डा. अरनिको पाँडेमाथिको कसुर के हो ?
सारांश
- रास्वपाका केन्द्रीय सदस्य डा. अरनिको पाँडे साइबर ब्यूरोको हिरासतमा छन्, उनीमाथि एक महिलालाई विद्युतीय माध्यमबाट अपशब्द बोलेको आरोप लागेको छ।
- प्रहरीले पाँडेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ र उनी कम्तीमा ३ दिन हिरासतमा रहनेछन्।
- यस घटनामा, नेकपा एमालेका नेता ऐन महरलाई भने उही प्रकृतिको मुद्दामा हाजिर जमानीमा छाडिएको छ, जसले विवाद सिर्जना गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. अरनिको पाँडे अहिले साइबर ब्यूरोको हिरासतमा छन् ।
प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । अनुसन्धान प्रतिवेदन बुझाए पनि उनी अब कम्तीमा ३ दिन हिरासतमा रहन्छन् ।
वातावरणविद् पाँडे २०७९ भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए । उनी २०८० मा राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए ।
वातावरणविद् पाँडेले करिब ४८ वर्षीया महिलालाई विद्युतीय माध्यमबाट अपशब्द बोलेको आरोप छ । ती महिलाले साइबर ब्युरोमा जाहेरी दिएपछि उनी विरुद्ध पक्राउ पुर्जी आएको थियो । पुर्जी आएपछि उनी बुधवार साँझ उनी प्रहरीमा हाजिर भएका थिए ।
केही समय अघि चिनजान भएकी महिलालाई उनले इमेल मार्फत ‘अपशब्द’ लेखेका थिए । अनुसन्धान संलग्न एक जना अधिकृत भन्छन्, ‘पीडित महिलालाई उनले तुच्छ शब्द लेखेर गरेको इमेल विद्युतीय कारोबार ऐनमा प्रमाण लाग्ने देखिएपछि जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएका हौँ ।’
पीडित महिला विदेशमा बस्छिन् । पीडितसँग पाँडेले ह्वाट्स एपमा पनि कुरा गरेका छन् । तर, ह्वाट्स एपमा अश्लील कुराकानी भएको छैन । विदेशबाट जाहेरी पठाएर पीडितले वारेस मार्फत सनाखत गराएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
बौद्धिक व्यक्तित्व भनेर चिनिएका पाँडेले महिलालाई त्यसरी तुच्छ शब्द प्रयोग गरेकोमा आफू आश्चर्यमा परेको साइबर ब्युरोका एक जना उच्च अधिकृतले बताए । उनले भने, ‘उहाँको व्यक्तित्व अनुसार त्यस्तो शब्द कसरी प्रयोग गर्नुभयो भनेर हामी आश्चर्यमा परेका छौँ ।’
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन–२०६३ को दफा ४७ अनुसार महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्न पाइँदैन । त्यस्ता कसुरदारलाई एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
महरलाई काखा, पाँडेलाई पाखा
पाँडे जस्तै सामाजिक सञ्जालबाट महिलालाई गालीगलौज गरेको कसुरमा पुर्जी जारी भएपछि नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर प्रहरीकहाँ पुगे । बुधवार मध्यान्ह पत्नी सनुजा श्रेष्ठलाई लिएर महर भोटाहिटी स्थित साइबर ब्युरोमा पुगेका हुन् ।
महरले प्रहरीमा हाजिर भएको केही घण्टामै ‘उन्मुक्ति’ पाए । महरसँगै उनकी पत्नी सनुजालाई समेत अनुसन्धान अधिकृत र सरकारी वकिलले तत्कालै बयान लिएर ‘हाजिर जमानी’मा छाड्ने निर्णय गरे ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि काफ्लेले महर दम्पतीलाई छाड्ने निर्णय गरेका हुन् । तर, तिनै काफ्लेले बिहीबार त्यस्तै प्रकृतिको कसुरमा संलग्न पाँडेलाई छाडेनन् । पाँडेको मुद्दाबारे काफ्ले भन्छन्, ‘उहाँको मुद्दा फास्ट ट्रयाकमा अदालत लैजान्छौँ ।’
ऐन महरले आफूलाई गालीगलौज गरेको आरोप लगाउँदै रश्मिला धामी विरुद्ध पनि जाहेरी दिएका थिए । धामीलाई पनि केही दिनअघि हाजिर जमानीमा छाडिएको सहन्यायाधिवक्ता काफ्लेले बताए । उनले भने, ‘एउटै मुद्दामा फरक व्यवहार गरिएको छैन ।’
रश्मिला र ऐन महर दम्पतीको बिचमा सामाजिक सञ्जाल ‘फेसबुक’को वाल र म्यासेन्जरमार्फत बाझाबाझ भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
महर अनेरास्ववियुको विद्यार्थी राजनीति गर्दै एमाले पार्टीको केन्द्रीय सदस्य बनेका हुन् । बझाङ घर भएका महर प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बनेका थिए ।
उनी एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए । काठमाडौँ जिल्ला अदालतबाट भदौ ९ मा पुर्जी जारी भएपछि महर दम्पती प्रहरीसँग समन्वय गरेर नै साइबर ब्युरोमा उपस्थित भएको अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण