शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्जेन्टिना भाग्न चाहन्थे पूर्वराष्ट्रपति बोल्सोनारो

शुक्रबार, ०६ भदौ २०८२, ०७ : १०
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • ब्राजिलको प्रहरीले पूर्वराष्ट्रपति बोल्सोनारो र छोरामाथि न्याय अवरोध गरेको आरोप लगाएको छ।
  • बोल्सोनारोले सन् २०२२ को चुनावमा हारपछि असफल 'कू' प्रयासमा हस्तक्षेप गरेको आरोप छ।
  • बोल्सोनारोलाई घरमै नजरबन्द गरिएको छ र सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।

ब्रासिलिया । ब्राजिलको प्रहरीले ७० वर्षीय पूर्वराष्ट्रपति जायर बोल्सोनारो र उनका ४१ वर्षीय छोरा एडुआर्डोमाथि न्याय अवरोध गरेको आरोप लगाएको छ ।

प्रहरीका अनुसार दुबैले सन् २०२२ को राष्ट्रपति चुनावमा पराजित भएपछि बोल्सोनारोले नेतृत्व गरेको भनिएको असफल ‘कू प्रयास’ सम्बन्धी चलिरहेको मुद्दामा हस्तक्षेप गर्ने प्रयास गरेका हुन् ।

बोल्सोनारोको मोबाइल फोनमा प्रहरीले अर्जेन्टिनामा राजनीतिक आश्रय खोज्ने तयारी गरेको देखिने अभिलेख भेटिएको दाबी गरेको छ । सो ३३ पृष्ठ लामो पत्र अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइलीलाई सम्बोधन गरिएको थियो र सन् २०२४ को फेब्रुअरीमा अन्तिम पटक सम्पादन गरिएको भेटिएको छ । यद्यपि उक्त पत्र पठाइएको पुष्टि भएको छैन ।

बोल्सोनारो अहिले घरमा नजरबन्द छन् । उनलाई सामाजिक सञ्जाल प्रयोग गर्न वा छोरा एडुआर्डोसँग सम्पर्क राख्न समेत अदालतले रोक लगाएको छ ।

प्रहरी प्रतिवेदनमा एडुआर्डो बोल्सोनारोमाथि अमेरिकी प्रशासनमा दबाब सिर्जना गरेर मुद्दामा प्रभाव पार्न खोजेको आरोपसमेत लगाइएको छ । यसै क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाईमा ब्राजिलियन सामानमाथि ५०% आयात शुल्क बढाउने घोषणा गरेका थिए भने अमेरिकी विदेश मन्त्रालयले ब्राजिलका आठ जना सर्वोच्च अदालतका न्यायाधीशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

जायर बोल्सोनारोले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै यो ‘राजनीतिक प्रतिशोधपूर्ण अभियान’ मात्र भएको दाबी गरेका छन् । उनले गत महिना रोयटर्ससँग कुरा गर्दै भनेका थिए, ‘मलाई सजाय गर्ने निर्णय अदालतले पहिले नै गरिसकेको छ ।’

उता, एडुआर्डो बोल्सोनारोले सामाजिक सञ्जालमार्फत आफ्नो गतिविधि कुनै पनि न्यायिक प्रक्रिया प्रभावित गर्न नभएको, बरु ‘देशमा व्यक्तिगत स्वतन्त्रताको पुनःस्थापना’ गर्ने उद्देश्य रहेको प्रतिक्रिया दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप