर्ने मुख्य लक्ष्यसहित काठमाडौँमा यो कम्पनी सञ्चालनमा आउन लागेको कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, राज्यले कृषिलाई प्राथमिकतामा राखे पनि सही उद्यमीले सहयोग पाउन नसकेको, बैंकको किस्ता र ब्याजको बोझ तथा विशेषज्ञ सेवाको अभावमा अधिकांश उद्योग समस्यामा परेको अवस्थालाई मध्यनजर गर्दै फन्ड स्थापना गरिएको हो । वीरगन्ज र काठमाडौँका उद्यमी, व्यवसायी तथा बैंक र बिमा क्षेत्रका विज्ञहरूको पहलमा यो कम्पनी स्थापना भएको हो ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा गत असार २०८२ मा दर्ता भएको यस कम्पनीको अधिकृत पुँजी ५० करोड र तत्काल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । फन्डले प्राइभेट इक्विटीको कारोबार इजाजतका लागि आवश्यक प्रक्रिया पूरा गरी साउनको दोस्रो साता नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको जनाएको छ ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रमेशकुमार भट्टराई रहेका छन् भने सञ्चालकहरूमा विजयबहादुर शाह, उमेशलाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोदकुमार साह छन् ।
कम्पनीका मुख्य प्रवर्द्धकहरूमा नेक्सजेन म्यानेजमेन्ट समूह, क्वेष्ट फर्मास्युटिकल्स समूह, कृषि उद्यमी शिवजी कलवार समूह तथा बैंक र बिमा क्षेत्रका विज्ञहरू रहेका छन्। कम्पनीमा नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेडको सबैभन्दा बढी २३.३३ प्रतिशत लगानी रहेको छ ।
विगतमा नेपालमा उद्योग व्यवसायका लागि स्वपूँजी वा बैंक कर्जाको मात्र विकल्प रहेकोमा यो फन्डले नयाँ अवधारणा अघि सारेको हो। विज्ञप्तिमा भनिएको छ, ‘स्वलागत (इक्विटी) भन्दा बैंक कर्जा बढी हुँदा अत्यधिक ब्याज र किस्ता तिर्न नसकेर अधिकांश उद्योग रुग्ण वा बन्द भएका थिए ।’
फन्डले कृषिमा सहयोग गर्न चाहने सङ्घसंस्था र व्यक्तिहरूबाट अनुत्पादक पुँजी सङ्कलन गरी कृषिमा आधारित उद्योगहरूमा इक्विटी शेयरमार्फत लगानी गर्ने र विशेषज्ञ सेवा पनि प्रदान गर्ने लक्ष्य राखेको छ।
कम्पनीले समस्यामा परेका कृषि उद्यमीलाई सहयोग गर्न राज्य सरकार, सङ्घीय सरकार र अन्तर्राष्ट्रिय निकायहरूसँग समेत समन्वयका लागि प्रारम्भिक सम्पर्क गरिसकेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण