सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै स्थानीय तह
सारांश
- गोरखाका गाउँपालिकाहरूले बसाइँसराइपछि सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि काठमाडौं, चितवन र गोरखामा घुम्ती शिविर सञ्चालन गरेका छन्।
- सिरानचोक, बारपाक सुलिकोट, चुमनुब्री, धार्चे, अजिरकोट, र आरुघाट गाउँपालिकाले शिविर सञ्चालन गरी सेवाग्राहीलाई सुविधा दिएका छन्।
- शिविरहरूबाट वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सजिलो भएको छ, किनकि अधिकांश पालिकावासी सहरमा बस्छन्।
गोरखा । गाउँलेको अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरूको सेवा दिने तौरतरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई गोरखा बजार, चितवन र काठमाडौँमा खटाउन थालेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, काठमाडौँ र चितवनका सहरमा पुगेर सामाजिक सुरक्षाभत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गरेको हो ।
सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालका अनुसार कर्मचारीको टोली खटाएर विभिन्न मितिमा सहरमा शिविरि सञ्चालन गरिएको छ । “काठमाडौँमा साउन ३०, ३१, भदौ १ र २ गते घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरे, जसबाट २५० जनाले सेवा लिए । चितवनमा यही बिहीबार र शुक्रबार शिविर सञ्चालन भइरहेको छ । चितवनको घुम्ती शिविरबाट कम्तीमा पनि तीन सय जनाले सेवा लिने हाम्रो अनुमान छ,” अर्यालले भने । पालिकाले काठमाडौँको वनस्थली चोक र चितवनको भरतपुर महानगरपालिका–११ शान्तिटोलमा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरेको हो ।
गाउँपालिकाका अधिकांश वृद्धवृद्धा औषधोपचारका लागि काठमाडौँ तथा चितवनजस्ता सहरहरूमा बस्दै आएकाले पालिकाले उतै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । उनका अनुसार पालिकाले सहरमै पुगेर यसरी घुम्ती शिविर सञ्चालन गरेको यो पहिलोपटक हो । “वृद्धवृद्धा गाउँमा आउनुपर्दा उहाँहरूलाई गाह्रो हुने भयो । कतिपय त ह्वीलचियरसहित आउनुपर्ने अवस्था छ । हाम्रा अधिकांश पालिकावासी काठमाडौँ र चितवनमा बसोबास गर्नुहुन्छ त्यसैले त्यहीँ पुगेर घुम्ती शिविर सञ्चालन गरेका हौँ”, अर्यालले भने । शिविरमा एक जना एमआइएस अपरेटर, एक जना वडासचिव र जनप्रतिनिधि खटिएका उनको भनाइ छ ।
सिरानचोक गाउँपालिकाका अधिकांश वृद्धवृद्धा छोराछोरीको सहारा खोज्दै काठमाडौँ, चितवनमा बसोबास गर्न गएका छन् । कतिपय भने औषधोपचारका लागि ती सहरमा बस्दै आएको अर्यालले बताए । उनीहरू गाउँमा आउनुभन्दा पालिका नै उता जानु सजिलो हुने भएकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन उतै गएको उनको भनाइ छ । पालिकाले सहरमै पुगेर यसरी घुम्ती शिविर सञ्चालन गरेको यो पहिलोपटक हो । गाउँपालिकाको चार हजार ८०० जना नागरिकले सामाजिक सुरक्षाभत्ता लिने गरेकामा आधाभन्दा धेरै पालिका बाहिर बसोबास गर्दै आएका छन् ।
सिरानचोकले जस्तै बारपाक सुलिकोट गाउँपालिकाले पनि काठमाडौँ र चितवनमा घुम्ती शिविर सञ्चालन गरेको छ । पालिकाले यही साउनको अन्तिम साता काठमाडौँ र चितवनमा सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि शिविर सञ्चालन गरेको हो । आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि शिविर चलाएको पालिकाले जनाएको छ ।
बारपाक सुलिकोटले साउन २६ र २७ गते चितवन तथा साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेमगरले बताए । जसबाट चार सय २५ जनाले सेवा लिएका उनले जानकारी दिए । चितवनमा भएको शिविरमा एक सय २९ जना र काठमाडौँ दुई सय ९६ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ । नवीकरण गराउनेमा दुई सय ४१ महिला र एक सय ८४ पुरुष छन् ।
गाउँपालिकाका करिब छ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । तीमध्ये आधाभन्दा बढी पालिका बाहिर रहेको आलेले जानकारी दिए । तीन हजारमात्र गाउँमा छन् । बाँकी पाँच सय जना गोरखा बजारमा, एक हजार जति चितवन र एक हजार ५०० जना काठमाडौँमा बसोबास गर्ने उनले सुनाए ।
चुमनुब्री गाउँपालिकाले पनि काठमाडौँ र जिल्ला सदरमुकाम गोरखामा घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षाभत्ताको कागजात नवीकरण गरेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने बताए । विकट मानिने धार्चे गाउँपालिका पनि घुम्ती शिविर गर्ने तयारीमा छ । यही भदौ १५, १६ र १७ गते जिल्ला सदरमुकाममा सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि घुम्ती शिविर सञ्चालन हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए । शिविरबाट छ सय जनाले सेवा लिने पालिकाको अनुमान छ ।
अजिरकोट गाउँपालिकाले साउन २८ र २९ गते चितवनमा र साउन ३० र ३१ गते काठमाडौँमा शिविर आयोजना गरेको थियो । जिल्लाको आरुघाट गाउँपालिकाले पनि काठमाडौँमा घुम्ती शिविर गरेको छ । पालिकाले साउन १६, १७, १८ र १९ गते शिविर सञ्चालन गरेको थियो । जसबाट दुई सय ३५ जनाले सेवा लिएका छन् । हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने व्यवस्था छ । बसाइँसराइ तथा उपचारका लागि सहर झरेकाको समस्यालाई मध्यनजर गरी सहरमै शिविर सञ्चालन गरेर कार्ड नवीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृतहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण