नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद !
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले हालै एक कार्यक्रममा व्यंग्यात्मक भावमा भनेका थिए- ‘नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद !’
अहिले नेपाली समाजमा बनेको नयाँ भाष्यप्रति उनको यो कटाक्ष थियो । साथै, पुराना दलहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको स्वीकारोक्ति पनि ।
मान्छेहरु अहिले विचारको कुरा गर्दैनन् । राजनीतिमा त्याग, बलिदान र इमान्दारीको मूल्य घटेको छ । वाम, बुर्जुवा र पुरातनका बिच हुने स्वाभाविक भेद दिनप्रतिदिन साँघुरो बन्दैछ । त्यसकारण त दलहरुको मूल्यांकन पनि विचार, सिद्धान्त, नीति, कार्यक्रम र वर्गपक्षधरताको आधारमा होइन, नयाँ र पुरानोको आधारमा हुन खोजिरहेको छ । यसरी दल छनोटको सन्दर्भमा सिंगो समाज पूरै अन्योलग्रस्त बनेपछि भुसालको यो टिप्पणी आएको हुनुपर्छ । यो प्रश्नको उत्तर नखोजी अब हाम्रो समाज अघि बढ्न नसक्ने देखियो । अन्यथा ‘पुरानो भ्रष्ट ठीक कि नयाँ भ्रष्ट ठीक’ भन्ने अर्थहीन बहसको गोलचक्करमा हामी फस्ने छौँ, फसिरहेका छौँ पनि ।
यो गोलचक्करबाट उम्किन सबभन्दा पहिले आज क्रियाशील राजनीतिक दलहरुका चरित्र र व्यवहारलाई छलफलको विषय बनाउनुपर्छ । दलहरु कस्तो हुनुपर्ने थियो ? आज कस्ता छन् ?
समाजमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मामिलामा बहुविचारहरु हुन्छन् । ती भिन्न भिन्न विचारहरुका भिन्न भिन्न दल निर्माण हुने हो । अर्थात् दल भनेको समान विचार राख्ने मान्छेहरुको ध्रुवीकरण हो । मार्क्सवादी भाषामा भन्ने हो भने दलहरु वर्गसंघर्षका माध्यम हुन् । उनीहरु आ-आफ्नो वर्गको पक्षपोषण गर्छन् । आफ्नो दलको विचारलाई समग्र समाजको विचार बनाउन उनीहरु दलमार्फत संघर्ष गर्छन् । त्यस्तो संघर्ष सेपियन्सहरुको उदयदेखि आजसम्म निरन्तर भइरहेको छ । त्यही संघर्षले समाजलाई निरन्तर अगाडि बढाइरहने हो । जब संघर्ष रोकिन्छ, तब समाज स्थिर हुन्छ ।
भ्रष्टाचारको दलदलमा फसेका दलका नेताहरुलाई देखाएर नयाँका नाममा आएकाहरुले गरेको ठगी जस्ता कुरा सहजै माफी पाउने परिस्थिति निर्माण हुँदैछ । समग्रमा ‘पुराना भ्रष्टहरु भन्दा नयाँ भ्रष्ट ठीक’ भन्ने भाष्यको निर्माण वर्तमान दलहरुको अयोग्यता र नालायकीले नै निम्तिएको हो ।
आज हामी विचारका हिसाबले स्थिर समाजमा बाँचिरहेका छौं । दलहरुभित्र छलफल र बहस अवरुद्ध छ । छलफल समाप्त भएपछि सत्य र ज्ञानको उत्पादन र पुनर्उत्पादन पनि रोकिन्छ । ज्ञानको अभावमा तर्क र तथ्यहरु अर्थहीन जस्तो देखिँदैछ । दलहरु विचारको बाहक हुनुपर्थ्यो । आज दलहरु विचारको बाहक होइन, केवल सत्ताप्राप्तिको साधन बन्दैछन् ।
त्यसैले त मान्छेहरुमा विचारका आधारमा संगठित हुने प्रवृत्ति घटिरहेको हो । दलहरु पनि विचारका आधारमा भन्दा पनि चुनावमा प्रभाव पार्ने व्यक्ति भित्र्याउन खोज्दैछन् । दल निर्माणको आधार वैचारिक नभएपछि त्यस्तो दलको मुख्य उद्देश्य केवल सत्ताप्राप्ति हुनु अस्वाभाविक पनि होइन ।
दलहरुमा विचारविहीनता कति डरलाग्दो छ भने राजवादीहरु कम्युनिस्ट पार्टीको झण्डा र चिन्ह लिएर चुनाव लड्दैछन् । बुर्जुवाहरु कम्युनिस्ट पार्टीका लागि भोट माग्दैछन । कम्युनिस्टहरु समान विचार राख्ने अन्य वाम पार्टी समाप्त पार्न राजावादी र कांग्रेससँग चुनाव र सत्तामा सहकार्य गर्दैछन् ।
अहिलेको सबैभन्दा ठुलो वाम पार्टी एमाले त एक कदम अगाडि बढेर दुई दलीय व्यवस्थाको वकालत गर्दैछ र भन्दैछ- हामीलाई भोट हाल्नुस् कि कांग्रेसलाई भोट हाल्नुस् । ऊ अन्य वाम पार्टी समाप्त गर्न बुर्जुवा पार्टीको प्रचारमा उद्दत छ ।
त्यसकारण आम मान्छेहरु कार्यक्रमका हिसाबले पार्टीहरुबिच फरक छुट्याउन नसक्ने अवस्थामा पुगे । त्यसैले त ‘पुराना पार्टीहरु’ भन्ने भाष्य निर्माण भयो । त्यस्ता पुराना पार्टी भन्ने भाष्यमा वाम र बुर्जुवाहरु एउटै डालोमा हालिएका छन् । राज्यका प्रबन्धहरुमा, नीतिहरुमा, कार्यक्रमहरुमा, विकास कसका लागि भन्ने सिद्धान्तमा र वर्गहरुका पक्षधरताको सन्दर्भमा वाम र बुर्जुवाहरुका बिच भिन्नता नदेखिए पछि समाज बरालिन्छ । बरालिएको समाज स्वभावैले अराजकतातर्फ उन्मुख हुन्छ । त्यो अराजकताले ठीक बेठिक छुट्याउँदैन । त्यस्तो समाज कतिपय अवस्थामा हिंसातर्फ मोडिन पनि सक्छ, अन्यथा दुर्गा र रविहरु जन्माएर आम मतदाताहरुले दलीय व्यवस्थाप्रति नै रोष प्रकट गर्छन्, प्रतिशोध लिन्छन् ।
अहिले क्रियाशील दलहरुमा कि त मालिक छन्, कि त दास छन् । इमान्दार नेता कार्यकर्ता थिचिएका छन् । कम्युनिस्ट पार्टीहरुमा ‘राताआँखे जनवाद’ क्रियाशील छ । राताआँखे जनवादले पार्टीहरुमा दास जन्माउँछ । दासताले थिचिएका कार्यकर्ताहरु तर्क गर्दैनन्, प्रश्न उठाउँदैनन् । त्यसैले त एमाले अध्यक्ष ओली उत्साहित हुँदै भन्छन्- ‘म अहिले ७४ वर्षको छु, दुईचोटि अध्यक्ष भएँ, अब म केवल २५ वर्ष मात्र अध्यक्ष हुन चाहन्छु । कसैलाई अध्यक्ष हुन मन लागे अब २५ वर्ष मात्र पर्खिए पुग्छ । त्यसपछि त म छोड्दिहाल्छु ।‘
त्यति मात्र होइन, ३६ वर्षदेखि पार्टी अध्यक्ष रहेका प्रचण्ड भन्छन्- ‘राजनीतिको खाँबो आफूले छाडे गर्ल्यामगुर्लुम भत्किहाल्छ कि भन्ने लाग्छ ।‘
पाँचपटक प्रधानमन्त्री भएर छैटौं पटक प्रधानमन्त्री हुने रोलक्रम पर्खिरहेका देउवा भन्छन्- ‘तपाईं कति पटक प्रधानमन्त्री भइरहने ? भनेर साथीहरु मलार्ई भन्छन् । तर के गर्नु ? जनताले मलाई भोट हाल्दिन्छन् । आफ्नै पार्टीका साथीभाइले निरन्तर सहयोग गरे, त्यसबाहेक अरु पार्टीका साथीभाइले पनि सहयोग गरेर प्रधानमन्त्री भएको हुँ ।‘
प्रमुख नेताहरुका यी भनाइबाट राजनीतिक दलहरुमा आन्तरिक लोकतन्त्रको अवस्था कस्तो छ भन्ने प्रष्ट पार्छ । यो परिस्थिति अन्य स-साना दलहरुमा पनि देखिन्छ । दलभित्रका प्रतिस्पर्धीहरुलाई दुश्मनको व्यवहार गर्ने रोग सबैतिर समानरुपले व्याप्त छ । प्रमुख नेताहरु यति धेरै असहिष्णु भएका छन् कि उनीहरु फरक विचार सुन्नै चाहँदैनन् ।
नेपाली राजनीतिमा निरन्तर देखापरिरहेको यो भद्रगोलमा धमिलो पानीमा माछा मार्ने प्रवृत्ति विकास हुनु कुनै नौलो कुरा होइन ।
निर्वाचित मान्छे भन्दा वंशका आधारमा शासन चलाउने मान्छे इमान्दार हुन्छ भन्ने भाष्यको निर्माण निर्वाचितहरु बेइमान भएर नै बनेको हो । सांस्कृतिकरुपमा पतन भएका दलका नेताहरुको बिगबिगी देखेर वाक्क भएका आम जनता नयाँका नाममा आएकाहरुलाई ‘सात खुन माफ’को मनस्थितिमा देखिन्छन् । भ्रष्टाचारको दलदलमा फसेका दलका नेताहरुलाई देखाएर नयाँका नाममा आएकाहरुले गरेको ठगी जस्ता कुरा सहजै माफी पाउने परिस्थिति निर्माण हुँदैछ । समग्रमा ‘पुराना भ्रष्टहरु भन्दा नयाँ भ्रष्ट ठीक’ भन्ने भाष्यको निर्माण वर्तमान दलहरुको अयोग्यता र नालायकीले नै निम्तिएको हो ।
अब यो नयाँ दल र पुराना दलको नाममा देखा परेको सामाजिक अराजकता रोकिनुपर्छ । भ्रष्ट भ्रष्ट नै हुन्छ, चाहे त्यो नयाँ होस् वा पुरानो होस् । समाजलाई ठीक मार्गनिर्देशन गर्ने शक्ति सतहमा नआई अब अराजकता रोकिनेवाला छैन । अन्यथा सत्तारुढहरु थप फासिस्ट हुने र सडक अराजकतावादीहरुको कब्जामा जाने खतरा दिनप्रतिदिन बढ्दैछ । त्यसका लागि दलहरु विचारको बाहक बन्नुको विकल्प छैन । यसका लागि काम गरौं, यो सम्भव छ ।
(अर्याल नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग उपप्रमुख हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण