कोशी प्रदेशमा माछाको उत्पादन बढ्यो
सारांश
- कोशी प्रदेशमा माछा उत्पादन बढेको छ, तर खपतअनुसार पर्याप्त छैन ।
- कार्प र पङ्गास माछाको उत्पादन बढेको छ भने रेन्बो ट्राउटको घटेको छ ।
- प्रदेश सरकारले माछापालनमा जोड दिए पनि भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।
झापा । कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुन सकेको छैन ।
किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा कार्प र पङ्गास हुन् । दुवै प्रकारका माछापालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका मत्स्य विकास अधिकृत पार्वती लिम्बूले बताइन् ।
आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा दुई हजार ४४२ हेक्टर क्षेत्रफलमा पोखरी बनाएर कार्प जातको माछापालन गरिएको थियो । त्यसअघि आव २०८०/८१ मा दुई हजार १६ हेक्टर क्षेत्रफलमा मात्र माछापालन गरिएको उनले बताइन् । कार्प जातका माछाको उत्पादन बढेको छ । उक्त माछा आव २०८०/८१ मा नौ हजार ३७७ मेट्रिक टन उत्पादन भएको थियो भने आव २०८१/८२ मा उत्पादन बढेर ११ हजार ७६ मेट्रिक टन पुगेको छ ।
उपभोक्ताले रुचाउन माछाको अर्को जात पङ्गासको पनि उत्पादन र माछापालन क्षेत्रफल दुवै वृद्धि भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएअनुसार आव २०८१/८२ मा पङ्गास माछा कोशी प्रदेशमा तीन हजार ३९९ मेट्रिक टन उत्पादन भएको थियो । जबकि आव २०८०/८१ मा यो माछा दुई हजार ३६६ मेट्रिक टनमात्र उत्पादन भएको थियो ।
निर्देशनालयको तथ्याङ्कानुसार प्रदेशमा आव २०८१/८२ मा पङ्गास माछापालन गरिएको पोखरीको सङ्ख्या चार सय १३ र आव २०८०/८१ मा मात्र चार सय पाँच रहेको थियो । आव २०८१/८२ मा यो माछापालन भइरहेको क्षेत्रफल एक सय १० हेक्टर र आव २०८०/८१ मा ७८ हेक्टर रहेको थियो ।
पहाडमा बग्ने सफा पानीमा पालिने रेन्बो ट्राउटको माछापालन भने घटेको छ । आव २०८०/८१ मा ४३ वटा पोखरीमा यो माछापालन गरिएको थियो भने आव २०८१/८२ मा घटेर २९ भएको निर्देशनालयले जनाएको छ ।
कोशी प्रदेश सरकारले माछापालनमा जोड दिँदै आएता पनि आवश्यकता धान्ने गरी उत्पादन बढाउन सकेको छैन । मत्स्य विकास अधिकृत लिम्बूले प्रदेशमा प्रतिव्यक्ति वार्षिक ११ केजी ५०० ग्राम माछा उपभोग हुने गरेको बताइन् ।
जबकि आव २०८०/८१ मा उत्पादनको उपलब्धता वार्षिक प्रतिव्यक्ति एक केजी ८०० ग्राम र आव २०८१/८२ मा दुई केजी २६० ग्राम रहेको उनले बताइन् । प्रदेशमा खपत भए अनुसारको उत्पादन बढाउन नसक्दा अझै पनि भारतबाट आयातित माछामा निर्भर हुनुपर्ने बाध्यता छ । कोशी प्रदेशका ५६ वटा सिमसार पोखरीमा माछापालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण