बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

स्वीकृत नै नगराई उपसभामुख रानामगर १० पटक विदेश भ्रमणमा (सूचीसहित)

७ पटक स्वीकृत गराएर भ्रमण
शुक्रबार, ०६ भदौ २०८२, २१ : ३०
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • उपसभामुख इन्दिरा राना मगरले १७ पटक विदेश भ्रमण गरेकी छन्, जसमध्ये १० पटक सभामुखको स्वीकृति बिना नै भ्रमण गरेकी थिइन्।
  • एमाले सांसद योगेश भट्टराईले राना मगरको विदेश भ्रमणको तथ्याङ्क प्रस्तुत गर्दै उनको आचरणमाथि प्रश्न उठाएका छन्।
  • राना मगरले विभिन्न देशहरूमा औपचारिक र अनौपचारिक भ्रमण गरेकी थिइन्, जसमा सिंगापुर, चीन, रसिया, र अन्य देशहरू समावेश छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । इन्दिरा राना मगर प्रतिनिधि सभाको उपसभामुख भएपछि १७ पटक विदेश भ्रमणमा गएकी छन् । उपसभामुखले सभामुख समक्ष भ्रमण स्वीकृत गराएर विदेश जानुपर्ने व्यवस्था भए पनि राना मगरले ७ पटकमात्र यस्तो व्यवस्था पालना गरेकी छन् । उनी १० पटक सभामुखसँग स्वीकृत नगराई विदेश भ्रमणमा गएको देखिएको छ । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमाले सचिव तथा सांसद योगेश भट्टराईले पनि यसबारे बताएका छन् । बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले भने, ‘उपसभामुखमा निर्वाचित भएपछि १७ पटक विदेश भ्रमणमा जानुभएछ । त्यसमध्ये कानुन अनुसार ७ भ्रमण मात्रै सभामुखज्यूसँग स्वीकृत गराएर जानु भएको रहेछ । १० पटक स्वीकृत नै नगराएर जानुभएछ । जनप्रतिनिधिहरूको थलो सम्मानित सदनको नेतृत्व गर्ने व्यक्ति यसरी जाँदा आम नागरिकले कसरी बुझ्ने ? उहाँ कहाँ जानुभएको छ भन्दा के जबाफ दिने ? यही हो आचरण ?’

उपसभामुख राना मगर औपचारिक रूपमा विदेश भ्रमणमा गएको ७ पटक र अनौपचारिक रूपमा विदेश भ्रमणमा गएको १० पटकको सूची रातोपाटीलाई प्राप्त भएको छ । राना मगर औपचारिक रूपमा सन् २०२३ को मे १५ देखि १७ सम्म सिंगापुरमा भएको अन्तर्राष्ट्रिय व्यापारमा आरएसआइएस डब्ल्यूटीओ संसदीय कार्यशालामा भाग लिन गएकी थिइन् । उनीसँग प्रतिनिधिसभा सदस्यहरू अम्मरबहादुर रायमाझी र विनोद चौधरी पनि गएका थिए । 

त्यस्तै सन् २०२३ कै जुलाई ८ देखि ९ गतेसम्म चीनको गुइयाङमा भएको इको फोरम ग्लोबलमा भाग लिन उपसभामुख राना मगर सांसदहरू मैना कार्की, भगवती चौधरी, चन्दा कार्की (भण्डारी) उपसचिव विमलराज जोशीको नेतृत्व गर्दै गएकी थिइन् । 

त्यस्तै उनी सन् २०२४ को सेप्टेम्बर ८ देखि २० सम्म सेन्ट पेटर्सवर्ग रसिया, सन् २०२४ कै जुलाई २ देखि ७ सम्म लिन्झी चाइना, २०२५ को मे ११ मा बंगालादेशसहितका देशमा गएकी छन् । 

त्यस्तै अनौपचारिक रूपमा राना मगरले स्पेन, अमेरिका, भारत, बंगलादेश र हङकङको भ्रमण गरेकी छन् । अनौपचारिक रूपमा उनले ४ पटक अमेरिका, ३ पटक भारतको भ्रमण गरेकी छन् भने स्पेन, बंगलादेश र हङकङमा एक/एक पटक गएकी छन् । 

यस्तो छ रातोपाटीलाई प्राप्त उपसभामुख रानामगर औपचारिक र अनौपचारिक रूपमा विदेश भ्रमणमा गएको सूची :

औपचारिक

1

  • अनौपचारिक

2

सामान्यतया उपसभामुख विदेशभ्रमणमा जाँदा प्रक्रियागतरुपमा टिप्पणी उठाएर सभामुखले स्वीकृत गर्नुपर्छ । सभामुखको सचिवालयका अनुसार उपसभामुखले १० वटा भ्रमणबारे सामान्य जारी गराएको तर स्वीकृत भने नगरिएको हो ।

सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले रानामगरको आचरणको विषय उठाएर पदबाट हटाउन आफ्ना पार्टीका सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेका छन् । प्रतिनिधि सभा सदस्य पदमा उनी निर्वाचित भएको दल रास्वपाले उक्त कार्यको विरोध गरिरहेको छ । यसै सन्दर्भमा उनको पदीय आचारणमाथि प्रश्न उठ्ने विदेश भ्रमणको सूची सार्वजनिक भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप