बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘धेरैजसो तिजका गीत उट्पट्याङ छन्’

बिहीबार, ०५ भदौ २०८२, ०९ : १३
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • गायिका एलिना चौहानले यस वर्ष २८ वटा तिज गीत गाइसकेकी छिन्, जसमा 'पृथ्वी छोडेर' र 'छोरीको शिर आमा' हिट छन्।
  • उनले तिज गीतको वर्तमान अवस्था र विकृतिबारे कुरा गर्दै, अहिलेका गीतहरूमा व्यावसायिकता हावी भएको बताइन्।
  • उनका अनुसार, तिज गीत महिलाको चाड हो र यसमा महिलाको पीडा, समस्या र चाहना व्यक्त हुनुपर्छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । एलिना चौहान पछिल्लो समयकी चर्चित र व्यस्त गायिका हुन् । ‘धोखेबाज’, ‘भाग्यमा खोट छ’, ‘रुवाउने हजार’, ‘मायाको नाटक’, ‘कट्टा हान्दिन्छु’, ‘छुट्यो पिरिम’लगायत उनका अधिकांश गीत हिट छन् । 

तिज गीतमा पनि उनको सक्रियता उत्तिकै छ । अघिल्ला वर्षहरूमा एक दर्जन हाराहारीका तिज गीत गाएकी उनको यस वर्ष २८ वटा पुगिसक्यो । तीमध्ये दुई गीत ‘पृथ्वी छोडेर’ र ‘छोरीको शिर आमा’ उनले आफ्नो आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेकी छन् । यतिवेला अमेरिका रहेकी एलिनासँग रातोपाटीका कुबेर गिरीले तिज गीतको वर्तमान अवस्था, विकृतिबारे कुराकानी गरेका छन् । 

  • यो वर्ष तिजका गीत कत्तिको गाउनुभयो ? 

– यो वर्ष मैले गाएका तिज गीत २८ भन्दा बढी भयो होला । तीमध्ये १५, १६ वटा सार्वजनिक भइसकेका छन् भने कतिपय तयारीमा छन् । एकै दिन चार वटासम्म गीत रेकर्ड गरेकी छु ।

  • आफ्नैचाहिँ कति छन् ?

– मेरो आफ्नोचाहिँ तीन वटा आयो । तीनमध्ये ‘पृथ्वी छोडेर’ र ‘छोरीको शिर आमा’ बोलको गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको थिएँ । यी दुवै गीत यो वर्ष बजारमा आएका मध्ये सबैभन्दा हिट छन् । मैले स्वर दिएको लोकगायक तथा सर्जन कस्तुप पन्तको गीत ‘सबैको हाई हाई’ समेत सर्वाधिक चर्चामा छ ।

  • अचेलका तिज गीतमा कस्ता विषयवस्तु छन् ? तपाईँका गीतचाहिँ कस्ता छन् ?

– विगतका वर्षको तुलनामा यो वर्ष धेरैथरीका तिजगीत गाएँ । मैले गाएका अधिकांश गीत सासू–बुहारीको सम्बन्ध, भेदभाव र पारिवारिक किचलोका विषयमा छन् । अहिले यस्तै विषयमा गीत बनाउने चलन बढेको देखिन्छ ।

  • तपाईंको विचारमा तिज गीत किन बनाइन्छ ? 

– तिज महिलाको चाड हो । घर, परिवार, माइती, मावलीलगायत विषयमा सीधै र अरू वेला भन्न नसकिने कुरा गीतमार्फत व्यक्त गर्ने चलन पहिल्यैदेखिको हो । अहिले पनि गीत त्यसैका लागि बनाउने हो । म आफैँ एक महिला भएको हिसाबले दिदीबहिनीका वेदना र भावनालाई गीतमार्फत प्रस्तुत गरौँ भन्ने लाग्छ । मेरो प्राथमिकता सधैँ यही हुन्छ । यसबाहेक वर्षमा एकपटक आउने तिज संस्कृति जोगाउनुपर्‍यो । हामी कलाकारलाई विभिन्न पार्टी, कार्यक्रममा जाँदा पनि नयाँ गीत चाहिन्छ, त्यसैले पनि गीत बन्छन् । कतिपयले तिजको अवसर पारेर गीतसंगीत व्यवसायको अवसरसमेत छोप्छन् ।

  • पहिले र अहिलेका तिज गीतमा भिन्नता देख्नुहुन्छ ? 

– धेरै भिन्न छ । पहिलाका तिज गीत एकदमै अनुशासित र मर्यादित हुन्थे । महिला, पीडा, समस्या, चाहना सबै गीतबाट व्यक्त हुन्थे । गीतले समाजका विकृति, विसङ्गतिको समेत चिरफार गर्थ्यो ।

तर, अहिले गीतहरू कुन भाइरल हुन्छन्, कुन कलाकारलाई खेलाउँदा करोड क्लबमा पुग्छ भन्ने होडमा बन्छ । तिजका मर्म नभएका पनि तिज गीत भनेर आउने गरेका छन् । साँचो भन्नुपर्दा, आजकाल यही प्रवृत्ति हाबी छ । धेरैजसो गीत मर्मबाहिरका उटपट्याङ छन् । तिजको मर्मले भरिएको गीत त औँलामा गन्न सकिन्छ ।

  • पहिले तिज गीत महिलाले मात्र गाउँथे । पछिल्लो समय पुरुषहरूको पनि उपस्थिति बाक्लिँदो छ नि ?

– अहिले तिज गीत महिलाको दुःख, पीडा व्यक्त गर्ने माध्यम मात्र भएको छैन, व्यावसायिकतातर्फ पनि उन्मुख भएको छ । अहिले तिज गीतमार्फत लाखौँ कमाउने पनि छन् । तिजमा गीतसङ्गीतबाट राम्रो आम्दानी गर्न सकिन्छ भनेर पनि निकाल्ने गरिन्छ । तिज महिलाको चाड भएकाले गीतमा उनीहरूलाई स्वतन्त्र छोडिदिनुपर्ने हो, तर अहिले पुरुषले पनि सँगसँगै गाउने चलन छ, यो विशुद्ध व्यावसायिक हिसाबले हो । कतिपय गीत महिला र पुरुषले गाउँदा पनि राम्रो र उत्कृष्ट देखिन्छ । त्यसमा महिलाका विभिन्न विषयले प्राथमिकता पाएको देखिन्छ । कतिपय भने विकृति छन्, जसलाई नियन्त्रण गर्न जरुरी छ ।

  • गीतबाहेक तिज मनाउने शैली कस्तो छ नि ?

– तिज मनाउने शैलीमा पनि धेरै विकृति भित्रिएको छ । चार–पाँच महिना अघिदेखि नै दर खाने कार्यक्रम सुरु हुन्छ । त्यस्ता कार्यक्रममा जाँड–रक्सी अनिवार्यजस्तै भएको छ । कतिपय दिदीबहिनीहरूले नै स्वतन्त्रताको नाममा सीमा नाघेको देखिन्छ, यो राम्रो होइन । यसले समाजलाई राम्रो बाटोतिर डोहोर्‍याइरहेको जस्तो देखिन्न । यसमा हामी दिदीबहिनीले वेलैमा ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।

  • हरेक वर्ष तिजमा पाँच सय हाराहारी गीत बन्छन् । एक दिनको लागि यति धेरै किन ? बजार र व्यावसायिक सम्भावना छ त ?

– गीत चल्यो भने एकदमै राम्रो आम्दानी हुन्छ । युट्युबले राम्रो पैसा दिन्छ । विभिन्न डिजिटल प्लेटफर्म, रोयल्टीलगायत आम्दानीका अनेक बाटाहरू छन् । तर, चलेन भने लगानी डुब्ने खतरा उत्तिकै हुन्छ । तिजका गीतमा कोरसदेखि अन्य धेरै कुरामा ठुलो लगानी भइरहेको छ । धेरै गीतले लगानी उठाउन मुस्किल छ ।

तर, यो छोटो समयमा चल्ने विधा भएकाले एक–दुई दिनमै वर्षभरि चल्ने गीतकोजति भ्युज पाउन सक्छ । यो वर्ष मैले ल्याएको एक गीत २४ घण्टामा ४० लाखभन्दा बढीले हेरेका थिए ।

  • पहिलो पटक तिज गीत गाएको याद छ ?

– म साङ्गीतिक क्षेत्रमा आजभन्दा ८–९ वर्ष अगाडि आएकी हुँ । मैले यो क्षेत्रमा आउने बित्तिकै ‘आयो चेली’ भन्ने गीत गाएकी थिएँ । तर त्यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ र बजिरहने गरेको छ । त्यो देख्दा खुसी लाग्छ ।

  • तिजका कार्यक्रममा के कस्ता गीत गाउने योजना छ ?

– मेरो यो पटक तिज विशेष कार्यक्रम अमेरिकामा छ । अहिलेसम्म अमेरिकामा १२–१३ वटा कार्यक्रम पक्का भइसकेको छ । कार्यक्रममा मसँगै बद्री पङ्गेनी दाइ र गायिका कला लम्साल पनि हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप