लघुकथामाथि लघु अन्तर्दृष्टि
सारांश
- लघुकथा आत्मबोधको सूक्ष्म अभिव्यक्ति हो, जुन संक्षिप्त भईकन पूर्ण हुनुपर्छ।
- लघुकथाले सामान्य अवस्थाबाट विशिष्ट अवस्थामा पुर्याउँछ, जसका लागि कथानक, परिवेश, र विम्बविधान प्रयोग गरिन्छ।
- लघुकथाकारले सामान्य विषयवस्तुलाई असामान्य उचाइमा पुर्याएर कथा भन्न सक्नुपर्छ, जसले पाठकमा सुषुप्त संवेदनलाई जगाउँछ।
लघुकथा आत्मबोधको सूक्ष्म अभिव्यक्ति हो । कथा (आख्यानमूलक सिर्जना) को साझा धर्म आत्मबोध हो । आत्मबोध नभएको वा आत्मस्वीकृति सहितको विषयबोध नभएको रचना हुँदैन । लघुकथा ‘स्न्यापसट’ हो, त्यसैले यो सूक्ष्म आत्मबोधको अभिव्यक्ति हो । संक्षिप्त भईकन पूर्ण हुनुपर्ने विशेषताका कारण सूक्ष्म विषयको गहन आत्मबोध हो लघुकथा । सूक्ष्म विषयको गहन अन्तरबोधले पूर्ण अर्थवत्ता सामर्थ्य भने लघुकथाले राखेको हुन्छ । अर्नेस्ट हेमिङ्वेले ६ शब्दको लघुकथा लेखे, त्यो कथाबोध नगर्नेलाई लघुकथा शीर्षक होला, तर त्यसले अर्थ र अभिव्यक्तिका हिसाबमा पूर्णता दिन्छ, त्यसैले लघुकथा हो । थोरै बोलोस्, धेरै बताओस्, त्यहाँ लेखकीय अन्तरबोध रहोस् र पाठकलाई त्यही आत्मबोधमा पुर्याओस्, तब न लघुकथा हुन्छ ।
लघुकथाले व्यवच्छेदनकारी स्थिति ल्याउँछ । सामान्य अवस्थाबाट लेखक वा पाठक विशिष्ट अवस्थामा पुगेका हुन्छन् । सर्जकले पाठकसम्म त्यो अवस्थामा पुुर्याइदिन्छ, यसका लागि कथानक, परिवेश, चरित्रकार्य र विम्बविधानलाई उपयोग गरिएको हुन्छ । त्यो विशिष्ट (वा पृथक्) अवस्थामा पुग्नु व्यवच्छेदन हो । तर यो व्यवच्छेदनको प्रक्रिया स्वाभाविक र आत्मिक हुन्छ र लघुकथा त्यसपछि शक्तिशाली हुन्छ । व्यवच्छेदन वा एक परिवेशबाट विशिष्ट परिवेशमा पुग्ने काम असमान्य अवस्था हो, जसलाई सामान्यीकृत स्वाभाविकता दिन सक्ने क्षमता (वैयक्तिक प्रज्ञा) ले लेखक पहिला आफू तरङ्गित हुन्छ, त्यसपछि पाठकलाई त्यसैगरी तरङ्गित पार्छ । त्यो तरङ्ग विद्युतीय झट्कासरह हुन्छ, हुनुपर्छ । खलिल जिब्रानको ‘आँखे’ र युवराज मैनालीको ‘चक्रवर्ती सम्राट’ले यस्तै तरङ्गित सामर्थ्य बोकेका छन् । सबै घटना यसरी विशिष्ट तरङ्ग वा मानसिक झोँक्का दिन सक्दैनन् । लेखक कुन विषय वा परिस्थिति सामान्यभन्दा माथि छ भन्ने ‘च्वाइस एन्ड पिक अप’को सामर्थ्यमा रहनुपर्दछ । खलिल जिब्रानका कैयन लघुकथामध्ये ‘आँखा’, ‘फ्याउरो’जस्ता तरङ्ग ल्याउने कमै छन् ।
सामान्यताभित्र असमान्यता र असमान्यताभित्र सामान्यता आविष्कार गर्न नसक्ने आख्यानकार लघुकथाकार बन्न सक्दैन । सामान्य विषयवस्तु र घटनालाई असामान्य उचाइमा पुर्याएर कथा भन्ने, असमान्य शक्ति उत्पादन गर्ने क्षमता कथाकारमा हुनुपर्छ । साथै असमान्य घटनाको सामान्य समाधान (सन्देश, प्रश्न वा शिक्षा) दिन कथाकार सक्षम हुनुपर्छ । यही क्षमताले पाठकमा रहेको सुषुप्त संवेदनलाई जागरुक बनाउन सकिन्छ । लघुकथाका विशिष्ट तत्त्वहरू जस्तो कि सामान्य प्रस्तुतिमार्फत विशिष्ट प्रभाव पार्ने, कथा पढिसकेपछि प्रभावोत्पादक कुतूहलता पैदा गर्ने कार्यले पाठकका सुषुप्त संवेदनलाई ब्युँझाइदिन्छ र जागरुक उत्कर्षमा पुर्याइदिन्छ । कथा सकिएपछि कुतूहल सुरु हुने, दिमाग रन्थनाउने प्रश्न छेड्नुपर्छ । अक्षर, शब्दहरूले संवेदनालाई अन्तरबोध गरेर दिमागमा करेन्ट लगाउने कथाशिल्प चाहिन्छ ।
लघुकथाहरू कथाका संरचना विन्यासमा त्यही रूपमा रहन्छन् भन्ने होइन, तर सारभूत तत्त्वहरू संयोजनको विशिष्ट अवस्था भने निर्माण भएको हुन्छ ।
समकालीन लेखन परम्परामा लेख्ने हुटहुटी धेरै छ, धेरै लघुकथाकारहरू जन्मिएका छन्, आफ्ना रचनाबाट उनीहरू दङ्गदास पनि छन् । लघुकथा किन आयो, कथाबाट यो कति भिन्न छ, लघुकथाका रचनाविम्बभित्र समाज र विषय कसरी रहनुपर्छ, प्रस्तुति ओजपूर्ण कसरी बनाउने भन्ने बुझाइ कमैमा छ । लुघकथा पुनर्बोध भएकै छैन् । लेखकहरू लेखिरहेका छन् । धेरै लघुकथाकारहरू रचनाविम्ब नबनाई, व्यङ्ग्यचेत नभरी, सूत्रात्मक नबनाई, स्मार्ट नबनाई घटनाको आख्यानीकरण छोटकरीमा गरिरहेका छन् । यस अर्थमा छोटा कथा लेखेर लघुकथा बनाउन खोजिएको छ । त्यसैले पाठकहरू वशीभूत भएका छैनन् । यो पाठकमाथि, लघुकथामाथि पनि अन्याय हो ।
लघुकथाहरू कथाका संरचना विन्यासमा त्यही रूपमा रहन्छन् भन्ने होइन, तर सारभूत तत्त्वहरू संयोजनको विशिष्ट अवस्था भने निर्माण भएको हुन्छ । कथा झ्वाट्ट सुरु भएर थाहै नपाई सकिन्छ । कथावस्तु संक्षिप्त घटनाकै हुन्छ तर दृष्टिविन्दु र सारलाई गहन बनाउन पात्र परिवेशले सावधानीसाथ सघाएका हुन्छन् । कतिपय अवस्थामा त पात्र को हो भन्ने पनि खुट्याउन सकिँदैन । सेटिङमै कथा, पात्र र पात्रकार्य अन्तर्निहित हुन्छन् । अमूर्त पात्र पनि हुन्छन् तर विचार गन्तव्य भने मूर्त हुन्छ । पात्र लाक्षणिक हुन सक्छ, मानवीय चरित्र मात्र आवश्यक छैन । खलिल जिब्रानको ‘आँखा’मा शरीरका अङ्गहरूलाई पात्रकार्यमा प्रतीकीय प्रयोग छ, युवराज मैनालीको ‘चक्रवर्ती सम्राट’मा त्यो भूमिका ऐनाले लिएको छ । कथा पढिसकेपछि अन्तरप्रज्ञा जागरुक भएर कथा सुरु भएको प्रभाव पार्छ । यसकारण कथाको ग्रिडसित यसको सापेक्षिक स्वरूप भेटिन्छ, तर तहसोपानीय सम्बन्धमा होइन । लघुकथा बुझाउन, बुझ्न पनि कथासम्म कन्टुरलाइन तान्दै सन्दर्भ राख्ने गरिन्छ । कथाका संरचनागत पक्षहरू लघुकथामा पाइन्छन् नै । तर लघुकथा कथाविधा भित्रको प्रविधागत पुनर्आविष्कार हो, परिणामतः अर्थ, उपादेयता र सन्दर्भमा भिन्नता रहन्छ । त्यो भिन्नता भनेको विकास क्रमको भिन्नता पनि हो । समाज विकासको पछिल्लो क्रममा लघुकथा आविष्कार भएको हो । जीवनको चरित्र बोक्ने, सानो घटना, शास्वत चरित्र र यथार्थ अनुभूति दिने धर्काचित्रमा लघुकथा रहन्छ । थोरै भनेर धेरै बताउने शक्ति लघुकथामा रहन्छ । बताउन सङ्केत र विम्ब लक्षणाहरू उपयोग गरिन्छ, जसले लघुकथालाई छुट्टै परिवेशमा उतारिदिन्छ । प्रस्तुतिमा सूत्रात्मकता हुन्छ र अक्षरहरू विचारकवितामा झैँ मन्त्र बन्छन् र सादृश्यिक चित्रमा पुग्ने गर्छन्, कहिले त ध्वन्यात्मक पनि हुन्छन् । अचेल मानिस पढ्नमा पनि मूल्यको खोजी गर्छ (कस्ट बेनिफिट एनालाइसिस गर्छ) । त्यसैले पाठकमाथि अन्याय गर्नु हुन्न, पाठकको समयमाथि अन्याय गर्नु हुन्न तर अर्थ गहकिलो दिएर उसको सुषुप्त मनोदशा ब्युँझाएर सक्रिय बनाउने शक्ति भर्नुपर्छ ।
एकपटक नेपाली लघुकथाको विकासक्रम हेरौँ । यथार्थवादी चरण (१९९२–२०१९), जुन समयमा गोपालसिंह नेपालीको कल्पना, पूर्णप्रसाद ब्राह्मणको झिल्को, म लोग्ने, जयनारायण गिरीको कसिङ्गर, शशिकला शर्माको उनको सुरुवाल आदिलाई चर्चामा लिइन्छ । कतिपयले नेपालीको ‘कल्पना’लाई गद्य कविता भनेर लघुकथामा लिन हुन्न भन्ने मत राखेका छन् तर प्रस्तुति कवितात्मक हुँदैमा लघुकथा हुन्न भन्न मिल्छ र भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्न सक्छ । अचेलका उम्दा लघुकथा कविताजस्ता छन्, आख्यान र व्यङ्ग्यविम्ब बोक्ने कविताजस्ता । जेहोस्, यस समयका लघुकथाहरू सामाजिक, पारिवारिक, राजनीतिक, धार्मिक र सांस्कृतिक परिवेशलाई आधार मानेर लेखिए । दोस्रो चरण नवचेतनाको युग (२०२०–२०३९) सम्मको अवधि हो । यस समयमा राजनीतिक सामाजिक चेतना विस्तार भएकाले मानवीय आयामका सबै पाटोमा लघुकथाहरू लेखिए । यस अवधिमा जगदीश नेपाली, विश्वम्भर प्याकुरेल, लव गाउँले, किशोर पहाडी, अनिता तुलाधर, ध्रुव मधिकर्मी, विनय कसजूहरू देखा परे ।
संरचनागत आयतनमा निकै छोटा, वैचारिक आधारमा गहन र मथिङ्गल रिँगाउने, एउटै विषय परिवेश (इन् मेडिया रस) र चरित्र पनि एक वा दुई मात्र भईकन विस्तृत, शिक्षा, मनोरञ्जन वा प्रश्नमध्ये एक उद्देश्य भएको कथा लघुकथा हो ।
तेस्रो चरण, समसामयिक युग (२०४० पछि) को समय हो । विषयले विस्तार र प्रयोगले नवीनता लिएर लघुकथाको गुणस्तर बढाउन यस समयमा काम भएको देखिन्छ । यस चरणमा मनु ब्राजाकी, श्रीओम श्रेष्ठ ‘रोदन’, नयनराज पाण्डे, महेश प्रसाई, युवराज मैनाली, सुमन सौरभ, रविन्द्र समीर, इन्द्रकुमार ‘सरित’, तुलसीहरि कोइराला, पुस्करराज भट्ट, सुष्मा मानन्धर, गोपाल अस्क, कृष्ण बजगाईं, सीता पाण्डे लगायत धेरै लघुकथा देखापरे । यस चरणमा लघुकथामा संरचना र प्रवृत्तिमा नवप्रवर्तन भयो । केही लघुकथाकारले यसअघिको प्रयोग र संरचनामाथि नै चुनौती दिए । ‘पृथक् बाटो’ र ‘एउटा कथाको पुनर्जन्म’ मा त्यो चुनौती पाइन्छ । कतिपय जाज्वल्ल लघुकथाकारहरू चुनौतीका झ्याल खोलिरहेका छन् तर समालोचकले गहिराइमा गएर, समग्रतालाई विश्लेषण गरेर, रौँ–चिरा नियालेर विश्लेषण गरेर विकास क्रमलाई उल्लेख गरेको भए विधालाई न्याय हुन्थ्यो । त्यसो गरेको भए लघुकथाको अन्तर्वस्तु पाखा पर्ने थिएन । विकासक्रम विश्लेषण गर्दा अहिले हामी के देख्छौँ भने अचेलका कतिपय लघुकथा आख्यानात्मक सङ्कथनभन्दा पर रहेर लेखिएका छन्, न्यारेटिभ डिस्कोर्सले छलाङ हानेको छ ।
लघुकथाको मानकीय मापदण्डतर्फ विचार गरौँ । लघुकथाका उत्कृष्ट प्रयोगले मानकीय मापदण्ड स्थापना गर्न पुग्छन् । संरचनागत आयतनमा निकै छोटा, वैचारिक आधारमा गहन र मथिङ्गल रिँगाउने, एउटै विषय परिवेश (इन् मेडिया रस) र चरित्र पनि एक वा दुई मात्र भईकन विस्तृत, शिक्षा, मनोरञ्जन वा प्रश्नमध्ये एक उद्देश्य भएको कथा लघुकथा हो । यो यसको सफलता र मानक पनि हो, तर कथाजस्तै कथानक संरचना (सुरु, आरोह, उत्कर्ष, झराइ र अन्त्य) कुराहरू यसले भुल्न सक्दैन । आवश्यक कथातत्त्व र पाठचेतना प्रतिध्वनितता त्यहा हुनैपर्छ । थोरै भनेर धेरै बताउनैपर्छ । किनकि सामसामयिक लघुकथा आफैँमा पुनर्आविष्कारमा छ । आँखा र चक्रवर्ती सम्राट्जस्ता लघुकथा लघुकथाका मानक हुन् । तिनलाई हेरेर अब मापदण्ड बनाउने काम समालोचक र अध्येताको हो । मेरा लागि लघुकथाका मानकीय मापदण्ड छोटो प्रवाह, तीक्ष्ण दृष्टि, गहन विचार, लाक्षणिक प्रस्तुति र दिगो प्रभाव हो । सरल भईकन लालित्यपूर्ण होस्, थाहै नपाईकन उत्कर्षको व्यापार गरोस्, दिमागी झट्का देओस् र पाठकमा लामो समयमसम्म तरङ्गको झङ्कार छोडोस् । त्यस्ता लघुकथाहरू आफैँमा मानक बन्छन् । त्यस्ता लघुकथाका सार–संरचना र प्रवृत्तिलाई लिएर नै सिद्धान्त, मानक जे भनौँ निर्धारण गर्न सकिन्छ । पहिला प्रयोग अनि सिद्धान्त र मान अनि त्यसको प्रयोग र परिष्करण र फेरि मानकमा परिष्करणको वृत्तिमा यो प्रक्रिया रहन्छ ।
कतिपय समालोचक र अध्येता (अनि प्रयोक्ता) लघुकथा आस्वादनमा सहृदयी (पाठकबोध) चमत्कृत हुने प्रमुख सर्त कमी आउन थालेको, ‘सहृदयी चमत्कृति’ न्यून हुँदै गएको देख्छन् । लघुकथा अहिले विस्तारको चरणमा छ । जुन कुनै विधाको एउटा चरण विस्तारको हुन्छ र त्यसपछि त्यसले गुणात्मक मोड लिन्छ । लघुकथाहरू धेरै देखिनु, ह्वारह्र्वार्ती लेखिनु विस्तार चरणको विशेषता हो । गुणात्मक चरणमा स्वयं लघुकथाकार आफूलाई परिष्कार गर्दै लान्छ र थोरै लेखेर धेरै कुरा भन्ने क्षमतामा पुग्छ । त्यस अवस्थामा कथा आस्वादन गरेर पाठक चमत्कृत हुनेछन् । लेखकको अन्त्य र पाठकको सुरु एउटै विन्दु हुनेछ । आफ्नो समानुभूति पाठकमा स्थानान्तरण गर्न सक्ने लेखकीय क्षमताले नै सहृदयी चमत्कृति दिन सक्छ । अध्ययन, साधना र प्रतिभाको त्रिवेणीले सहृदयी चमत्कृति उत्पादन हुन्छ । विधा स्थापित गर्न, विधालाई उचाइमा पुर्याउन लघुकथा लेखन र अभियान चलेको छ । केही जागरुक लेखक स्वयं अभियन्ता पनि बनेका छन्, केही स्रष्टा प्रयोगबाट लघुकथाको स्थान उच्च बनाइरहेका छन्, केही संस्था अभियानमा छन् । प्रविधिले विकास गरेको ज्ञान साझा गर्न सञ्जालीकरणको उपयोग भइरहेको छ । यो प्रक्रियाले लघुकथाको विकास विस्तारलाई सहयोग पुगेको छ । यसले स्वयं परिष्करणमा पनि लघुकथालाई लैजानेछ ।
लघुकथा एक गम्भीर विधा हो । यान्त्रिक र निमानवीकृत बन्दै गएको वर्तमान समाजमा यसको महत्त्व झनै बढी छ । लामा कथा, लामा कला आस्वाद गर्न भन्दा छोटो समय र संक्षिप्त विषय रचनामा पाठकलाई वशीभूत गर्दै समाजलाई गतिशील मार्गमा डोर्याउन लघुकथाले मन–मस्तिष्क दुवैतिर प्रभाव पार्न सक्छ । सतही र बग्रेल्ती लेखाइले लघकथाको अन्तर्भाव र विषय सन्दर्भलाई न्याय गरेको छैन । चिन्तनमा भन्दा पनि लेखाइमा हेलचेक्र्याइँ छ । निजी स्वतन्त्रताको विषय हो लेख्ने कुरा । यो सतहीपन र परिमाणात्मक लेखाइले स्वयं परिष्कार ल्याउनेमा विश्वस्त हुनुपर्छ ।
निष्कर्षमा भन्दा गतिवान् जीवनका कथा, लघुकथाहरू जरुर गतिवान् नै हुन्छन् । जीवनका प्रवृत्ति, स्वभाव बदलिने क्रममा उसका कथा र कथा भन्ने शैलीस्वरूप बदलिनु स्वाभाविक हो । मानिस हिजो भाषामा कथा भन्थ्यो, आज सूत्रमा भन्छ, हिजो लम्बेचौडे फूलबुट्टामा कथा लेखेर हृदयमा आसन जमाउने गरिन्थ्यो, अहिले ट्वाक्क भनेर च्वास्स् दिमागी झट्का दिइन्छ । कथामा भन्दा म्याथमा कथा बताउने प्रवृत्तिले लघुकथा जन्माए–हुर्काएको छ । जीवन नै सूत्रमय भएको छ । त्यसैले स्मार्ट कथा झनै स्मार्ट बन्ने प्रवृत्तिमा छन् । गाइ डे माउपासान्ट (मोपासाँ)ले ‘बउल डे सुइफ’ (विश्वको पहिलो लघुकथा) लेख्दा र अहिले जुम्पा लेहरीमा आइपुग्दा थुप्रै कुरा परिवर्तन भएका छन् । नेपाली लघुकथामा पनि पूर्णप्रसाद ब्राह्मणबाट हामीमा आइपुग्दा न्यारेटिभ डिस्कोर्स परिवर्तन भएको छ । यो कथामा पनि छ । झिनो कथानकमा पारिजातले विचारको कथा लेखेकी थिइन, लघुकथा स्मार्ट बन्दा यसका धेरै संरचना र संकथनहरूले डिस्कोर्स लिएका छन् । कथा मात्र होइन, पात्र पनि हराउँदै गएको छ तर जीवन छ, त्यसैले लघुकथा लघुत्तर बन्दै गएका छन् । यसले आउने दिनमा झनै परिष्कारमा, सूक्ष्म रूपमा, तेजिलो झड्का दिने दिशा समाउनेछ । प्रस्तुतिमा कवितात्मकता, चित्रसाम्यता, ध्वन्यात्मक त भित्रिइसक्यो, अरु के के भित्रिने हो, त्यो समयको गर्भमा छ ।
(मैनाली निवास, शङ्खमूल, श्रीकृष्णाष्टमी, २०८२ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण