बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्र बैंककाे रिपाेर्ट

यस्तो छ एक वर्षको वैदेशिक व्यापार तथ्याङ्क : व्यापार घाटा ६ प्रतिशतले बढ्यो

आइतबार, ०८ भदौ २०८२, १४ : ५५
आइतबार, ०८ भदौ २०८२

सारांश

  • आर्थिक वर्ष २०८१/८२ मा वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई रु.२७७ अर्ब ३ करोड पुग्यो।
  • आयात १३.३ प्रतिशतले वृद्धि भई रु.१८०४ अर्ब १२ करोड पुगेको छ भने व्यापार घाटा ६.० प्रतिशतले बढेको छ।
  • भटमासको तेल, पोलिस्टरको धागो, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिटको निर्यात घटेको छ।

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई रु.२७७ अर्ब ३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्ष यस्तो निर्यातमा ३.० प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११७.८ प्रतिशत, १.६ प्रतिशत र ६.७ प्रतिशतले वृद्धि भएको छ । 

यस्तै वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, जुस, अदुवा, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई रु.१८०४ अर्ब १२ करोड पुगेको छ ।अघिल्लो वर्ष यस्तो आयातमा १.२ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.२ प्रतिशत र ३१.७ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चामल/धान, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ । 

यस्तै पेट्रोलियम पदार्थ, हवाइजहाजका स्पेयर पार्टपुर्जा, सुन, रासायनिक मल, विद्युतीय उपकरणलगायतका वस्तुको आयात घटेको तथ्याङ्कमा उल्लेख छ । 

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । 

आयाततर्फ जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय

भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु व्यापार घाटा ६.० प्रतिशतले वृद्धि भई रु.१५२७ अर्ब ९ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो घाटामा १.० प्रतिशतले कमी आएको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात १५.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप