बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने

शनिबार, ०७ भदौ २०८२, ११ : ५८
शनिबार, ०७ भदौ २०८२

सारांश

  • मन्त्री न्यौपानेले सरकारी पदमा खुला राख्न नसकिने बताएकी छिन्, कर्मचारीको ध्यान लोकसेवामा जाने भएकाले यस्तो निर्णय लिइएको हो।
  • संघीय निजामती सेवा विधेयकले नासु र सहसचिव पदमा खुला प्रतिस्पर्धाको बाटो बन्द गरेको छ, जसले गर्दा खरिदारबाट बढुवाको बाटो खुला हुनेछ।
  • विधेयकले उपसचिव, शाखा अधिकृत र सहायक पदमा मात्रै खुला प्रतिस्पर्धाको व्यवस्था गरेको छ, उपसचिवमा १० प्रतिशत पदपूर्ति खुला विज्ञापनबाट हुनेछ।

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सरकारी सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताएकी छन् । 

 शुक्रबार राष्ट्रिय सभाको बिधायन व्यवस्थापन समितिको बैठकमा आफुले राखेको धारणाबारे थप प्रष्ट पार्दै मन्त्री न्यौपानेले निजामतीको सबै पदमा खुला राख्दा कर्मचारीहरूमा काममा भन्दा बढी लोकसेवामा ध्यान जाने गरेको बताइन् । 

संघीय निजामती सेवा विधेयकमा नासु खुलाबाट नगर्ने प्रस्ताव छ । प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा सम्बन्धी विधेयकमा लोक सेवा आयोगबाट अब नायब सुब्बा, सहसचिव पदमा खुला विज्ञापन नहुने अवस्था छ ।

 ‘खरिदार र नासुमा एकै योग्यता र कोर्षबाट परीक्षा दिन पाइने हुँदा निजामती सेवामा खरिदारको खुला विज्ञापन गरेपछि नासुमा पनि विज्ञापन गर्दा उक्त कर्मचारीको ध्यान नासुको परीक्षामा बढी केन्द्रित हुने मेरो भनाई हो,’ मन्त्री न्यौपानेले स्पष्ट पारिन् ।  सबै पदमा खुला विज्ञापन गर्दा कर्मचारीहरू आफ्नो वृद्धि विकासका लागि कार्यालयमा हाजिर लगाएर लोक सेवाको तयारी स्वरूप पढाइमा केन्द्रित हुने र यसले सरकारले चाहेअनुसारको नतिजा दिन नसक्ने मन्त्री न्यौपानेले बताइन् । 

राष्ट्रिय सभामा छलफल भइरहेको विधेयकमा खरिदार तहबाट बढुवा सम्बन्धी व्यवस्था छ । खरिदार तहमा आन्तरिक बढुवामार्फत मात्र नायब सुब्बामा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ । खरिदार तहमा प्रतिस्पर्धा गर्न कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ । विधेयकले सहसचिव र नायब सुब्बा पदमा खुला प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरेको छ । उपसचिव, शाखा अधिकृत र सहायक (खरिदार) मा मात्रै खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश पाइनेछ । यसका अलावा उपसचिवमा १० प्रतिशत खुला विज्ञापनद्वारा पदपूर्ति गरिने व्यवस्था राखिएको छ ।

यस्तै विधेयकमा अब उपसचिवमा प्रतिस्पर्धा गर्न शाखा अधिकृत भएको ७ वर्ष पूरा भएको हुनुपर्दछ । अहिलेसम्म खुला प्रतिस्पर्धाबाट सहसचिव लड्न पाउने व्यवस्था रहेकोमा यो विधेयक पास भएपछि खुलामा सहसचिव लड्न पाइने छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप